१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

ललितपुरको छम्पीमा भैरवको ख्वापा:सहितको आर्ट भिलेज

ललितपुरको छम्पीमा भैरवको ख्वापा:सहितको आर्ट भिलेज
अ अ+ अ-

काठमाडौँ । ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापा: (मुखाकृती)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापा: ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने र उक्त ख्वापा: विश्वकै ठूलो हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनको दाबी छ ।

ख्वापा:लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडीपट्टी ख्वापा: र भवनमा कला सङ्ग्रहालय स्थापना हुनेछ । कूल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापा: तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ ।

“भैरवको ख्वापा:को अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ”, प्रवक्ता महर्जनले भने, “भवन परिसरमा भगवान गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन् ।” मुखाकृतिको ४२ फिटको उचाईमा भएको भैरवको आँखा (भैरवदृष्टि) बाट काठमाडौँ उपत्यका तथा मनोरम हिमश्रृङ्खलाको अवालेकन गर्न सकिने जनाइएको छ ।

ख्वापा: परिसरमा विभिन्न समुदायको रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभा कक्ष निर्माण गरिनेछ । परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, बृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, भ्वय् छें (ब्याङ्कवेट), टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकूद, स्वीमिङपुल लगायतको समेत सुविधा हुने बताइएको छ ।

परियोजनालाई कला नगरीका रुपमा विकास र प्रवद्र्धधन गर्ने उद्देश्य लिइएको छ । महर्जनका अनुसार त्यहाँ निर्माण हुने हरेक पूर्वाधारमा कला देख्न पाइनेछ । वरिष्ठ कलाकार स्व। राजकुमार शाक्यको नेतृत्वमा ख्वापा: निर्माण सुरु भएको थियो । हाल शाक्यका दुई छोरा स्वरुप र सौरभ शाक्य नेतृत्वको कलाकार टोलीले उक्त जिम्मेवारी लिएको छ ।

प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा विसं २०७४ मा जग्गा एकीकरण/सङ्कलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् रुपमा शिलान्यास गरिएको थियो । तर संस्थापक अध्यक्ष तथा प्रसिद्ध कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो । हाल भैरव ख्वापा: निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रका ऊर्जावान कलाप्रेमी, व्यापारी, सामाजिक उद्यमी एवम् समाजका अग्रज एवम् प्रबुद्ध व्यक्तित्व समेतको संलग्नतामा परियोजना सुरु गरिएको शाक्यको भनाइ छ । कम्पनीका सञ्चालकमा अध्यक्ष राजेन्द्र शाक्यसहित राजेश अवाले, रुपक मान महर्जन, जीवन रत्न शाक्य, मदन मान महर्जन, उर्मिला शाक्य र सानुछोरी शाक्य हुनुहुन्छ ।

परियोजना नेपाली कलासंस्कृतिकको जगेर्ना, परम्परागत सीप, कौशलको उजागर, प्रचारप्रसार तथा पर्यटन प्रबद्र्धनका लागि आवश्यक योजना तथा कार्यक्रम तय गरी अनुसन्धान र विकास गर्ने उद्देश्यले सुरु गरिएको परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले बताउनुभयो ।

कलाग्राम ललितपुरको एकान्तकुनाबाट भैँसेपाटी–बुङ्गमति हुँदै १० दशमलव पाँच किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दूरीमा छ । हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ । ललितपुरबाट हेटौँडा जोड्ने कान्ति लोकपथको टिकाभैरवबाट तीन किलोमिटरको दूरीमा पुग्न सकिन्छ । हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश दुबै सरकारबाट समेत बजेट विनियोजन भइसकेको जनाइएको छ ।

परियोजनाअन्तर्गत नेपाली वास्तुकला शैलीमा आवास भवन निर्माण गरिनेछ । आवास क्षेत्रलाई व्यापारिक, पुरातन शैलीको घरबास र निजी निवास निर्माण गरिनेछन् । व्यापारिक क्षेत्रमा कम्पनीको नियमअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न सकिनेछ । परम्परागत घरबास कार्यक्रमलाई पर्यटन प्रवद्र्धन हुने गरी सञ्चालन गरिनेछ ।

साथै परम्परागत कला, सीप र प्रविधिसहितको कलाग्राम स्थापना गरिनेछ । कलाग्राममा नेपाली सांस्कृतिक सम्पदाको जगेर्ना, हस्तकला उत्पादन र प्रदर्शन तथा आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिने उद्देश्य लिइएको छ । कलाग्राममा हस्तकलाका परम्परागत हस्तकलाका आठ विधिहरु सुनचाँदीका गरगहना, थं ज्या:(तामा पित्तल र काँसका भाँडाकुँडा तथा मूर्तिहरु), थ्व ज्या:, मा ज्या: (तामा पित्तलका पत्रका भाँडकुँडा तथा मूर्तिहरु), काष्ठकला, प्रस्तर कला, पौवा कला, चा ज्या: (माटाका भाँडाकुँडा) र न: ज्या: (विभिन्न हातहतियार तथा आवश्यक घर घरानामा उपयोग हुने फलामका सरसामान०लाई प्राथमिकता दिइ तालिम केन्द्र सञ्चालन पनि गर्ने योजना छ । भविष्यमा नेपाल भरका अन्य हस्तकलाका विधा पनि समावेश गर्ने लक्ष्य छ ।

कम्पनीका अनुसार परियोजनालाई प्राकृतिक रुपमा समेत उपयोगी बनाउन ग्राममा वनस्पति उद्यान केन्द्र पनि बनाइनेछ । केन्द्रमा लोपोन्मुख र बहुउपयोगी वनस्पति संरक्षण र सम्बर्द्धनको उद्देश्य लिइएको छ ।

दिगो विकासका लागि प्राकृतिक सम्पदाको महत्वबारे जनचेतना फैलाई प्रकृतिमैत्री विकास, जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्जा प्रयोगमा जोड, थोपा सिँचाइ प्रणाली, वृक्षारोपण, माटो परीक्षण, बागवानी व्यवस्थापन जस्ता विषयमा परामर्श सेवा प्रदान गरिनेछ । वातावरणसम्बन्धी अगुवाद्वारा कार्यशाला तथा सेमिनार सञ्चालन गरिनेछ । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीका लागि जीवन्त प्रयोगशाला (लाइभ ल्याबोरेटोरी) केन्द्रका रुपमा उद्यानको विकास गरिनेछ ।

आगन्तुकलाई ‘जङ्गल पथ’बाट जङ्गल परिक्रमा गराउने व्यवस्था गरिनेछ । परिक्रमाका क्रममा वन्यजन्तु, पशुपंछी तथा वनस्पतीको विविधता अवलोकन गर्ने अवसर मिल्ने छ । यस क्षेत्रमा पदयात्रा, साइक्लिङ, क्याम्पिङ र क्याम्पफायरका लागि स्थान पहिचान र विकास गरिने जनाइएको छ । रासस