काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका विरुद्धमा देशैभर प्रदर्शन गर्ने भएको छ। कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्धमा ७७ जिल्लामा प्रदर्शन गर्न लागेको हो।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तनहुँलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेको भन्दै देशैभर प्रदर्शन गर्न लागिएको बताएका हुन् ।
‘यही मंसिर २९ गते सोमबार ७७ जिल्लामा हामी एकसाथ सडकमा ओर्लन लाग्दैछौँ, विसंगतिहरुको विरुद्धमा, लोकतन्त्रको पक्षमा। तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ ?’ प्रवक्ता शर्माद्वारा सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक भिडियोमा भनिएको छ, ‘जनता कोरोनाको मारमा रहेको, सरकार सत्ताको जित हारमा छ तपाईं सरकारलाई कडा दबाब दिन चाहनुहुन्छ भने मंसिर २९ गते सडकमा आउनुहोस्।’
मंसिर २९ मा हुने सभामध्ये हेटौंडामा सभापति शेरबहादुर देउवाले र काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय रहेको छ। देशैभर हुने प्रदर्शनमा केन्द्रीयस्तरका नेताहरूले सबै जिल्लामा सम्बोधन गर्ने कार्यक्रम छ।