१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समाजसेवा गर्न पैसा होइन, मन चाहिन्छ’



अ+ अ-

इलाम । सामान्यतयाः समाजका लागि गरिने कामलाई सामाजसेवा भन्ने गरिन्छ । पछिल्लो समय यसको अर्थ खुच्याइएको छ । कुनै पार्टी, सङ्गठनको पगरी गुत्ने , कही गएर काम गरे जस्तो गर्ने , यसलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचारबाजी गर्नेलाई  समाजसेवी भन्न थालिएको छ ।  

पछिल्लो सयम साच्चिकै सामाजिक काममा लाग्ने व्यक्ति  कम नै भेटिन्छन् । यसमध्येका हुनुहुन्छ –देउमाई नगरपालिकास्थित शान्तिडाँडाका राजकुमार लिङ्दम ।
    
निम्न वर्गीय भए पनि उहाँ सामाजिक काममा अनवरत लागिरहनुभएको छ । उहाँ विनारकम र विनाज्यालामा खटिनुहुन्छ ।  “म आदिकवि भानुभक्त आचार्यको जीवनीबाट उत्प्ररित व्यक्ति हुँ । सामाजिक कामका लागि पैसा चाहिन्छ भन्ने लाग्दैन ।” उहाँले भन्नुभयो । 
   
गाउँका बाटो खन्न, नाली बनाउन र ठूलठूला विकासका काम गर्न हत्तपत्त अरु कोही अगाडि सर्दैनन् । सरेपनि मन दिएर काम गर्दैनन् ।  समाजसेवी राजकुमार भने अघि बढेर काम गर्नुहुन्छ । उहाँले भन्नुहुन्छ, “केही समयअघि मात्रै बुबाको मृत्यु भयो । संस्कार गर्ने रकम नभएर गाउँलेबाट उठाएर दिए ।  संस्कार सकाएपछि गाउँमा दाहसंस्कार गर्ने स्थलमा चौतारो र टहरो पनि बनाइदिए । ”   
    
उहाँको पुस्तौनी घर ताप्लेजुङ हो । सानैमा परिवारसँगै बसाईं सरेर उहाँ इलाम आउनुभएको हो । आफ्ना पुस्ताले नै सामाजिक कामका लागि सिकाएको उहाँ बताउनुहुन्छ । “मलाइ पैसाभन्दा पनि साथीभाइ र इष्टमित्र ठूलो कुरा लाग्छ । यसैले निरन्तर समाजका लागि खट्छु”, उहाँले भन्नुभयो । 
   
विकास निर्माणका काम मात्र होइन, उहाँलाई प्रशासनिक कामका लागि सहयोग गर्न पनि धेरैतिरबाट कुरा आउँछ । उहाँ आफूले सक्दो काम सबैले गरिदिने गर्नुहुन्छ । उहाँ लिम्बू समुदायका लागि मात्र होइन अरु समुदायका व्यक्तिसँग पनि उत्तिकै सहयोगी रहेर काम गर्ने गरेको राजकुमारका छिमेकी सोमनाथ दाहाल बताउनुहुन्छ । “हामी बरु उहाँ (रामकुमार) जत्ति खट्न सक्दैनौँ । उहाँकै कारण गाउँमा धेरै चिजको विकास भएको छ”, उहाँ भन्नुहुन्छ, “हामी त घरपरिवारलाई पनि समय दिउँ भन्छाँै तर उहाँ निरन्तर सामाजिक सेवामा लाग्नुहुन्छ ।” यसरी खट्ने राजकुमारलाई घरमा भने न चामल सकिएको थाहा हुन्छ, न अरु समस्या । श्रीमतीको सानोतिनो जागिरकै भरमा घर चलेको छ । उहाँ  घरमा बस्न भ्याउनु हुन्न ।  घरका अरु सदस्यले  उहाँलाई नराम्रो दृष्टिले हेर्दैनन् ।