७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र
अ+ अ-

काठमाडौं । कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । 

विश्व स्वास्थ्य संगठन, जोन्स हप्किन्स विश्वविद्यालय जस्ता संस्थाले कोरोना संक्रमण र त्यसले पुर्याएको मानवीय क्षतिको विवरण दैनिक अद्यावधिक गरिरहेका छन् । सार्स प्रजातिकै नयाँ कोरोनाभाइरस मानवमा देखिएको झण्डै एक वर्ष पुग्न लागेको छ, र विश्वभर यस भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म झण्डै ७ करोड १४ लाख पुगिसकेको छ भने झण्डै १६ लाख व्यक्तिको भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अझै पनि विश्वभर दैनिक १२ हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । 

यो भयावह अवस्था नै हो । हुनत, सन् १९२० को स्पेनिस फ्लुबाट युरोप, अमेरिका सहित विशवभर करिब २ करोडदेखि ५ करोड मानिसको मृत्यु भएको थियो । इबोला, एचआइभी एड्स, सार्स, प्लेग, क्षयरोग जस्ता महामारीले पनि धेरै मानिसको ज्यान लिएकै छन् । तर पछिल्लो पटक तिब्र गतिमा विश्वभर फैलिएको नयाँ कोरोनाभाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ । 

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र घुमफिर गर्दा वा भेटघाट गर्दा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यो विधि कोरोनाभाइरसको फैलिने क्षमता र प्रकृतिलाई विचार गरी सिफारिस गरिएको हो । अर्कोतर्फ मानिसको भिडभाड रोक्न कैयौं सरकारहरुले निकै कठोर मानिने लकडाउन पनि गरेका थिए, र अझै पनि कतिपय देशमा योक्रम जारी छ । चीनको उहानमा व्यापक रुपमा कोरोना फैलिएको बेला कठोर लकडाउन, उपचार र सचेतना कार्यक्रम चलाइएको थियो । 

तर लकडाउन, सामाजिक दूरी जस्ता उपायले मात्र कोरोनाभाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरुले बताएका छन् ।

 यसका लागि प्रभावकारी उपचार आवश्यक देखिइसकेको छ । तर उपचार त्यति सजिलो भने देखिएको छैन । विश्वभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरस ठीक गर्न विभिन्न औषधि, खोप र थेरापीको खोज र अनुसन्धानमा तल्लिन छन् । हालसम्मका यी प्रयत्नहरु शरीरमा कोरोनाभाइरसँग लड्न सक्ने एन्टीबडी अर्थात् रोगप्रतिरोधात्मक क्षमता निर्माणमा केन्द्रित देखिएका छन् । हाइड्रोक्सीक्लोरोक्वीन, रेमडेसिभर, एजिथ्रोमाइसिन जस्ता औषधिको प्रयोग एकातिर गरिएको छ भने प्लाज्मा थेरापी पनि उपयोगमा ल्याइएको छ । तर यी दुबै विधि पूर्ण रुपमा सफल नभएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । 

यही खोजको क्रममा विश्वका ठुल्ठूला औषधि निर्माता कम्पनी, विश्वविद्यालय र अनुसन्धान संस्थाहरु खोप विकासमा लागेका छन् । अमेरिकी कम्पनी मोडर्ना, अमेरिकी–जर्मन साझेदारीको फाइजर–बायोएनटेक, बेलायतको अस्ट्राजेनिका–अक्सफोर्ड, रुसको स्पुतनिक भी, चीनको सिनोफार्म र क्यानसिनो तथा भारतको सिरोम फर्मास्यूटिकल्स (कोभिसिल्ड) खोप निर्माणमा निकै अगाडि बढिसकेका छन् । फाइजर र मोडर्नाका खोपहरु ९५ प्रतिशतसम्म असरदार रहेको दाबी गरिएको छ । शुरुमै आफ्नो खोप सफल रहेको दाबी गर्ने रुसको स्पुतनिकका बारेमा विस्तृत जानकारीको अभाव रहेको बताइन्छ । 

हाल सर्वाधिक चर्चामा फाइजरकै खोप छ । यस खोपलाई बेलायतको औषधि प्रशासन निकायले मान्यता दिएर आम जनतालाई दिन थालिसकेको छ । पहिलो चरणमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीलाई यो खोप दिन थालिएको छ । फाइजरको खोपलाई मान्यता दिने बेलायत पहिलो देश हो । यो खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले चाँडै अनुमति दिने विश्वास गरिएको छ । बिहीबार मात्र एफडिएमा आबद्ध अमेरिकी विज्ञहरुको समूहले फाइजरको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरिसकेको छ । साधारणतया विज्ञको सिफारिस भएपछि एफडिएले खोप अनुमति दिने प्रचलन छ । अमेरिकामा कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढेकाले पनि खोपको अपरिहार्यता बढेको हो । 
अमेरिकामा तीन दिनको अवधिमा ९ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित अमेरिकामा मृत्यु हुनेको संख्या तीन लाख २ हजार नाघेको छ भने संक्रमितको संख्या पनि झण्डै १ करोड ६३ लाख भइसकेको छ । 

