तेहरान। हालै अमेरिकी सञ्चारमाध्यमले युद्धविरामको मस्यौदाबारे इरानको सेना र शीर्ष नेतृत्वबीच ठूलो मतभेद रहेको दाबी गरेपनि यसको इरानी अधिकारीले खण्डन गरेका छन् ।
इरानी उपराष्ट्रपति मोहम्मद रेजा आरिफले अमेरिकी सञ्चारमाध्यमबाट आएका ती समाचार ‘सही’ नभएको भन्दै दावीलाई आइतबार ठाडै अस्वीकार गर्नुभएको छ।
उहाँले यसलाई अफवाहको संज्ञा दिनुभयो । इरानका प्रथम उपराष्ट्रपति रेजा आरिफले इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) सँग भन्नुभयो, “देशका सबै वरिष्ठ अधिकारीहरू वार्ताको प्रस्तावमा ‘पूर्ण एकताबद्ध’ छन् र मस्यौदा वार्ता वा प्रस्तावमा कुनै मतभेदको सम्भावना छैन ।”
इरानको भन्सार प्रशासनको भ्रमणका क्रममा आरिफले तेहरानले अमेरिकासँगको वार्तामा स्पष्ट र समन्वयात्मक रणनीति अपनाएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, “इरानले वार्तामा निश्चित रणनीति अपनाएको छ र सबै अधिकारीहरूले यसलाई पूर्ण समन्वयमा पालना गरेका छन्।”
उपराष्ट्रपति आरिफले वार्ताको मूल पाठ र प्रस्तावमा अधिकारीबीच कुनै मतभेद नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “इरानले वर्तमान युद्ध र गत वर्षको १२ दिने युद्धबाट सङ्कट व्यवस्थापनको क्षेत्रमा महत्त्वपूर्ण अनुभव र पाठ प्राप्त गरेको छ।”
आरिफका अनुसार यी अनुभवले देशको निर्णय क्षमता र राष्ट्रिय रणनीतिलाई थप बलियो बनाउन मद्दत गरेको छ । अमेरिका र इरानबीच जारी अप्रत्यक्ष वार्ताको सन्दर्भमा आरिफको यो भनाइ आएको हो ।
यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त हवाई हमलाबाट सुरु भएको थियो । आरिफले ‘थोपरिएको दुई युद्ध’ को व्यवस्थापन गर्ने इरानको अनुभवलाई उद्धृत गर्दै भन्नुभयो, “देशले सङ्कट व्यवस्थापनको क्षेत्रमा महत्त्वपूर्ण पाठ सिकेको छ।” (रासस/एएफपी)










