२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशबाट स्वदेश फर्कन चाहने नेपालीलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न सरकारसँग मुस्लिम इत्तेहात संगठनको माग



अ+ अ-

काठमाडौँ । मुस्लिम इत्तेहात संगठन नेपालले बंगलादेशमा रहेका नेपालीको सुरक्षा र स्वदेश फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

संगठनका अध्यक्ष ताज मोहम्मद मियाँले एक वक्तव्य जारी गर्दै यस्तो माग राखेका हुन् । साथै, संगठनले खुल्ला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको भन्दै नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन अपिल समेत गरेको छ ।

यस्तै, संगठनले बंगलादेशमा आन्दोलनबाट ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ – ‘बंगलादेशमा रहेका नेपाली नागरिकको (विद्यार्थी, व्यापार व्यवसायी, पर्यटक आदि ) सुरक्षा र नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गर्दछौँ । साथै, खुल्ला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहन्छ । त्यसैले बिगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी सरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रती नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन अपिल गर्दछौँ ।’

यस्तै, संगठनले बंगलादेशको उक्त आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलंघन, जातीय र धार्मिक स्वतन्त्रताको उलंघनको किमार्थ समर्थन गर्न नसक्ने भन्दै कुनै पक्षबाट गर्नुहुँदैन भन्ने स्पष्ट मान्यता राख्ने पनि जनाएको छ ।

‘नेपालमा रहेको उन्नत नागरिक अधिकार र मानवाधिकार, धार्मिक र जातीय सहिष्णुयुक्त अभ्यासबाट हुर्केको हाम्रो गौरवशाली संगठन मुस्मिल इत्तेहाद संगठन नेपाल, मित्रराष्ट्र बंगलादेशको उक्त आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलंघन, जातीय र धार्मिक स्वतन्त्रताको उलंघनको किमार्थ समर्थन गर्न सक्दैन र कुनै पक्षबाट गर्नुहुदैन भन्ने स्पष्ट मान्यता राख्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठ –

नेपाल र बंगलादेशबीच सन् १९७१ देखि हालसम्म मित्रवत सम्बन्ध रहँदै आएको कुरा अवगतै छ । पछिल्लो समय त्यहाँका विद्यार्थिहरूले असमान आरक्षण कोटालगायत अन्य अधिकारको पक्षमा गरेको आन्दोलनबाट सिर्जित अवस्थाका बारेमा मुस्लिम इत्तेहात संगठन नेपाल, जानकार छ । आन्दोलनबाट ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

हाम्रो संगठन सार्वभौमसत्ता सम्पन्न बंगलादेशी जनता र त्यहाँका राजनीतिक दलहरू तथा नागरिक अगुवाहरू संयमित हुदै बंगलादेशमा लोकतन्त्रको निरन्तरता, नागरिक अधिकार र मानवअधिकारको पूर्णसुरक्षा, धार्मिक स्वतन्त्रता र आमजनताको अमनचैन बहालीको आह्वान गर्दछ । हाम्रो देश नेपालमा रहेको उन्नत नागरिक अधिकार र मानवाधिकार, धार्मिक र जातीय सहिष्णुयुक्त अभ्यासबाट हुर्केको हाम्रो गौरवशाली संगठन मुस्मिल इत्तेहाद संगठन नेपाल, मित्रराष्ट्र बंगलादेशको उक्त आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलंघन, जातीय र धार्मिक स्वतन्त्रताको उलंघनको किमार्थ समर्थन गर्न सक्दैन र कुनै पक्षबाट गर्नुहुदैन भन्ने स्पष्ट मान्यता राख्दछ ।

हामी बंगलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता नचाहने केही तत्वहरूले फैलाउन खोजिरहेका गलत क्रियाकलापप्रति असहमति र बिरोध जाहेर गर्दछौं । जातीय, धार्मिक र सामुदायिक सद्भाव बिथोल्ने त्यस्ता क्रियाकलापबारे सरोकारवाला पक्षलाई समयमै सचेत बन्न पनि अनुरोध गर्दछौँ ।

साथै बंगलादेशमा रहेका नेपाली नागरिकको (विद्यार्थी, व्यापार व्यवसायी, पर्यटक आदि ) सुरक्षा र नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गर्दछौँ । साथै, खुल्ला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहन्छ । त्यसैले बिगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी सरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रती नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन अपिल गर्दछौँ ।