१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

लोप हुँदै हरेलो संस्कृति

लोप हुँदै हरेलो संस्कृति
अ अ+ अ-

गण्डकी । कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ ।

यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिने काठको टुक्रा राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा भुण्ड््याएर खेतमा गाडिदिने चलन छ । यसो गरेमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलाग्ने, अन्न राम्रो उत्पादन हुने विश्वास गरिन्छ । यो संस्कृतिलाई धानबाली संरक्षण गर्ने पर्वका रुपमा समेत लिने गरिएको छ ।

विगतमा हरेलोका दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई सिमली, गिँदरी वा पातीको हाँगोमा झुण्ड्याएर गाडिएको देखिन्थ्यो । अहिले त्यो संस्कृति हराउने क्रममा रहेको पोखरा महानगरपालिका–३३ का अगुवा किसान रमेश आचार्यले जानकारी दिनुुभयो ।

उहाँका अनुसार कास्कीका सुरौदी र आसपासका क्षेत्रमा हरेलो गर्ने प्रचलन कायमै रहेपनि अधिकांश स्थानमा हराइसकेको छ । सामान्यत: भदौको पहिलो मङ्गलबारसम्म अधिकांश खेत रोपिसक्ने भए पनि कुनै कारणवश रोप्न बाँकी भएमा हरेलो सार्ने प्रचलनसमेत रहेको आचार्यले बताउनुुभयो । उहाँले भन्नुुभयो, “अहिले उन्नत जातका धान रोप्ने प्रचलनले रोपाइँ चाँडै हुने हुँदा हरेलो सार्नुपर्ने अवस्था छैन ।”

हरेलो संस्कृतिबारे पुरानो पुस्ता जानकार भए पनि पछिल्लो पुस्ताका लागि अनौठो बन्दै गएको उहाँको भनाइ छ । धान खेतीका साथै घर वरपर लगाइने लहरे तरकारीलाई मुसाले नकाटोस् भन्ने कामना गर्दै अन्नसहितको मकैको खोस्टामा बाँधिएको पोका झुण्ड्याउने प्रचलन थियो । युवा पुस्तामा यो संस्कृतिको जानकारी नहुनाका साथै कृषिप्रतिको बढ्दो अनिच्छा तथा विदेश पलायन लगायतका कारण लोपोन्मुख बनेको बुढापाका बताउँछन् ।

यस संस्कृतिलाई धानको न्वारनका रूपमासमेत लिने गरिएको छ । हरेलो गरेपछि धानको न्वारन कर्म पूरा हुने र त्यसपछि मात्रै यो धान पूजाआजामा प्रयोग हुने प्राचीन जनविश्वासले यस पर्वको सांस्कृतिक महत्व बढाएको पाइन्छ ।

हरेलो गरिसकेपछि परिवारमा खुसीयालीसहित सेलरोटी, फुरौला, माछा मासुसहित दाल, भात, तरकारी, अचार जस्ता विभिन्न परिकार खाने र जोत्ने हलीलाई खुवाउने प्रचलन रहेको स्थानीय किसान रेशम कार्कीले बताउनुुभयो ।

हरेलोका दिन हलीलाई खुवाउने प्रचलन भए पनि पछिल्ला समयमा हलोको प्रयोग छोडेर ट्याक्टरको प्रयोग हुँदा उक्त परम्परा हराएको उहाँको धारणा छ । कृषिको व्यावसायिकीकरण एवम् आधुनिकीकरणले परम्परागत कृषिमा आधारित संस्कृति लोपहुँदै गएको उहाँको भनाइ छ ।

यस क्षेत्रमा प्राचीनकालदेखि असार १५ मा रोपाइँ गरी हिलो खेल्ने तथा दही चिउरा खाने, साउन १५ मा खिर खाने, भदौको पहिलो मङ्गलबार हरेलो गर्ने, मङ्सिर १ गते खलो पुज्ने, नयाँ धान भित्र्याएपछि न्वागी खाने जस्ता कृषिमा आधारित संस्कृति कायम छन् ।

अघिल्लो पुस्ताबाट पछिल्ला पुस्तामा प्राचीन संस्कार एवम् संस्कृति हस्तान्तरण हुन नसक्दा यस्ता संस्कृति लोप हुँदै गएका हुन् । पोखरा क्षेत्रमा विगतमा राम्रो धान फल्ने कुँडहर, पटनेरी, शिशुवा, मालमुल, राजाकोचौतारा, गगनगौँडा लगायतस्थानमा बस्ती विकाससँगै धानखेती हुने खेतहरू घडेरीमा परिणत बन्दै गएका छन् ।

पोखरा क्षेत्रमा २० वर्षको अन्तरालमा धेरै खेतीयोग्य जमिन घडेरीमा परिणत भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो । उहाँका अनुसार पोखरा महानगरभित्र हाल एघार हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ ।