२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा



अ+ अ-

जनकपुरधाम । जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ स्वरूप सञ्चालनमा आएको छ । छ कट्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र छ तले कन्ट्रोल टावर निर्माण गरिएको जनकपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कुल ४२ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त टर्मिनल भवन छ सय यात्रु रहन सक्ने क्षमताको छ ।

साथै ८० वटा कार र १५० मोटरसाइकल पार्किङ सुविधा तथा ३५ सुरक्षाकर्मीका लागि आवास गृहसमेत निर्माण गरिएको छ । आठ वर्षअघि २०६९ कात्तिकमा १८ करोड रुपियाँको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले उक्त टर्मिनल भवन शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।

प्राविधिक समस्या तथा रकम अभावका कारण टर्मिनल भवन निर्माण कार्य लम्बिएको हो । उद्घाटन समारोहमा मन्त्री भट्टराईले अन्तरप्रदेश सञ्जाल बढाउन सरकारले टर्मिनल भवन निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले यसको स्वामित्व सङ्घीय सरकारमा भए पनि तीनवटै सरकारको समन्वय र सहयोगले यसको निर्माण कार्य पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले आउने दिनमा यसलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न नयाँ अत्याधुनिक टर्मिनल भवन तथा कन्ट्रोल टावरले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा एक हजार छ सय मिटरको धावन मार्ग निर्माण र जग्गाको व्यवस्थापन गर्न उहाँले स्थानीय सरकारसँग आग्रह पनि गर्नुभयो । २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा दिइँदै आएको थियो । गोरखापत्र दैनिक