यस्तै कहालीलाग्दो अवस्था ब्राजिल, भारत, मेक्सिको, युरोपेली मुलुकहरु समेतका अन्य मुलुकमा पनि छ । यही परिस्थितिलाई विचार गरी निकै प्रभावकारी मानिएको फाइजरका खोप भित्र्याउन क्यानडा, बहराइन, साउदी अरेबिया र मेक्सिकोले सहमति दिइसकेका छन् । मेक्सिकोमा यही डिसेम्बरको तेस्रो साताबाट खोप लगाउन शुरु गरिने मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले घोषणा गरिसक्नु भएको छ । मेक्सिकोले फाइजरका साथै चीनको क्यानसिनो खोप करिब ३ करोड ५० लाख डोज खरिद गरेको छ । युरोपेली युनियनको औषधि प्रशासन निकायले पनि फाइजर सहित अन्य खोपका बारेमा विचारविमर्श गरिरहेको बिबिसीले जनाएको छ । 

भारतमा सेरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिसिल्ड नामको खोप विकास गरेर अन्तिम क्लिनिकल परीक्षण भइरहेको जनाएको छ । भारत सरकारको अनुमति पाएसँगै यस कम्पनीले करिब ४० करोड डोज खोप भारत सरकारलाई उपलब्ध गराउने सेरमका प्रमुख कार्यकारी अदर पुनावालाले बताउनु भएको छ ।

चीनको सिनोफार्मले विकास गरेको सिनोभ्याकले ८६ प्रतिशतसम्म प्रभावकारी काम गरेको युनाइटेड अरब इमिरेट्स (युएई)को स्वास्थ्य मन्त्रालयले जनाएको छ । युएईमा सिनोभ्याकको क्लिनिकल परीक्षण गत जुलाईबाट गरिएको र तथ्याँक विश्लेषणका आधारमा खोप ८६ प्रतिशत असरदार देखिएको युएईको भनाई छ । सिनोफार्मको सिनोभ्याक खोप आम सर्वसाधारणलाई लगाउन इन्डोनेसिया पुगिसकेको छ । जनवरीसम्ममा अरु १८ लाख डोज इन्डोनेसिया पुग्ने इन्डोनेसिया सरकारले जनाएको छ । यस्तै टर्की, ब्राजिल र चिलीमा पनि चिनियाँ खोप पठाइएको छ । चीनमा हाल चारवटा कम्पनीले विकास गरेका पाँच किसिमका खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण चलिरहेको छ । सिनोफार्मका अध्यक्ष लिउ जिङझेनले दर्जनौं मुलुकले सिनोफार्मका खोप खरिद गर्न अनुरोध गरिरहेको जानकारी दिनुभएको सिएनएनले जनाएको छ । यस कम्पनीमा सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब डोज उत्पादन गर्ने क्षमता रहेको अध्यक्ष जिङझेनले बताउनु भएको छ । 

फाइजर र मोडर्नाको तुलनामा सबैजसो चिनियाँ खोपहरु कम चिसोमा राख्न सकिने र त्यसलाई धेरैजसो विकासशील मुलुकहरुमा सहजै आपूर्ति र वितरण गर्न सकिने बताइएको छ । फाइजर (माइनस ७५ डिग्री) र मोडर्ना (माइनस २० डिग्री) को हाराहारीमा राख्नु पर्ने हुन्छ । तर चिनियाँ खोपहरु, भारतको कोभिसिल्ड र अस्ट्राजेनिका–अक्सफोर्डका खोपहरु २ देखि ५ डिग्री सेल्सियसको हाराहारीमा राख्न सकिने छ । 

कोरोनाभाइरस महामारीसँग जुध्न हाल निर्माणको अन्तिम चरणमा रहेका खोपहरु विश्वभरका मुलुकहरुमा सहज र समानुपातिक रुपमा वितरण हुनुपर्ने जिकिर विश्वका नेताहरु र अभियन्ताहरुले जोडदार रुपमा आवाज उठाउन थालेका छन् । बिबिसीका अनुसार अस्ट्राजेनिका–अक्सफोर्ड खोपको मूल्य प्रति डोज ४ डलर, मोडर्नाको ३३ डलर, फाइजर–बायोएनटेकको २० डलर, स्पुतनिकको १० डलर तथा सिनोभ्याकको ३० डलर पर्नेछ । यी खोपहरु २ डोज लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनको अगुवाईमा कोभिड–१९ भ्याक्सिनको विश्वव्यापी पहुँच (कोभाक्स) स्थापना पनि भएको छ जसले कोरोना विरुद्धको खोपलाई विश्वका सबै धनी, गरिब मुलुकमा सहज र सस्तो मूल्यमा उपलब्ध गराउन तथा गरिब राष्ट्रलाई मद्दत गर्न पहल गर्नेछ । तर विश्वका अति गरिब र कोभिड–१९ का कारण अर्थतन्त्रमा निरन्तर संकट व्यहोर्दै आएका मुलुकहरुले यी महंगा खोपमा कहिले र कसरी सहज र समानुपातिक पहुँच हासिल गर्लान् अहिल्यै केही बताउन सकिने अवस्था छैन ।