४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीको दाबी: नयाँ सरकार बनेको एक महिनामा २० प्रतिशतले राजश्व वृद्धि भयो



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको दाबी गर्नुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने बताउनु भयो ।

उहाँले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो एक महिनाको अवधिमा पुँजीबजार उत्साहित भइरहेको भन्दै मौद्रिक नीतिको प्रभावले अर्थतन्त्रमा सकारात्मक असर गरेको बताउनु भयो । उहाँले भुक्तानी सन्तुलनमा अनकुल अवस्थामा रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रका सूचकहरुले क्रमश: अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको संकेत गरेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन,रोजगारीको कमी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेका छन् । अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी प्रभावकारी काम गर्न बाँकी छ । गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको छ । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुर्‍याउनुपर्छ । साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएका छन् ।’

‘पुँजीबजार उत्साहित भइरहेको छ । मौद्रिक नीतिले जुन किसिमले सकारात्मक दृष्टिकोणहरु अगाडि सार्‍यो । त्यसको प्रभाव अर्थतन्त्रमा परिरहेका छन् । भुक्तानी सन्तुलनमा अनकुल अवस्थामा छौं । रेमिट्यान्सको अवस्था सकारात्मक छ । अर्थतन्त्रका सूचकहरुले पनि वर्तमान सरकारले क्रमश: अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्नेकुराको संकेत गरेको छ । अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई यही गतिमा अगाडि बढाएर लैजान्छ । मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर आइसकेको छैन । समग्र मागमा,उत्पादन,रोजगारी कमी छ । उद्योगहरु ४० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । राजश्वले साधरणखर्च धान्नुपर्ने अवस्थाबाट बाहिर निस्कन सकेका छैनौँ ।’

अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि नगरी विकास समृद्धिका कुरा गरेर काम नभएको धारणा राख्नुभयो । उहाँले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि गर्नुपर्ने दायित्व सरकारको रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार हासियार हुन आवश्यक देखिएको उल्लेख गर्नुभयो । सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीको लागि अर्थमन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाई छ । उहाँले बजेटले सम्बोधन नगरेको तर राज्यले वहन गर्नुपर्ने दायित्वहरु वृद्धि हुँदै गएको जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी पाउने बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुको क्रमश भुक्तानी गर्दै आएको भन्दै जुनसुकै रुपमा भएपनि भुक्तानी नरोक्ने पुन:प्रतिवद्धता जनाउनु भयो । सरकारले बनाउने कानूनहरु व्यवसायीहरु माथि लाद्ने दृष्टिकोण नभएको उल्लेख गर्नुभयो । उहाँले कानूनहरुलाई व्यवसायीहरुका मागलाई सुन्ने र व्यवसायीमैत्री बनाउने योजनामा रहेको भन्दै निजी क्षेत्रको लगानी संकुचन हुनेगरी कानून नबनाउने बताउनु भयो । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको महत्व बुझेको भन्दै निजी क्षेत्रको भूमिकालाई कमजोर बनाउने काम नगर्ने बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकार र मन्त्रीहरुलाई समय खेर फाल्ने छुट नभएको भन्दै परिणाम आउने गरी काम गर्ने बताउनु भयो ।