५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम



अ+ अ-

नारायणगढ (चितवन) : साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ । नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिती न्यून भएको यहाँ आएका भक्तजन एवं स्थानीयहरु बताउँछन् ।

भरतपुर महानगरपालिका–७ बाट देवघाटमा सङ्क्रान्ति स्नान गर्न आउनुभएका मोहिनीप्रसाद खनालले हरेक वर्षको साउने सङ्क्रान्तिमा भीडभाड लाग्ने देवघाटधाम यसपटक सुनसान देखिएको बताउनुभयो । उहाँले आज यहाँ भीडभाड नदेखिनुको कारण मानिसमा बाढीपहिरोको डर एवं हालै भएको सिमलताल पहिरोको भय हुनसक्ने आँकलन गर्नुभयो ।

उहाँले पहिरोमा परेकाको नदीमा शव भेटिँदा यहाँ आउन भक्तजन डराएको बताउनुभयो । उहाँले भन्नुभयो, “यत्रा मान्छेहरु नुहाउन आउने ठाउँमा आज सुनसान छ, धाम अँध्यारो भएको छ ।”

लमजुङ घर भई हाल देवघाटमा बस्दै आउनुभएका सूर्यकान्त शर्माले यसपालिको सङ्क्रान्तिमा देवघाट शून्य भएको बताउनुभयो । उहाँले अघिल्ला वर्षको सङ्क्रान्तिमा घुइँचो लाग्ने यहाँ आज फाट्टफुट्ट मात्र भक्तजन आएको जानकारी दिनुभयो ।

धादिङ घर भई चितवन बसोबास गर्दै आउनुभएका गोविन्दप्रसाद तिमिल्सिनाले आफू देवघाटमा प्रायःसधैँजसो आउने गरेको तर लगातारको बाढीपहिरो र सिमलताल घटना भएयता यहाँ आउने भक्तजन शून्य जस्तै भएको बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले गत वर्षको भन्दा यसपटक देवघाटमा भक्तजनको उपस्थिति न्यून रहेको जानकारी दिनुभयो । यसवर्ष साउनमा कुनै बोलबम मेला नराखेको भए पनि आगामी सोमबारबाट भक्तजन स्वत स्फूर्त रुपमा आउनसक्ने उहाँको अनुमान छ । उहाँले यहाँ आएका भक्तजनलाई देवघाट क्षेत्र विकास समितिले सहजीकरण गर्दै आएको बताउनुभयो ।रासस