• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

काँग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमति हामी मान्दैनौंः झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेबीचको सहमति मान्य नहुने चेतावनी दिनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सम्मानित नेता खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनैपनि सहमती सैह्य नहुने बताउनु भयो ।

उहाँले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमती भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरुले मेचीदेखि महाकालीबाट संग्राम शुरु गर्ने बताउनु भयो । खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरुले खेलाँचीको विषय बनाउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म यी दुई वटा पार्टीले गरेको तथाकथित सहमती खै कहाँ आयो त यो ? संसदमा पनि ढाँटिएको छ हेर्नुस् । संसदभित्र त्यसको हस्ताक्षर गरिएको पत्र किन प्रश्तुत गर्न सकिएन ? ती पार्टीहरुले किन गर्न सकेनन् ? किन लुकाइरहेका छन् ती कुरा ? कसैले नौ बुँदे भन्दैछन् । नौ बुँदे हो कि १५ बुँदे हो कि ? के थाहा हामीलाई । खै सही गरेको सहमती पत्र ? हामी त्यो चाहन्छौ । नेपाली जनता त्यो हेर्न चाहन्छन् । अनि यो संशोधन गर्ने हो भने के मा संशोधन गर्ने ? यो संविधान संविधान सभाले बनाएको हो । कसैको निगाहाले बनाइएको होइन । दुई वटा पार्टीले मात्रै बनाएको पनि होइन । संविधान सभाले बनाएको हो । र संविधान सभाको म्याण्डेटलाई अभिव्यक्ति नगर्ने कुनैपनि संशोधन नेपाली जनतालाई मान्य हुँदैन ।

संविधान संशोधन यस्तो खेलाँची गट्टी खेल होइन । दुई वटा पार्टीले आफ्नो सत्ता स्वार्थका लागि यस्तो गट्टी खेल गर्नुहुन्छ ? होइन त्यस्तो कुरा । त्यसकारणले हामी त्यो कुरालाई मान्दैनौं । त्यसमाथि भनिन्छ के भन्दाखेरी यो समानुपातिक चाहीँ समाप्त गर्ने रे । साँँच्चै हो यो ? आउनुपर्यो । साँच्चै हो भने यो दुई वटा पार्टीको अधिनायकत्वको विरुद्ध अब मेचीदेखि महाकालीबाट संग्राम शुरु हुन्छ हेर्नुस् । यो साना, साना विभिन्न समूह, जाति, समूह, क्षेत्र आदिलाई प्रतिनिधित्व गराउनका लागि हामीेले ल्याएको यो समानुपातिक प्रणाली हो ।

समानुपातिक प्रणालीले कमजोर, साना, पीछडिएका समूहरुको हितलाई प्रतिनिधित्व गरिरहेको छ । त्यसकारण यो लोकतन्त्रको पनि बडो मार्मिक कुरा हो । यो त पुँजीपतिहरुले एउटा अपोजिसन, एउटा सत्ता चाहन्छ । यही चत्रको आधारमा पूजीवादलाई बचाउन खोजिएको छ । अब समाजवादले त्यो कुरालाई सहन गर्दैन । समाजवादले अब त्यस्तो कुरालाई मान्दैन ।’

सम्मानित नेता खनालले सत्तारुढ काँग्रेस–एमालेले हस्ताक्षर सहितको सात बुँदे सहमती प्रश्तुत नगरेर संसदलाई समेत ढाँटेको जिकिर पनि गर्नुभयो ।