७ पुष २०८१, आईतवार
,
Latest
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल राजनीतिक स्थायित्वका लागि वर्तमान सरकारः नेता डा कोइराला ‘अचम्मै पो भो ! हिउँ नै परेन’ नुवाकोटमा बागमतीका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्धारा दुई पुलको शिलान्यास नेपाल प्रिमियर लिगः बिर्सिन नसकिने प्रतियोगिता छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक क्रिसमसअघि क्षुद्रग्रह पृथ्वीको नजिकबाट जानेछ, पृथ्वीलाई कुनै खतरा ? एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणको अभावमा लोप हुँदै थुन्से बुन्ने पेसा



अ+ अ-

धुलिखेल । रोशी गाउँपालिका–३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आउनुभएको छ । विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आउनुभएका मगरले यसको बिक्रीबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आउनुभएको हो ।

खेतीपाती बाहेक वैकल्पिक पेसा केही नभएका यहाँका ग्रामीण क्षेत्रका किसानको आम्दानीको स्रोत थुन्से बुनेर बिक्री गर्ने रहेको मगरले बताउनुभयो । पछिल्लो पुस्ताले सीप नसिक्दा, सरोकार भएका निकायले संरक्षणका लागि पहल नगर्दा पेसा नै लोप हुने अवस्थामा पुगेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जीविकोपार्जनका लागि वर्षौँदेखि गर्दै आएको निर्वाहमुखी पेसा लोप हुन लागेको भन्दै स्थानीय तहले सङ्कटमा रहेका पेसा, कलासंस्कृतिको संरक्षणमा पहल गर्नुपर्नेमा मगरले जोड दिनुभयो । “दु:ख गरेअनुसार श्रमको मुल्य पाइँदैन”, उहाँले भन्नुभयो, “पहिलापहिला बुनेको थुन्से बोकेर दाप्चा नमोबुद्ध हुँदै पनौतीलगायत बजारसम्म लगेर बिक्री गर्नुपर्ने अवस्था थियो । अहिले गाउँमा यातायातका साधन र सडक सञ्जाल विस्तार भएपछि बिक्री गर्न सजिलो भएको छ ।”

निङ्गालोको चोयाबाट बुनेका सामग्री बिक्री गर्न बजार अनुकूल नहुँदा व्यापारीलाई कम मूल्यमा पठाउने गरेको मगरले गुनासो गर्नुभयो । आफूले व्यावसायिक सीप कतैबाट नसिकेको बताउँदै पुर्खाले गरेको देखेर सिक्दै, बुन्दै गरेपछि सक्षम भएकाले यसलाई निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभयो ।

इलमका रुपमा गर्दै आएको कामले घर खर्च चलाउन सजिलो भएपनि मेहनत अनुसारको मूल्य नपाइने मगरको गुनासो छ । बुनेका थुन्से एउटाको रु एक सय बीससम्ममा बिक्री हुने गरेको छ । “निङ्गालो लेकमा जति पनि पाइन्छ तर यहाँसम्म ल्याउन सास्ती छ”, उहाँले भन्नुभयो ।

यहाँका किसानले थुन्सो, डोको, खर्पनलगायत सामग्री बुनेर बिक्री गरी जीविकोपार्जन गरिरहेका मगरले जानकारी दिनुभयो । श्रम अनुसार मूल्य नपाउनु, सीप अभाव र संरक्षण नहुँदा यहाँका युवा पुस्ताले रैथाने ज्ञान र सीपलाई निरन्तरता नदिई अन्य पेसा अङ्गाल्दै गएका उहाँको भनाइ छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले परम्परागत सीपलाई संरक्षण र सम्वर्द्धन गर्ने नीति पालिकाले बनाएको भन्दै कार्यान्वयन पक्ष फितालो रहेको बताउनुभयो । यहाँका युवाको सीप विकास गरी स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीय सरकार योजनाबद्ध रुपमा अगाडि बढिरहेको उहाँको भनाइ छ ।

“पालिकाको उद्यम विकास शाखामार्फत परम्परागत सीप र रैथाने ज्ञानअन्तर्गत महिलालाई चकटी बुन्ने तालिक सञ्चालन गरिरहेको छ”, अध्यक्ष लामाले भन्नुभयो, “थुन्से तथा चोयाका सामग्री बुन्ने सीपसम्बन्धी तालिम भने दिन सकेका छैनौँ । विस्तारै जीविकोपार्जनसँग जोड्ने, सीप विकास, स्वरोजगारसम्बन्धी तालिम दिने योजनमा पालिका छ ।”

स्थानीय सरकारले परम्पारगत सीप र रैथाने ज्ञानलाई संरक्षण गर्दै व्यवस्थित बनाउने योजना लागू नगर्दा, नयाँ पुस्तामा हस्तान्तरण नहुँदा त्यस्ता ज्ञान, सीप र कला लोप हुने अवस्थामा पुगेका स्थानीय बासिन्दा बताउँछन् । रासस