• २ भाद्र २०८१, आईतवार
  •      Sun Aug 18 2024
  •   Unicode
Logo

एमालेले टुंग्यायो नाम, कांग्रेस कसरतमा, को–को बन्दैछन् आज मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सपथसँगै मन्त्रीहरुलाई पनि सपथ दिलाउने कार्यक्रम छ ।

सरकारको नेतृत्व गर्ने दल एमालेले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बाल्कोटमा बसेको कोर ग्रुपका नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । अन्यका बारेमा छलफल भइरहेकाे छ ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ । प्रधानमन्त्री ओलीले आज १५ जना मन्त्रीसहित सपथ लिने तयारी गरेका छन् ।

यता नेपाली कांग्रेसले भने अहिलेसम्म मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा आफ्ना मन्त्री पठाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाले सिंहको नेतृत्वमा रमेश लेखक, आरज्ु राणा, अजय चौरसियालाई मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

यस्तै शेखर कोइराला–गगन थापा समूहले प्रदीप पौडेललाई मन्त्री बनाउन चाहेको छ । यो समूहले पौडेलसहित हृदयराम थानी, रामनाथ अधिकारी र तेजुलाल चौधरीलाई मन्त्री बनाउन देउवालाई भनेको छ । देउवाले आज प्रधानमन्त्रीले सपथ लिने बेलासम्म मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने बताइएको छ ।

कांग्रेसले गृह, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाई, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।

यसगरी नेकपा एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएका छन् ।