• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्थाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्छ: सांसद झा



काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरु सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताउनु भयो । सांसद झाले बंगलादेशमा नेपाली विद्यार्थीहरु धेरै अध्ययनका लागि गएकाले उनीहरुले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरुको पीडालाई सम्बोध गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दिन अगाडि बंगलादेशमा त्यहाँ आरक्षण सम्बन्धि विषयको विवाद अन्तरगत केही बिरोधहरु भयो । र त्यसले आक्रमक रुपमा आन्दोलनको रुप पनि लियो । लगभग १५० जना भन्दा धेरैको मृत्यु भयो । नेपालबाट त्यहाँ अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थीहरु आपतकालिन अवस्थामा त्यहाँबाट फर्किए । धन्न अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन । तर पनि त्यस्तो जटिल अवस्था, परिस्थिति कस्तो छ, त्यो सबै परिस्थितिको बारेमा आधिकारिक रुपमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्ने हो । त्यो जानकारी अहिलेसम्म भएको छैन । तसर्थ त्यो जानकारी उपलब्ध गराईदिनका लागि सम्बन्धित मन्त्रालयलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु ।’

बंगलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सय भन्दा बढि नेपाली स्वादेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ ।