३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमलताल घटनाः सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन् ।

नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोलीले आजबाट फर्किएको छ । खोज तथा उद्धारका क्रममा आफूहरूले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने गरी टोली फिर्ता भएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवले साउन ४ गतेपछि हालसम्म शव र बसका अवशेषसमेत फेला पर्न नसकेको बताउनुभयो । त्यसअघि विभिन्न ठाउँमा गरी २४ जनाको शव भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उहाँले जानकारी दिनुभयो ।

भारतीय गोताखोरसहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्मको तीन दशमलव पाँच किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको प्रजिअ यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “बस नै हो भन्ने एकीन नभए पनि केही वस्तु छ भन्ने अनुमान उहाँहरूको छ । त्यहीअनुसार खोजी कार्य जारी राखेका छौँ । भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राखेको छ । नदीको गहिराइ, पानीको बहावअनुसारका उपकरण अभावका कारण खोजीमा कठिन भएको छ ।”

प्रजिअ यादवले माटोमा पुरिएको अवस्थामा अहिले प्रयोग भएको सोनाल क्यामेरालगायतका अन्य उपकरणले सवारी साधन र शवको पहिचान गर्न कठिन हुने बताउनुभयो । भारतीय टोलीले ल्याएको उपकरणबाट पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने भए पनि नदीको गहिराइका कारण केही पत्ता लाग्न नसकेको उहाँको भनाइ छ ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका थिए ।

बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएकामा तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाई सकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नदीमा बेपत्ता भएका यात्रुहरूलाई मृत सरह घोषण गरी राहतका लागि गृह मन्त्रालयसँग अनुरोध गरिएको छ । राहतका लागि पत्र पठाइए पनि अर्को निर्देशन नभएसम्म खोजी कार्य जारी राखिने उहाँले बताउनुभयो ।