• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

शर्माले पार्टी फुटाउँदैछ भन्ने भ्रम चिरियोः दाहाल , आरोपको खण्डन अध्यक्ष आफैँले गर्नुपर्छः जनार्दन



काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताउनुभएको छ ।पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर पनि गर्नुभयो । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउनु भयो ।

उहाँले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताउनु भयो । तर त्यो सम्बन्धले पार्टीलाई एकतावद्ध बनाउन मद्दत पु¥याएको अध्यक्ष दाहालको निष्कर्ष थियो । उहाँले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ड रुपले सँगै काम गर्दै आएका छौं । तर उहाँले भनेजस्तो उहाँको स्वभाव र मेरो के हो भन्नेकुरा त सिंगै देशले बुझेकै कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोस्सिएझैं ठोस्सिने चाहीँ गरेका छौं । अहिले मात्रै होइन । जनयुद्ध कालमा पनि, जनयुद्ध पछि पनि र अहिले पनि । तर यो अगुल्टो ठोस्सिएजस्तो ठोस्सिनु आगो बाल्नका लागि, खान पकाउनका लागि, राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु–यो पटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकतावद्ध गर्न, अझ उहाँको र मेरो बीचमा बेलाबेलामा हुने आशंकाहरु दूर गर्न र आफ्नो समझदारीलाई मजदुत गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटकको बैठकहरु मैले अलि भिन्न रुपले संचालन गर्ने सोचेको छु । र विवाद र आशंकाको बीचमा पनि, विवाद र बहसको बीचमा पनि मैले सबै कमरेडहरुसँग प्रभाकरजीसँग पनि कसरी लैजाने त बैठकलाई भन्ने सल्लाह गरेर खुला छलफल गर्न दिउँ, यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने समझदारी अुनसार बैठक अघि बढेका छन् । हामीले खुला हृदयले मन भित्र भएका सही हुन वा गलत । मनोगत हुन वा वस्तुगत हुन् । जे छन भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो–प्रचण्डको अगाडि पर्दा मिठा राम्रा कुरा गर्ने, हाम्रो महान नेतृत्व भन्ने । कोठाबाट निस्केर गएपछि धारे हात लगाउने संख्या बढेको छ । मलाई थाहा चाँही हुन्थ्यो । को को ले के गर्दछन भनेर । तर मैले भित्र जे छ, त्यो बाहिर आओस भन्ने सोचेर नै बैठकलाई नयाँ ढंगले लिएर जाने जमर्काे गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्लाकि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउदैछन् भनेको पनि छैन । सोचेको पनि होइन । तर भ्रम नै भ्रम, वरिपरीकाले भन्दैजाने, अर्कोले भन्दै जाने गर्दा साँँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरु लागेका हुन् । आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरु लागि नै रहन्छन् । कहीँन कहीँ आशंकाको तुवालो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईहरुलाई बडो गर्वका साथ भन्नसक्छु–त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । र प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईंहामी सबैको लागि खुशीको कुरा हो ।’

अध्यक्ष दाहालले पार्टीभित्र खुला छलफल गर्न दिने सोचअनुसार आफूले पछिल्ला बैठकहरु सञ्चालन गरेको पनि बताउनु भयो ।

