१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपथ्य अमेरिका श्रृंखला २०२४: कोलोराडोको बोल्डरबाट भब्य सांगीतिक यात्राको सुरुवात

नेपथ्य अमेरिका श्रृंखला २०२४: कोलोराडोको बोल्डरबाट भब्य सांगीतिक यात्राको सुरुवात
अ अ+ अ-

डेनभर, अमेरिका: दुइ घण्टा लामो नेपथ्य कन्सर्ट सकिएपछि बोल्डर थिएटरका अमेरिकी साउण्ड इन्जिनियर रोब कर्ट्सको प्रतिक्रिया थियो– ‘गजब ! कलाकार र श्रोताबीच आपसी माया र सद्भावको अतुलनीय अनुभव ।’

कोलोराडो राज्यकै ऐतिहासिक धरोहर मध्येमा पर्ने झण्डै सवा एकसय वर्ष पुरानो ‘बोल्डर थिएटर’ मा तीन दसकदेखि सेवारत रोब भन्दै थिए, ‘मञ्चबाट आएको कलाकारको अवाजभन्दा दर्शकहरुको सामुहिक गायन चर्को हुँदा, ध्वनि व्यवस्थापन गर्न चुनैतीपूर्ण हुन्छ, यो कार्यक्रममा मलाई त्यस्तै अनुभव भयो ।’

अमेरिकाका सातवटा शहरहरुमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले साँगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुती कोलोराडोको बोल्डरमा भब्य रुपमा सम्पन्न भएको छ ।

स्थानीय समयअनुसार बेलुकीको ठीक छ बजे हलका ढोकाहरु खुलेका थिए । त्यसैगरि पूर्व घोषित तालिका अनुसारै ठ्याक्कै सात बजे कन्सर्ट सुरुभयो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसंगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो ।

‘दर्शक र कलाकार दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाका बीच एक किसिमको सिनर्जी विकास हुँदैगएको देखिन्थ्यो ।’ बोल्डर थिएटरका अपरेशनल म्यानेजर ड्यानियल मर्फी भन्दै थिए ।

‘व्यवथापन, प्राविधिक संयोजन, दर्शकको उर्जा र कलाकारको प्रस्तुति सबैको जादुइ समिश्रणले यो कार्यक्रम उत्कृष्ट र अविस्मरणीय बन्न पुग्यो’ स्टेज म्यानेजर डेल फ्यान्टन आफ्नो अनुभव सुनाउदै थिए ।

चालिस दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको अनुभव ब्याण्डका अमृत गुरुङ सुनाउदै थिए । ‘पर्वतीय राज्य कोलोराडोको यस बोल्डर शहरले हाम्रै काठमाडौलाइ भगीनी शहर घोषणा गरेको तथ्यले थप आत्मीयता बढाएको छ,’ अमृतले भने, ‘दुवै शहरका नगरप्रमुखहरु बीच यहाँ एक नेपाली साँस्कृतिक केन्द्र पनि स्थापना गरिने सहमति भएकोमा त्यो चाँडै कार्यान्वयनमा पुगोस् भन्ने कामना गर्दछु ।’

ब्याण्ड पहिलोपटक प्रस्तुतीका क्रममा प्रवेश गरेको यो राज्यमा नेपाली समुदायको जीवन्त उपस्थिती देख्नपाउँदा आफुलाई खुशी लागेको अमृतले बताए ।शनिबारको कन्सर्टमा आएका दर्शकहरुमा केहि चिरपरिचित अनुहारहरु पनि देखिन्थे । तिनैमध्ये थिए अग्रज कलाकार हिरण्य भोजपुरे र गायिका रिमा गुरुङ होडा ।

‘कोलोराडो वरिपरीबाट आएका नेपालीहरुको भीडले बोल्डर सहरलाई नेपालमय बनाएको अनुभव भैरहेको छ’ कन्सर्ट सकिएपछि रिमाको प्रतिक्रिया थियो, ‘नेपथ्य कन्सर्ट अनुभव गर्ने कोलोराडोवासी नेपालीहरुको लामो समयदेखिको सपना बल्ल पुराभएको छ ।’
स्थानीयको भनाइ उल्लेख गर्दै रिमाले कुनै पनि नेपाली कार्यक्रम तोकिएकै समयमा ठ्याक्कै सुरु भएर भनिएकै समयमा अन्त्य भएको यो पहिलो अनुभव बन्नपुगेको बताइन ।

नेपथ्यका सर्वकालीक हिट गीतहरु समेटिएको कन्सर्टमा ब्याण्डको स्थापनाकालीन ‘आँगनैभरि’ देखि लिएर भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ सम्म अटाएको थियो ।

कार्यक्रमभरि पटकपटक नेपाली भाषा र पहिचानको पक्षमा विचार राखेका अमृतले आफुले पैदलै गाउँवस्ती घुम्दाका क्रममा कतिपय गीतहरु संकलन गर्ने अवसर पाएको सुनौउँदै, नेपाल आउँदा देश घुम्नुपनि सुझाए । यति भन्दै, अमृतले धौलागिरिको सेरोफेरो यात्रा गर्दा बनाएको गीत ‘सिरफुल’ सुनाए । र, पृष्टभुमिको पर्दामा देखियो यात्राका दौरान अमृतले खिचेका रुकुम यात्राका तस्बीरहरु ।

‘नेपाल सम्झिएँ, यहाँका नेपालीहरुको सामीप्य अनुभूत गरें, अमृत भाइ र नेपथ्य टोलीले यहाँ चमत्कार नै गरे’ लहरा पहरा गीतका सर्जक लेकाली गायक हिरण्य भोजपुरेले आफ्नो अनुभव सुनाए । भोजपुरेका श्रीमती, पुर्व सचिब र लेकाली गायिका उर्मिला श्रेष्ठका साथै दुइ छोरा, छोरी ज्वाईं र नातिनी सहित कार्यक्रम हेर्न आएका थिए । ‘यो उमेरमा पनि एक्लै दुइ घण्टा प्रस्तुति दिन सक्ने अमृत भाइको स्टामिना देख्दा र उनी संगै सबै रमाएको देख्दा एकदम रमाइलो लाग्यो’ उर्मिलाले थपिन । ‘उचित व्यवस्थापन पायो भने नेपाली कार्यक्रमपनि अन्तरास्ट्रिय स्तरमा प्रस्तुत हुन सक्छ भनेर यो कार्यक्रमले देखाएको अनुभव भयो’ भोजपुरेका छोरी सितुले थपे ।

कन्सर्टको अन्तिमतिर पुग्नैलाग्दा अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकहरुको संख्या बढ्नपुगेको थियो । त्यसले ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा क्रमशः दर्शकहरुमा उत्तेजनाको पारो बढाउँदै लगेको थियो ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

स्थानीय आयोजक ‘कोशेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुती कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको र भब्य रुपमा ‘सोल्ड आउट’ सहित सभ्यरुपमा सफल भएको प्रतिक्रिया दिएको छ ।

अमेरिका यात्राको प्रथम कन्सर्ट भब्य रुपमा सम्पन्न भएसंगै अबको दोश्रो प्रस्तुती अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्त १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ ।

त्यसपछि भने ब्याण्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ ।

अमेरिका यात्राको सबै कन्सर्टका लागि दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ । त्यसका लागि ब्याण्डको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत थप जानकारी लिन सकिनेछ ।