• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

राजनीतिमा पढेलेखेका र नैतिकवान व्यक्ति आएमात्रै देश बन्छ: पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिमा शिक्षित व्यक्तिहरु निर्वाचित हुनसके मात्रै देश समृद्ध बन्नसक्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिमा पढेलेखेका, नैतिकवान र सादगी मानिसहरु आउनसके मात्रै देश बन्नसक्ने बताउनु भयो । उहाँले चुनाव जित्ने, सरकारमा जाने र मन्त्री बन्नेकुरा राणाकालदेखि नै हुँदै आएको बताउनु भयो । उहाँले आधारभुत संरचनागत रुपान्तरण गर्नका लागि र जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउन सक्षम व्यक्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले देशको सही नेतृत्व गर्न योग्यतासँगै इमान्दारिता आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो जटिल भूराजनीति भएको जुन ठाउँ छ । यहाँ विभिन्न शक्तिहरु खेल्ने कोशिस त गरिहाल्छन् नि । त्यो स्वभाविक हो । त्यसमा अरुलाई दोष दिनु हुँदैन । जहाँ पनि हुन्छ, अहिले पनि भइरहेको छ । राजनीतिमा पढेलेखेका मान्छे, सादगी जीवन बिताउने मान्छेहरु र नैतिकवान मान्छेहरु नआउने हो भने देश बन्दैन । चुनाव जितिन्छ, सरकारमा गइन्छ, मान्छेहरु मन्त्री हुन्छन् । त्यो त भइरहेको छ । त्यो राणाको कालमा पनि भएको थियो, पञ्चायत कालमा पनि भएको थियो । काँग्रेस र एमालेको पालोमा पनि भएको थियो र अहिले पनि भइरहेको छ । साँच्चै नै आधारभुत संरचनागत रुपान्तरण गर्ने, जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउने हो भने सक्षम मान्छे देशको नेतृत्व तहमा जानुपर्छ । सँगै इमान्दारिता चाहिन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले पछाडि फर्किने गरी संविधान संशोधन गर्न खोजेको भए प्रतिवादमा उत्रिने तर पहिचानका आधारहरुमा टेकेर संविधान संशोधन भए स्वागतयोग्य हुने बताउनु भयो ।