सोही कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताउनुभएको छ । पार्टी स्थायी समिति बैठकमा आफूले अवको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ रु भनि प्रश्न पनि गर्नुभयो । उहाँले अध्यक्ष दाहाललाई तपाईंको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कंदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताउनु भयो । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रश्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टिकरण थियो । उहाँले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जनवादी क्रान्तिको कार्यदिशामा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गरेर हामी जनयुद्धसम्म आईपुग्यौं । यहाँसम्म हामीले गरेको आन्दोलनहरु, युद्धहरु, परिवर्तनहरु जो सहभागितामुलक, समावेशी लोकतन्त्र एउटा हामीले स्थापना गरेका छौं । त्यसको संश्लेषण चाँहिदैन ? त्यसलाई एउटा बैचारिक रुपमा अघि बढाउनुपर्दैन ? त्यस अरु १००/२०० वर्षसम्म अगाडि बढ्नुपर्दैन ? मैले त प्रचण्डलाई अरु २ सय वर्ष बचाउने कुरा गर्दैछु । मेरो कुरा त्यो हो । अरु २ सय वर्षसम्म प्रचण्ड बाँचून त्यो उनको विचारले गाईड गरोस भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर म माथि अनेक अत्याचारहरु गर्न प्रयत्न गरियो । के प्रचण्डले जीवित हँुँदा मात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाई आफैँ रोज्नुहोस् । त्यसकारण तपाईको भुमिका विचार निर्माणमा रहोस । वैचारिक अथोरिटी लिनुहोस् । सत्ताको नेतृत्व गर्नुस् । संगठनको जिम्मा अरुलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँहरुलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन । मैले भनेको छु उहाँलाई । मलाई चाहिएको छैन । तपाईलाई हटाएर मलाई अध्यक्ष हुनुछैन । तर यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो । प्रश्ताव राखेको हो । छलफल हुँदैछ । भुमिकामा र नेतृत्वलाई स्थापित गर्ने यदि नयाँ ढंगले जाँदैनौ भने हामी सकिन्छौं । हामी नसकिऔं, हामी आन्दोलनलाई बचाऔ भन्नेकुरा राख्दा मैले अनेक आरोप खप्नुपर्ने ? खपौँला पार्टीका लागि खप्ने कुरा गरौँला । स्थायी कमिटीको बैठकबाट ३ वटा कुरा निर्णय भएका छन् । मैले उठाएका केही प्रश्नहरु थिए । मैले सार्वजनिक रुपमा त्यो भन्नैपर्ने हुन्छ । त्यो प्रश्नको बारेमा अध्ययन अनुसन्धान गरेर अध्यक्ष कमरेडले स्पष्ट गर्ने भन्ने निर्णय भएको छ । मैले त्यसलाई ओके गरेको छु । समर्थन गरेको छु । पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छु त्यही वरिपरीबाट नेतृत्व वरिपरीबाट मेरो सिधा कुरा छ । त्यसमा उहाँको भुमिका कति छ, छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिन । गर्नुपर्छ भनेर मैले भनेको छु । र, निर्णय पनि त्यही भएको छ । गर्ने भन्ने भएको छ । अध्यक्ष मैले बोलेपनि भन्नुभएको छ । बोल्नु पनि होला । तेस्रो कुरा पार्टी निर्माण सम्बन्धि राखेको कुरा विचार, योजनाहरुलाई छलफल गरौँला केन्द्रिय समितिसम्म भन्ने भएको छ । पार्टीमा बहस गर्दा त केही बिगँ्रदो रहेनछन् त । स्थायी कमिटीमा बहस गरियो, त्यहाँसम्म पुगियो । केन्द्रिय समितिमा बहस गर्दा त्यो भन्दा राम्रो बन्ला अझ । यो कसरी नराम्रो भयो ? पार्टी बनाउने एजेण्डामा छलफल गर्दा कसरी नराम्रो भयो ? आज जुन ढंगले आरोपित गरेर पार्टी खोल मलाई नभनेका होइनन् । भनेका छन् । तर म किन खोल्ने ? यही पार्टी मेरो हो भनेको छु मैले । यही पार्टी मेरो हो । मैले किन पार्टी खोल्ने ? यही पार्टी हो नि मेरो । मेरो मात्रै होइन, म जस्ता हजारौँको पार्टी हो नि । मैले त्यो भनेको छु । म १४ वर्षदेखि यो आन्दोलनमा लागेको हो । ६१ वर्षको भए । म आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको थियो । त्यसपछि उहाँसँगै छु म । मैले कुनै दिन बिसाएको छैन । एक दिन पनि बिसाएको छैन । कति गल्ती गरे हुँला, कति राम्रो गरे होला । तर आजसम्म मैले बिसाएको छैन । यो करिव ४८ वर्ष भएछ । ४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरु खपेको छु । मैले धेरै आक्रमणहरुको प्रतिवाद गरेको छु । तर सावित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौति दिन्छु अहिले पनि कसैले सावित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रुपमा लाईदिने आरोपको त म के गर्न सक्छु र । रेको हो ।’

उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रुपमा विभिन्न आरोप लाग्ने गरेपनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल