• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo
Latest
★   सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने ★   संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने ★   दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने ★   सुनिता विलियम्सलाई नलिई बोइङको स्टारलाइनर आइएसएसबाट पृथ्वीमा फर्कने ★   टिकटकको प्रतिबन्ध हटाउन निर्देशन ★   आमा–छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी ★   गैँडाको आक्रमणबाट गाइडको मृत्यु, पर्यटक र चौकीदार घाइते ★   केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु ★   ‘मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा’ ★   विष्णु माझी र तीजका तरङ्गहरू

गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा



काठमाडौँ : प्राचीन गुरूकुल परम्पराबाट सुरू भएको गुरू पूर्णिमा पर्व आज गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।

प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी मनाइएको हो । यस पर्वमा ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्ति ‘गुरू’ प्रति विशेष आदर गर्ने परम्परा छ । ‘गु’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश भनेर बुझिन्छ ।

सोहीअनुसार गुरूलाई सम्मान गरिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख छ । यसर्थमा अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरू भनिन्छ । यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।

अर्थात् गुरू ब्रह्मा, विष्णु र गुरु महेश्वर हुन्, गुरू साक्षात् पर ब्रह्म हुन्, यस्ता गुरूलाई नमस्कार छ । माता पिताजस्तै गुरूलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ अर्थात् गुरू देवता समान हुन् भनिन्छ ।

गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने सबैप्रति श्रद्धाभाव प्रकट गरेका छन् । गुरू पूर्णिमाको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासस्थित सहिद आदर्श क्याम्पसको हाताभित्र वृक्षरोपण गरिएको छ ।

क्याम्पसको २६ रोपनी क्षेत्रफलमा फैलिएको हाताभित्र सदाबहार प्रकृतिका विभिन्न बिरुवा रोपिएको क्याम्पस प्रमुख विष्णु फुयालले जानकारी दिनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामशरण ढुङ्गाना र वडा नं ३ का वडाध्यक्ष राममणि पुडासैनीले ग्रामीण क्षेत्रमा रहेको सहिद आदर्श क्याम्पसलाई विद्यार्थीको रोजाइको अध्ययन केन्द्र बनाउन प्रयास गरिएको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा शिक्षाको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुहुने शिक्षासेवीलाई सम्मानसमेत गरिएको थियो । त्यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशनले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्दनगरमा कार्यक्रम आयोजना गरेको थियो ।

मनाइयो व्यास जयन्ती

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा आजै व्यास जयन्ती मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिन्छ ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा पाप र पुण्यका बारेमा यस्तो सन्देश दिन खोज्नुभएको धर्मशास्त्राचार्यहरुको तर्क छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम्’ ।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको छ । यस्तो वैदिक गुरू परम्परालाई गुरूकुलले विशेष रूपमा निरन्तरता दिँदै आएका छन् ।रासस