काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएको छ। मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो। नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर तय गरिएको थियो। जुन उचाइ सन् १९५४ मा भारतको सर्भे अफ इन्डियाले मापन गरेको हो। हालको उचाईमा ८६ सेन्टिमिटर बढेको छ ।
यसअघि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गरेका हुन् । सन् २००५ देखि नेपाल र चीनको बिचमा उचाइको विषयमा विवाद उत्पन्न भएको थियो । विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।











