७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकले कर तिरेको रकमले पालिएका हामी दायित्व निर्वाहमा समर्पित रहनुपर्दछ- तत्कालीन आईजीपी बस्नेत



अ+ अ-

काठमाडौं । आजबाट सशस्त्र प्रहरी बलमा नेपाली सेनाको संख्या एक जना मात्रै बाँकी छ । संगठन स्थापनाताका नेपाली सेनाबाट सशस्त्र प्रहरीमा १ सय २० जना स्थानान्तरण भई आएका थिए । जसमध्ये सनतकुमारबस्नेत र शैलेन्द्रकुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) भई संगठनको नेतृत्व सम्हाल्ने अवसर पाए । बस्नेतले २८ महिना र श्रेष्ठले साढे ८ महिना सशस्त्रको नेतृत्व गरे ।

वर्तमान आईजीपी शैलेन्द्र खनालको नेतृत्वलाई छाड्ने हो भने सेनाबाट आएका बस्नेतको कार्यकाललाई संगठनमा थिति बसाल्ने एवं नागरिक हितमा संगठन समर्पणको विकास एवं विस्तारमा उल्लेख्य प्रगति भएको समयका रूपमा लिइन्छ । आईजीपी हुनासाथै संगठनमा सुधारका कार्यक्रम ल्याई आफू मातहतको पूरै फौजलाई नागरिक हित एवं सेवा र सुरक्षामा केन्द्रित रहन आन्तरिक सर्कुलर एवं निर्देशनका माध्यमबाट प्रशिक्षित गरेका तत्कालीन आईजीपी बस्नेतले अन्ततः पूरै फौजलाई नागरिक हितको बाटोमा डोर्याउन सफल भए ।

आफ्नो जुनसुकै निर्देशन सम्बोधनमा बस्नेत भन्थे, ‘नागरिकले कर तिरेको रकमले पालिएका हामी सुरक्षाकर्मीले जहिले पनि नागरिकको हितलाई पहिलो प्राथमिकतामा राखेर जनचाहनाअनुरूपको कार्यशैली अपनाई राज्यले सुम्पिएको दायित्व निर्वाहमा समर्पित रहनुपर्दछ ।’

तत्कालीन आईजीपी बस्नेतको कार्यकाल संगठनले कसरी नागरिकलाई सेवा एवं सुरक्षा पुर्याउने भन्नेमै केन्द्रित रह्यो । यसैगरी सीमा सुरक्षालाई व्यवस्थित र समयानुकूल बनाउन संगठनले गर्नुपर्ने योगदान, कार्यालय विस्तार एवं दक्ष जनशक्ति उत्पादनमा उनले आफ्नो कार्यकालमा प्रशस्त योगदान पुर्याए। आईजीपीमा बहाली हुनासाथै विपद् पीडित जनतालाई प्रत्यक्ष सेवा पु¥याउन दक्ष जनशक्ति उत्पादन गरी कार्यक्षेत्रमा परिचालन गर्ने तथा सीमा सुरक्षालाई समयानुकूल व्यवस्थित गर्ने उपायको खोजी गर्दै कार्यान्वयन गर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएका बस्नेतले आफूले पदभार सम्हाल्नासाथ यीलगायतका क्षेत्रमा प्रशस्त सुधार गरे । चितवनको कुरिनटारमा रहेको सशस्त्रको त्यस बेलाको बेस क्यापलाई तालिम केन्द्रमा रूपान्तरण गर्दै संगठनमै पहिलोपल्ट विपद् व्यवस्थापन तालिम सञ्चालनको सुरुवात गरे । सशस्त्र प्रहरी कर्मचारीले बंगलादेशबाट गोताखोर तालिम गर्ने कार्यको सुरुवात बस्नेतकै पालामा भएको हो ।

सशस्त्र प्रहरीले पहिलोपल्ट विपद् व्यवस्थापन तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरेको खुसीमा तत्कालीन आईजीपी बस्नेतले सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम पछि गफिँदै भनेका थिए, ‘नेपालमा छिट्टै भूकम्प जान्छ त्यसैले पनि हामीले जतिसक्दो चाडो उद्धारकर्मी उत्पादन गर्नुपर्छ, अन्यथा ठूलो क्षति पुग्छ ।’

विदेशी सुरक्षाकर्मीको काम कारबाहीको शैलीबारे समेत जानकार उनले आफूले विदेशमा गरेका आधारभूत एवं उन्नत तालिमको स्मरण गर्दै त्यस बेला आगलागी नियन्त्रणमा खटिने सुरक्षाकर्मीले आगोको अवस्था तथा हावाको दिशाबारे पनि जानकारी राख्नुपर्ने, अन्यथा उद्धारकर्मीतर्फ नै क्षति पुग्ने भएकाले कामअनुरूपको तालिम अपरिहार्य रहेको चर्चा गरे ।

झन्डै १० वर्षअगाडि बस्नेतले गरेको त्यो प्रयासले २०७२ सालको भूकम्पसम्म आइपुग्दा सशस्त्र प्रहरीले यथेष्ट उद्धारक उत्पादन गरिसकेको थियो । ती सुरक्षाकर्मीले उत्साहका साथ व्यावसायिक ढंगले सफल रूपमा उद्धार कार्य गरे । भूकम्पको क्षति तथा बाढी, आगलागी, दुर्घटनालगायतका क्षेत्रमा सशस्त्र प्रहरीले उत्कृष्ट ढंगले उद्धार कार्य गरिरहेको छ ।

