• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु ★   यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली ★   नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति: प्रधानमन्त्री ★   बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते ★   ‘होस्टेल ३’ मा कुन भूमिकामा देखिँदैछन् आर्यन सिग्देल र परीक्षा लिम्बु ? ★   सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने ★   उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्ः प्रचण्ड

पत्रकार धमलामाथि अस्पतालभित्रै कुटपिट, हर्क साम्पाङका समर्थक पक्राउ



विराटनगर । सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी धमलामाथि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धमलाले सामाजिक सञ्जाल फेसबुकमार्फत धरानका मेयर हर्क साम्पाङका समर्थकहरूले आफुमाथि कुटपिट गरेका बताएकी छिन् । उनले भनेकी छन् ‘म बिरामी अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स–रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए । म बिरामी अवस्थामा उपचारको लागि पुगेको थिएँ । यस्तो अवस्थामा हिंसात्मक आक्रमणको सामना गर्नु, त्यो पनि सार्वजनिक स्थानमा, कुनै पनि व्यक्तिको लागि सहन गर्न गाह्रो नै हुन्छ । अस्पताल भनेको उपचारको लागि, शान्तिको लागि र सुरक्षित ठाउँ हो । तर, यहाँ उल्टै असुरक्षित महसुस गरायो ।’

महिलाहरू पक्राउ परेपछि मेयर साम्पाङले उनीहरुलाईलाई विना सर्त रिहा गर भनेर लेखेका छन् । उनले लेखेका छन्, ‘सुनसरी प्रहरी, निर्दोष दिदीबैनीलाई बिना शर्त रिहा गर् !’

केही दिनअघि सार्वजनिक सुनुवाइका क्रममा सञ्चारकर्मी धमलाले धरानका जनप्रतिनिधिहरुले घुस खाने गरेको भन्दै प्रश्न गरेकी थिइन् । सोहि बिषयलाई लिएर मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो ।