२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणको अभावमा लोप हुँदै थुन्से बुन्ने पेसा



अ+ अ-

धुलिखेल । रोशी गाउँपालिका–३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आउनुभएको छ । विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आउनुभएका मगरले यसको बिक्रीबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आउनुभएको हो ।

खेतीपाती बाहेक वैकल्पिक पेसा केही नभएका यहाँका ग्रामीण क्षेत्रका किसानको आम्दानीको स्रोत थुन्से बुनेर बिक्री गर्ने रहेको मगरले बताउनुभयो । पछिल्लो पुस्ताले सीप नसिक्दा, सरोकार भएका निकायले संरक्षणका लागि पहल नगर्दा पेसा नै लोप हुने अवस्थामा पुगेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जीविकोपार्जनका लागि वर्षौँदेखि गर्दै आएको निर्वाहमुखी पेसा लोप हुन लागेको भन्दै स्थानीय तहले सङ्कटमा रहेका पेसा, कलासंस्कृतिको संरक्षणमा पहल गर्नुपर्नेमा मगरले जोड दिनुभयो । “दु:ख गरेअनुसार श्रमको मुल्य पाइँदैन”, उहाँले भन्नुभयो, “पहिलापहिला बुनेको थुन्से बोकेर दाप्चा नमोबुद्ध हुँदै पनौतीलगायत बजारसम्म लगेर बिक्री गर्नुपर्ने अवस्था थियो । अहिले गाउँमा यातायातका साधन र सडक सञ्जाल विस्तार भएपछि बिक्री गर्न सजिलो भएको छ ।”

निङ्गालोको चोयाबाट बुनेका सामग्री बिक्री गर्न बजार अनुकूल नहुँदा व्यापारीलाई कम मूल्यमा पठाउने गरेको मगरले गुनासो गर्नुभयो । आफूले व्यावसायिक सीप कतैबाट नसिकेको बताउँदै पुर्खाले गरेको देखेर सिक्दै, बुन्दै गरेपछि सक्षम भएकाले यसलाई निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभयो ।

इलमका रुपमा गर्दै आएको कामले घर खर्च चलाउन सजिलो भएपनि मेहनत अनुसारको मूल्य नपाइने मगरको गुनासो छ । बुनेका थुन्से एउटाको रु एक सय बीससम्ममा बिक्री हुने गरेको छ । “निङ्गालो लेकमा जति पनि पाइन्छ तर यहाँसम्म ल्याउन सास्ती छ”, उहाँले भन्नुभयो ।

यहाँका किसानले थुन्सो, डोको, खर्पनलगायत सामग्री बुनेर बिक्री गरी जीविकोपार्जन गरिरहेका मगरले जानकारी दिनुभयो । श्रम अनुसार मूल्य नपाउनु, सीप अभाव र संरक्षण नहुँदा यहाँका युवा पुस्ताले रैथाने ज्ञान र सीपलाई निरन्तरता नदिई अन्य पेसा अङ्गाल्दै गएका उहाँको भनाइ छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले परम्परागत सीपलाई संरक्षण र सम्वर्द्धन गर्ने नीति पालिकाले बनाएको भन्दै कार्यान्वयन पक्ष फितालो रहेको बताउनुभयो । यहाँका युवाको सीप विकास गरी स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीय सरकार योजनाबद्ध रुपमा अगाडि बढिरहेको उहाँको भनाइ छ ।

“पालिकाको उद्यम विकास शाखामार्फत परम्परागत सीप र रैथाने ज्ञानअन्तर्गत महिलालाई चकटी बुन्ने तालिक सञ्चालन गरिरहेको छ”, अध्यक्ष लामाले भन्नुभयो, “थुन्से तथा चोयाका सामग्री बुन्ने सीपसम्बन्धी तालिम भने दिन सकेका छैनौँ । विस्तारै जीविकोपार्जनसँग जोड्ने, सीप विकास, स्वरोजगारसम्बन्धी तालिम दिने योजनमा पालिका छ ।”

स्थानीय सरकारले परम्पारगत सीप र रैथाने ज्ञानलाई संरक्षण गर्दै व्यवस्थित बनाउने योजना लागू नगर्दा, नयाँ पुस्तामा हस्तान्तरण नहुँदा त्यस्ता ज्ञान, सीप र कला लोप हुने अवस्थामा पुगेका स्थानीय बासिन्दा बताउँछन् । रासस