३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुहार फेर्दै बलेवाको कालभैरव मन्दिर



अ+ अ-

बलेवा । विसं १७८० मा स्थापना भएको यहाँको बलेवास्थित कालभैरव मन्दिरको विसं २००० को दशकमा छानो फेरियो । डाँडाको टुप्पोमा बनेको सानो मन्दिर पौराणिक कलाकौशलले भरिपूर्ण छ । बलेवा कालभैरव मन्दिर पुग्ने जो–कोहीले पौराणिक संरचना देख्न पाउँछन् । देशभरका शक्तिपीठहरुमा आधुनिकताको लहर चल्दा पनि यो मन्दिरको मुहार फेरिएको थिएन ।

पत्थर माथि बनेको मन्दिर परिसरमा लगाइएको ढुङ्गामाटोको पर्खाल उस्तै छन् । मन्दिर छेउको मौलो, मूर्ति हिजो जुन अवस्थामा थिए, आज पनि उस्तै छन् । विभिन्न कालखण्डमा मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि बनेका समितिले मन्दिरको गरिमा जोगाए । मन्दिरलाई आस्थाको केन्द्र बनाए । तर यहाँ अन्य संरचना निर्माण हुन सकेन । भएकै संरचनाको संरक्षण चाहीँ गरे । बागलुङको ऐतिहासिक धार्मिक शक्तिपिठ बलेवा कालभैरवस्थान मन्दिर परिसरको मुहार केही वर्षयता फेरिन थालेको छ । पत्थर काटेर बनाइएको खुल्ला परिसरमा तारजालीले सुरक्षित गर्ने, मन्दिरको पूर्व तर्फको भू–भागमा पर्खाल लगाएर फराकिलो बनाउने काम सुरु भएको छ । पूजा सकेर बाहिर निस्किँदा भिरमै लडिने जस्तो परिसर अहिले फेरिएको छ ।

सत्तल पुन:निर्माण, समितिको सचिवालय भवन, प्रवेशद्वार र पैदलमार्ग निर्माणको काम अन्तिम चरणमा छ । मन्दिरको मूलढोका नजिकै गणेश मन्दिर निर्माण भएको छ । मन्दिर परिसरमा सिसी क्यामेरा, मोठ भेटीको सुरक्षा र चौतारी निर्माणाधीन छ । “सरकार, दाता र मन्दिरको आम्दानीले संरचना तयार गर्दै छौँ”, गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले भन्नुभयो, “मन्दिरको जीर्णोद्वार र पुन:निर्माणको काम थाल्दै छौँ, पौराणिक महत्व नमेटिने गरी मन्दिर नयाँ बनाउने अभियानमा छौँ ।” मन्दिरको पुन:निर्माणका लागि गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारले रु ३७ लाख बजेट चालु आर्थिक वर्षमा विनियोजन गरेका छन् ।

स्थानीयले इष्टदेवताको रुपमा मान्दै आएको बलेवा कालभैरव धार्मिक शक्तिपीठको रुपमा परिचित छ । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य सूचीमा परेको मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न संरचना निर्माण थालिएको छ । समितिले आयस्रोत बढाउन मन्दिरको गेट बाहिर ११ वटा व्यावसायिक सटर राखेको छ । “भाडाले मन्दिरको आम्दानी बढाउँछ, दर्शनार्थीले भनेका बेला फूलप्रसाद र खाजा/खाना पाउँछन्”, समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले भन्नुभयो ।

भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । दुई दर्जन हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने अग्लो ठाउँमा रहेको यस मन्दिरमा पुग्दा मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ । नियमित पूजा हुने मन्दिरमा साताको मङ्गलबार र शनिबार भक्तजनको चाप बढ्छ । मन्दिर भएको स्थान सयौँ वर्ष पहिले बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोट(कोत)को रूपमा रहेको बागलुङ नगरपालिका १२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्मा बताउनुहुन्छ । रासस