१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा



अ+ अ-

काठमाडौँ : प्राचीन गुरूकुल परम्पराबाट सुरू भएको गुरू पूर्णिमा पर्व आज गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।

प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी मनाइएको हो । यस पर्वमा ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्ति ‘गुरू’ प्रति विशेष आदर गर्ने परम्परा छ । ‘गु’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश भनेर बुझिन्छ ।

सोहीअनुसार गुरूलाई सम्मान गरिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख छ । यसर्थमा अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरू भनिन्छ । यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।

अर्थात् गुरू ब्रह्मा, विष्णु र गुरु महेश्वर हुन्, गुरू साक्षात् पर ब्रह्म हुन्, यस्ता गुरूलाई नमस्कार छ । माता पिताजस्तै गुरूलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ अर्थात् गुरू देवता समान हुन् भनिन्छ ।

गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने सबैप्रति श्रद्धाभाव प्रकट गरेका छन् । गुरू पूर्णिमाको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासस्थित सहिद आदर्श क्याम्पसको हाताभित्र वृक्षरोपण गरिएको छ ।

क्याम्पसको २६ रोपनी क्षेत्रफलमा फैलिएको हाताभित्र सदाबहार प्रकृतिका विभिन्न बिरुवा रोपिएको क्याम्पस प्रमुख विष्णु फुयालले जानकारी दिनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामशरण ढुङ्गाना र वडा नं ३ का वडाध्यक्ष राममणि पुडासैनीले ग्रामीण क्षेत्रमा रहेको सहिद आदर्श क्याम्पसलाई विद्यार्थीको रोजाइको अध्ययन केन्द्र बनाउन प्रयास गरिएको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा शिक्षाको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुहुने शिक्षासेवीलाई सम्मानसमेत गरिएको थियो । त्यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशनले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्दनगरमा कार्यक्रम आयोजना गरेको थियो ।

मनाइयो व्यास जयन्ती

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा आजै व्यास जयन्ती मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिन्छ ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा पाप र पुण्यका बारेमा यस्तो सन्देश दिन खोज्नुभएको धर्मशास्त्राचार्यहरुको तर्क छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम्’ ।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको छ । यस्तो वैदिक गुरू परम्परालाई गुरूकुलले विशेष रूपमा निरन्तरता दिँदै आएका छन् ।रासस