१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्गीतकर्मीले सम्झिए गुरुदेव कामत



अ+ अ-

काठमाडौँ: दिवङ्गत हुनुभएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई स्मरण गरिएको छ । आज जमलस्थित नाँचघरमा गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उहाँको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्याउनुभएको योगदानको चर्चा गरियो ।

कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलोपटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै गीतसङ्गीत सदैव अमर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ निकै सरल र मिलनसार स्वभावको हुनुहुन्थ्यो । आफ्ना पीडा लुकाएर पनि बाँच्ने मान्छे । उहाँका शिष्यले नै अब सङ्गीतमार्फत अमर बनाउनुपर्छ ।”

कलाकार श्रेष्ठले गायक कामतको गीतसङ्गीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुनेमा जोड दिनुभयो । उहाँले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन गीतसङ्गीतलाई हेर्न गठित संस्थाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

गायक कामतसँग निकट गायक तथा कलाकार मुरलीधरले आफूले भाइ गुमाएको बताउनुभयो । “मैले र गायक कामतले सँगै धेरै काम गरेका छौँ । नाटकदेखि गायनसम्म हामीले सहकार्य गर्यौँ”, उहाँले भन्नुभयो ।

उहाँले गायक कामतको सम्झना दुई गीत गुनगुनाउनुभयो । “उहाँले मलाई चलचित्रमा गीत गाउन दिनु भन्नुभएको थियो । तर, ती सब निर्माता र निर्देशकले तय गर्ने भएपछि मैले त्यो अवसर दिन सकिनँ । उहाँको त्यो गुनासो सम्झिरहेको छु, अब उहाँको कामलाई सङ्ग्रहित गर्नुपर्ने दायित्व शिष्य र फाउण्डेसनमा आएको छ”, मुरलीधरले भन्नुभयो ।

सङ्गीतकार राजु सिंहले गायक कामत सङ्गीतको अनुसाशित साधक रहेको बताउनुभयो । “गीतसङ्गीतमा साधना गर्ने एउटा अनुशासन हुन्छ । उहाँ त्यो कायम गरेर साधना गर्नुहुन्थ्यो । हामीले उहाँको सपनालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ । यसका लागि हामीले धेरै कार्य गर्नु छ”, उहाँले भन्नुभयो ।

उहाँले सङ्गीतको बीमा हुनुपर्ने, गायक कामतको सालिक बन्नुपर्नेलगायत विषयमा चर्चा गर्नुभयो । गायक कामतको शिष्य रहनुभएकी गायिका शर्मिला बर्देवाले डायलाइसिसको समयमा अन्तिमपटक कुराकानी गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “उहाँसँग थोरै बोल्न पाएँ, त्यही अन्तिम संवाद भयो । मैले उहाँसँग विसं २०२५ देखि २०४८ सम्म सङ्गीत सिकेकी थिएँ । त्यही क्रममा मलाई चलचित्रमा गाउने अवसर आएको थियो । उहाँले शास्त्रीय सङ्गीतलाई नछाडी अन्यलाई अँगाल्नु भन्नुभएको थियो । तर, विविध कारणले मैले शास्त्रीय सङ्गीतलाई निरन्तरता दिन सकिनँ, यसमा दुःख लागेको छ ।”

कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष प्रभातसगार सिंह प्रधानले एउटा सर्जक उपचार गर्न नसकेर काठमाडौँ छाडेर गाउँ फर्कनु पीडादायक रहेको बताउनुभयो । “बिरामीहरु काठमाडौँ उपचार गराउन आएको सुनेको छु, तर गायक कामत गाउँ फर्किनुभयो । यहाँ उपचारमा आर्थिक सङ्कट भएपछि गाउँमै केही होला भनेर फर्किनुभएको हो । हामीले पनि उपचारका लागि आर्थिक पहल गरिरहेका थियौँ, तर उहाँले छिट्टै छाडेर जानुभयो”, अध्यक्ष प्रधानले भन्नुभयो ।

त्यस अवसरमा साहित्यकार मुकुन्द पौडेलले गायक कामतको जीवनी सुनाउनुभएको थियो । यस्तै, उहाँका शिष्य भीम मगरसहितको समूहले गायक कामतको स्वर र सङ्गीत रहेको ‘कुन पापीले कुन निष्ठुरीले….’ गीतमार्फत श्रद्धाञ्जली दिनुभएको थियो ।

यहीसाउन १७ गते दिवङ्गत हुनुभएका गायक कामतको १०औँ दिनमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो ।रासस