• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

शशांकले देउवालाई भनेः पार्टी संसदीय दलको उपनेता बनाउनुपर्छ



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

पार्टीका पूर्वमहामन्त्री समेत रहनुभएका कोईरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले सभापति देउवाले उपनेता किन चयन नगरेको भनि प्रश्न समेत गर्नुभयो । पार्टीका सिनियर नेताहरु मध्येबाट उहाँले संसदीय दलको उपनेता बनाउनुपर्ने महामन्त्री कोईरालाको भनाई थियो । उहाँले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताउनु भयो ।

नेता कोइरालाले भन्नुभयो, ‘किन बनाउनुभएन । केही कारण होला उहाँको मनमा । तर उपनेता त उहाँले चयन गर्नुपर्ने हो । मलाई पनि लाग्छ– उपनेता बनाउनु पर्छ । उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि । त्यसैले उपनेता चाहीँ हुनुपर्छ । तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला । त्यो किन बनाउन भएन भनेर उहाँलाई नै सोध्नुपर्छ ? मलाई यसको बारेमा थाहा भएन । बनाउनुपर्ने हो । किन बनाउनु भएन ? त्यो भन्न सक्दिन म । म त आकांक्षी होइन । तर बनाउनु हुन्छ भने त अब मैले नाई भन्दिन । तर उहाँले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ ।’

नेता कोईरालाले सिनियर नेतालाई पार्टी संसदीय दलको उपनेता बनाउनुपर्ने पनि बताउनु भयो ।