काठमाडौं । गतवर्ष यतिबेला नेकपाका नेता थिए प्रचण्ड । देशको सबैभन्दा ठूलो पार्टी थियो उनको र झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार पनि । त्यसो त अहिले पनि उनी सत्तारुढ दलकै नेता हुन् तर दुई तिहाई भने छैन । सरकारको त परै छोडौँ, अहिले उनको हातमा नेकपा पनि छैन र उत्तिको शक्ति पनि । अहिले उनको पार्टी पुनः नेकपा माओवादी नै बनेको छ, त्यही पचास सिट हाराहारीमा सांसद ।
पार्टीको साइज मात्र होइन, उनले उनीहरुकै शब्दको ‘जनयुद्ध’का साथी र सारथि पनि गुमाएका छन् । हिजो प्रचण्डपथका प्रस्तावक बादल नै अहिले अहिले उनीसँग छैनन् । बादल साथमा नरहँदा उनले एकजना साथी मात्र गुमाएका होइनन् कि उनको भाषाका ‘जनयुद्ध’ का कमाण्डर नै गुमाएका छन् । उनीमात्र होइन उनले अरु आफ्ना सहयोद्धा पनि गुमाएका छन् । गुमाएका मात्र होइनन् कि ती हिजोका सहयोद्धाहरुले प्रचण्डप्रति गरेका सार्वजनिक टिप्पणी सुन्दा लाग्थ्यो कि उनका साथमा न साथी थिए र न सान नै । यसरी राजनीतिक अधोगति सुरु भएको हो प्रचण्डको ।
अघिल्लो चुनावमा दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेपछि उनकै हातबाट त्यो छिन्नभिन्न हुन पुग्यो । पार्टी मात्र छिन्नभिन्न भएन कि नेकपाको सरकार नै संविधानविपरितको बाटो समात्यो । अन्ततः पटक पटक संसद विघटन भयो र पछिल्लो पटक पटक यही कारणले नेकपा फुट्यो र सरकार पनि फेरियो ।
आफ्नै पार्टीका विरुद्ध उनले काँग्रेस नेतृत्वमा अर्काे पार्टी बनाए । त्यसमा साथ दिएका थिए केपी ओलीको पेलाइमा परेका माधव नेपालले । अहिले यी दुवै नेता सत्तारुढ छन् काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर । छानीरोजी मन्त्री लिएर प्रचण्ड नेपालले पनि सत्ताको तर त मारेकै छन् तर मनमा चैन भने छैन । अनि अहिले बढी बेचैन बनाउँदैछ चुनावले ।
आआफ्ना गुट चोइट्याएर नयाँ सरकार बनाएका यी दुईलाई अहिले जनताले दण्ड दिने डर छ । त्यसो त अबको पहिलो चुनाव एकले अर्कालाई देखाइदिने लाइनमा जाने निश्चित भएकाले ओलीलाई पनि सहज छैन । तर पनि कम्तीमा एउटा चुनावमा एक्ला एक्लै जनतामा जाने निर्णय नै यदि काँग्रेसबाट भयो भने त्यसले आफ्नो हैसियत देखिने डर प्रचण्ड माधवमा बढी नै देखिन्छ । कथं ओलीले भनेजस्तै कम्तीमा एउटा चुनावमा काँग्रेसले यी दुईलाई औँला दिएन भने मेकअप नगरेका बेला महिलाको मुहार देखिएजस्तो हालत हुनसक्ने त्रास यीनमा बढी छ ।
काँग्रेससँग मिलेरै जाने भए पनि स्थानीय चुनावमा त्यो सम्भव छैन । यो कुरा प्रचण्डले बुझेकै छन् । त्यसैले पनि उनी आफ्नो हैसियत देखिएला भन्ने डरले पहिला संसदको निर्वाचन गर्न चाहन्छन् । संसदको निर्वाचनमा काँग्रेससँग मिलेर जाने र केही सिट हात पारेपछि माओवादीको केही हैसियत निर्माण गरेर अनिमात्र स्थानीय तहको निर्वाचनमा जाने उनको दाउ छ । त्यसैले उनी कहिले संसदको निर्वाचन पहिला गरौँ भन्छन् त कहिले स्थानीय निर्वाचन केही पर सारौँ भन्ने गर्छन् ।
उनको यो छट्पटाहट सबैलाई थाहै छ । किनभने उनको पार्टी पहिलेजस्तो स्थानीयस्तरसम्म छैन, भत्किसकेको छ । उनलाई आफ्नै कार्यकर्ता तथा नेतासँग पनि विश्वास नभएरै हो आफैले राष्ट्रिय सम्मेलन भनेर बोलाएर रातारात महाधिवेशनमा परिणत गरेको । उनले रातारातको महाधिवेशन यसरी सके कि केन्द्रीय समिति या पदाधिकारी नबनिकनै आफूले आफैलाई पार्टी अध्यक्ष चयन गर्न लगाए । पार्टीको अध्यक्षपछिको शक्तिशाली महासचिवमा उनले अझै कसैलाई चयन गर्न सकेका छैनन् । यस्तो अवस्थामा चुनावामा हिँडेका प्रचण्डलाई काँग्रेसले औँला नदिने हो भने कसरी पार लाग्लान् ?
त्यसैले पनि यतिखेर उनी आफ्नो पार्टीका नेता कार्यकर्ताको भन्दा बढी काँग्रेसको भर गरिरहेका छन् । दिनमा कम्तीमा पनि दुई पटक बालुवाटार जान्छन् अनि प्रधानमन्त्रीसँग घरी स्थानीय त घरी संसदीय चुनाव पहिले गर्ने भनेर भन्ने गर्छन् । तर देउवा बोलेका छैनन् । उनले प्रचण्डलाई कुनै ‘वर्ड’ पनि दिएका छैनन् । किनभने देउवाको पार्टीभित्र पनि जति ल्याइन्छ ल्याइन्छ एक्लै चुनावमा जानुपनर्छ भन्नेहरुको बहुमत छ । हिजोजस्तो छोरीलाई जिताउन मतपत्र च्यात्ने काम अब कदापि मान्य छैन भन्ने स्पष्ट संकेत काँग्रेसले देउवालाई दिएकै छ ।
यसैकारण पनि प्रचण्डको छटपटाहट बढ्दो छ । दिनरात बेचैनी बढ्दो छ । जुन दल र नेता आफ्ना नीति, कार्यक्रम र कार्यकर्ताप्रति इमान्दार र स्पष्ट छैन उसलाई जनताले दण्ड दिने त चुनावमै हो । उनी कम्तीमा पनि साढे तीन दशकदेखि पार्टी अध्यक्ष पदमै छन् । उनले नछोड्ने सम्भावना देखेरै बाबुराम, बैद्यहरु बाहिरिएका हुन् । यसरी चुनावसँग डराउने भएकै कारण उनले हालै रातारात महाधिवेशन गरेका थिए । तर अबका संसद या स्थानीय चुनाव त यसरी रातारात गर्न मिल्दैन । त्यसैले पनि उनी पछिल्लो समयमा छट्पटाइरहेका छन् । चुनावदेखि वास्तवमै डराइरहेका छन् ।