सशस्त्र प्रहरी कर्मचारीले जागिरबाट राजीनामा दिने क्रम बढेको देखेर तत्कालीन आईजीपी बस्नेतले यसलाई नियन्त्रण गर्न मनोभावनामा परिवर्तन ल्याउन जरुरी रहेको महसुस गरे । उनले जागिरलाई सेवा गर्ने अवसरका रूपमा लिन सशस्त्र प्रहरी कर्मचारीलाई मानसिक रूपमा परिवर्तन गर्न सफल भए । उनी भन्थे, ‘मान्छेले समाज सेवा मात्रै त गरिरहेका छन् तर हामीले त सेवा गरेबापत राज्यबाट तलब तथा खाने व्यवस्था र बस्ने ठाउँ पाएका छौं ।’ उनले सशस्त्र प्रहरी कर्मचारी लक्षित कल्याणकारी प्याकेज घोषणाको सुरुवात गरी निराशामा रहेका आफ्ना राष्ट्रसेवकमा आशाको दियो समेत जगाए । जुन प्याकेज घोषणा कार्य सशस्त्र प्रहरीमा यद्यपि कायमै छ ।

आईजीपी हुनासाथै मातहत युनिटहरूको निरीक्षण भ्रमणमा निस्किएका तत्कालीन आईजीपी बस्नेतले महँगा होटलमा सुविधा लिएर बस्ने प्रचलनलाई विस्थापित गरी ब्यारेकभित्रै खानेबस्ने कार्यको सुरुवात गरे । यसमा उनको आफ्नै तर्क छ, ‘ब्यारेकभित्रै आईजीपी बस्दा त्यहाँको फौजको मनोबल उच्च रहन्छ अनि त्यहाँको रहनसहन तथा जवानको समर्पण एवं सुविधा र समस्याबारे जानकारी पाउन पनि सजिलो हुन्छ ।’

बस्नेतले आफू आईजीपी हुनासाथै चासो देखाएको सीमा सुरक्षा कार्यलाई आफ्नो कार्यकालमा महत्वका साथ लिए । नेपालमै पहिलोपल्ट सीमासँग सरोकार राख्ने सम्पूर्ण निकायलाई एकै थलोमा भेला गरी बस्नेतले सीमा सुरक्षा गोष्ठी नै गरे । सेना प्रहरीका साथै नापी विभाग एवं सीमा क्षेत्रका विज्ञ एवं सशस्त्र प्रहरीको बाहिनी, तालिम केन्द्र तथा गण गुल्मका प्रमुखहरूलगायतका निकायको उपस्थितिमा सम्पन्न सो गोष्ठीबाट ठोस निर्णय निकाल्दै बस्नेतले तत्कालीन सरकारलाई सीमा सुरक्षाका क्षेत्रमा ठोस सुझाव दिएका थिए । जुन सुझावलाई अहिले पनि सीमा सुरक्षाको क्षेत्रमा कोसेढुंगाका रूपमा लिइन्छ ।

आफ्नो कार्यकाललाई सम्झिँदै बस्नेतले भने, ‘मेरो टाइममा आफ्नो दायित्व इमानदारिताका साथ पूरा गरें जस्तो लाग्छ । मैले एउटा राम्रो टिम बनाएको थिएँ, त्यो टिमले धेरै काम गरेको थियो । अप्ठेरो पर्दा मेरो आदेश भनिदिनू, असल नियतले गरेको कामको जिम्मा मेरो भो भनेको थिएँ । त्यसले पनि कामको रफ्तार बढेको जस्तो लाग्छ । समग्रमा मेरो कार्यकाल देश र जनताको हितमा परिलक्षित गरी हामी अगाडि बढेका थियौं ।’

भूकम्पको बेला सशस्त्र प्रहरीले गरेको साहसिक उद्धारबारे प्रश्न गर्दा पूर्वआईजीपी बस्नेतले भने, ‘कुरिनटारमा त्यो तालिमको सुरुवात गरेर वास्तवमै असल काम गरिएछ । हामीले विपद्को अनुमान गरेका थियौं । उद्धारका लागि तयारी गर्नुपर्छ भन्ने ठानेका थियौं । त्यहीबमोजिम हतार हतारमै भए पनि त्यो काम गरेको थिएँ । वास्तवमै अलौकिक काम गरिएछ ।’

सशस्त्र प्रहरीले बस्नेतकै पहलतामा शान्ति सेनामा जानेहरूका लागि छनोटको मापदण्ड बनाई कार्यान्वयन गरेको हो । एक दशकअघि उनले बनाएको शान्ति सेनामा छनोट प्रणालीलाई पछिल्ला दिनमा अन्य सुरक्षा निकायले समेत पछ्याएका छन् । निष्पक्ष रूपमा छनोट हुने सो मापदण्ड पछि निराशामा रहेका जवानहरूमा समेत आशा पलाएको छ भने उनीहरू आफ्नै क्षमताले शान्ति सेनामा सहभागी हुने क्रम अद्यापि जारी छ । राजधानी दैनिक