७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रविधिको प्रयोग : नयाँ बसपार्कमा बस टिकट काट्न सहज

प्रविधिको प्रयोग : नयाँ बसपार्कमा बस टिकट काट्न सहज
अ+ अ-

काठमाडौं । शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिनुभएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काट्नुभयो । 

दिउँसो २ः०० बजे बसपार्कमा भेटिनुभएकी उहाँ कम्युटर प्रणालीमार्फत टिकट लिन पाउँदा खुशी देखिनुहुन्थ्यो । “पहिला दाङ जानका लागि बसपार्कमा आउँदा सार्वजनिक बसका कर्मचारीले तानातान गरेर हैरान पारेका थिए, यसपटक सहज रुपमा दाङ जाने बसको टिकट काउण्टरमा गएर सहज टिकट लिन पायौं”, उहाँ भन्नुहुन्छ । 

दिउँसो ४ः४५ बजे बुर्तिवाङ जानका लागि धौलागिरि यातायात सेवा प्रालिको बा ५ ख १५५३ नं को बसको टिकट लिन नयाँ बसपार्क पुग्नुभएका टेकबहादुर सुनुवार पनि सहज रुपमा टिकट लिन पाउँदा निकै खुशी देखिनुहुन्थ्यो । “पहिला हस्तलिखित टिकट हुन्थ्यो, टिकटमा पूरा नाम पनि लेख्दैनथ्यो, अहिले कम्युटर प्रणालीमार्फत पूरा नाम, गन्तव्यस्थल, बस नम्बर, बस छुट्ने समय, बसको सिट नम्बर र रकम स्पष्ट लेखेको हुँदा सहज भएको छ”, उहाँ भन्नुहुन्छ । 

यस्तै, दिउँसो ३ः०० बजे भालुवाङ जानका लागि ना ६ ख १३८८ नं को बसमा टिकट काट्न दिउँसो १ः०० बजे नयाँबसपार्क पुग्नुभएका किसन ओलीलाई पनि टिकट लिन निकै सहज भयो । पहिला बस टिकट काट्न धकेलाधकेल हुने गरेकामा अहिले त्यस्तो अवस्था नआएको उहाँको भनाइ थियो । 

प्रविधिको प्रयोगसँगै नयाँ बसपार्कबाट देशभरका गन्तव्यस्थलमा कुन समयमा कुन बस छुट्ने भन्नेबारे यात्रुले सहजै जानकारी लिन सक्नेछन् । यी केवल प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले विभिन्न यातायात प्रालिसँग मिलेर प्रविधिको प्रयोग भित्र्याएसँगै यात्रुलाई टिकट लिन सहज भएको हो । 

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण झण्डै छ महिना बन्द रहेको समयको उपयोग गरी ल्होत्से बहुउदेश्यीय प्रालिले सरकारको निर्देशनअनुसार प्रविधिलाई नयाँ बसपार्कमा भित्र्याएको हो । ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर नयाँ बसपार्कभित्रको टिकट काउण्टरमा हुने भीडभाडलाई कम गरी कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोगमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ । 

“समयको परिवर्तनसँगै सरकारले ‘डिजिटल नेपाल’को परिकल्पना गरेको छ, त्यसलाई पूरा गर्न हामी लागिरहेका छौँ”, उहाँ भन्नुहुन्छ । नयाँ बसपार्कमा अहिलेसम्म ३० काउण्टरमा कम्युटर प्रणाली जडान गरे पनि १२ काउण्टरबाट मात्र यात्रुलाई सेवा प्रदान गरिएको छ । बाँकी काउण्टर पनि चाँडै नै सञ्चालन गर्ने तयारी गरिएको छ । 

ल्होत्से बहुउदेश्यीय प्रालिले हाल पूर्वी नेपालका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा, सप्तरी साथै पश्चिमका धनगढी, महेन्द्रनगर, बर्दिया, बाँके, दैलेख, रुकुम, रोल्पा, भालुवाङ, वुर्तिवाङ, टिकापुरलगायत गन्तव्यस्थलमा प्रविधिको प्रयोग गरी कम्युटरमार्फत टिकट काट्दै आएको छ । 

धौलागिरि–गण्डकी यातायात प्रालिको काउण्टरमा कार्यरत कर्मचारी पशुपति पौडेल हस्तलिखित टिकटभन्दा प्रविधिको माध्यमबाट टिकट लिँदा केही समय लाग्ने गरेको बताउनुहुन्छ । “हस्तलिखित टिकट पाँच जनाको लिने समयमा पनि प्रविधिमार्फत एक जनाको टिकट लिन समय लाग्ने भएकाले यात्रुले केही अप्ठ्यारो महशुस गरेका छन्”, उहाँ भन्नुहुन्छ । धौलागिरी–गण्डकी यातायात प्रालिले भने इ सेवामार्फत बसको टिकट लिने व्यवस्थासमेत मिलाइसकेको उहाँको भनाइ छ । 

चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन् । उक्त बसपार्कबाट दैनिक झण्डै एक हजार ५०० सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । 

काठमाडौँ महानगरपालिका–२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भई आएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो । यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी–साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । 

उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुट्टै बसपार्कस्थल निर्माण गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ ।