२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

स्रष्टाले सम्झिए आदिकवि

स्रष्टाले सम्झिए आदिकवि
अ अ+ अ-

गण्डकी :‘पृथ्वी भानु सफा छ मूल

मूलभित्र छ कञ्चन

बुद्धको ज्ञान हो शान्ति

शान्तिभित्र तपोवन’

स्रष्टा रामचन्द्र शर्माले अनुष्टुप छन्दमा लयबद्ध कविता सुनाउँदा दर्शकदीर्घा मन्त्रमुग्ध देखिन्थ्यो । ‘पृथ्वी, भानु र बुद्ध’ शीर्षकको कवितामा उहाँले एकता र सहिष्णुता वकालत गर्नुभयो । शर्माले अघि थप्नुभयो–

‘बन्यो हाम्रो धरा राम्रो भाषा

धर्म सहिष्णुता

देश बोकौ सबै हामी

चाहिएको छ एकता’

दुई सय ११औँ भानु जयन्तीका अवसरमा बागलुङको विद्यामन्दिर पुस्तकालय, धवलागिरि साहित्य प्रतिष्ठान र सार्थक प्रकाशनले आज काव्य गोष्ठीको चाँजोपाँजो मिलाएका थिए । भानु जयन्ती समारोहमा शर्मासहितका स्रष्टाले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई सिर्जनामार्फत सम्झिए । भाषा तथा वाङ्मयप्रेमीले कविताको रसस्वादन गरे । कसैले भानुभक्तको चित्र कोरे । नेपाली साहित्यका अध्येताले आदिकविको योगदानबारे चर्चा गरे ।

आदिकवि भानुभक्तको ‘घाँसी’ कविताबाट प्रभावित स्रष्टा दीक्षा क्षेत्रीले सरल शब्द र बान्कीमा आदिकविलाई यसरी सम्झनुभयो–

‘दरिद्र घाँसीले दिएको अर्ति सुनेपछि

मनमनै केही गर्ने सपना बुनेपछि

साहित्यमा केही गर्छु भनी लागि परेका

रामायणलाई नेपालीमा अनुवाद गरेका’

स्रष्टाले राष्ट्रिय विभूतिसमेत रहनुभएका आदिकविको प्रशंसामा गहकिला शब्द खर्चिए । स्रष्टा कोपिला कँडेलले भानुभक्तप्रतिको श्रद्धालाई कवितामा यसरी अभिव्यक्त गर्नुभयो–

‘भानु तिमी अमर छौ

विज्ञानले आविष्कार गरेका हरेक वस्तु नासवान् छन्

तर भानु तिमी अमर छौ

जहाँ सत्य रहन्छ, त्यहाँ अमरत्व कायम रहन्छ

तिमी रामायणमा छौ, प्रश्नोत्तर, बधुशिक्षा र रामगीतामा छौ

भाषा, कला र साहित्यमा छौ

नेपाली जनजनमा र मनमनमा छौ

त्यसैले तिमी अमर छौ’

स्रष्टा प्रकाश कार्कीले फरक विषयवस्तुमा कविता सुनाउनुभयो । ‘सपनाको देश’ कवितामार्फत उहाँले मुलुकले व्यहोरिरहेको राजनीतिक अस्थिरताबारे खरो व्यङ्ग्य गर्नुभयो–

‘दण्डहीनता, अराजकता, आवेग र विमति

तर पनि मुखमा झुण्डिएको छ राष्ट्रिय सहमति

सधैँ गर्यो भागभण्डा भएन कहिल्यै स्थिर सरकार

रावणको थियो दशवटा शिर तिम्रो रुपको कति छ प्रकार’

स्रष्टा गोविन्द सुवेदीले पनि गजल वाचन गर्नुभयो । यस्तो थियो उहाँको गजलको पहिलो शेर ।

‘विछोड के हो नसोचेरै सयौँ सम्बन्ध गाँसिन्छन्

हरेक नाता आखिर यहाँ हुँदा टाढा त टुङ्गिन्छन्’

स्रष्टा गुणराज पौडेल ‘गुराँस’ कवितासहित यसरी प्रस्तुत हुनुभयो–

‘किनकिन अतितलाई नियाल्न मन लाग्छ

देखिरहुँ, छोइरहुँ, भुलिरहँ लाग्छ

परेलीका तरेलीपिच्छे रम्ने चाहट उघारेर

हिमालको हिउँसँगै जमिरहन मन लाग्छ’

समारोहमा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’, धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हीरालाल रेग्मी, सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदी, साहित्यकार धनराज सापकोटा, मुकेशचन्द्र राजभण्डारी, राजेन्द्र आचार्य, बाल स्रष्टा पुष्पिका सुवेदीलगायतले पनि रचना वाचन गर्नुभएको थियो ।

साहित्यकार सापकोटाले भानुभक्तकृत रामायण वाचन गरेर सुनाउनुभयो । धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले आदिकवि भानुभक्तको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभयो । भानुभक्त प्राथमिककालको पहिलो महाकाव्यकार भएको उल्लेख गर्दै उहाँले नेपालको सांस्कृतिक र भाषिक एकतामा भानुभक्तको अमूल्य योगदान रहेको चर्चा गर्नुभयो ।

उपप्राध्यापक पाण्डेयले भानुभक्तको साहित्यिक प्रतिभा उजागर गर्नमा युवाकवि मोतीराम भट्टको महत्वपूर्ण योगदान रहेको सुनाउनुभयो ।

समारोहमा उपप्राध्यापक रेग्मीले साहित्यकार काजी रोशनको कृति ‘स्रष्टा भेटका स्वर्णाक्षर’ माथि परिचर्चा गर्नुभएको थियो । समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुवेदीले नेपाली भाषा, साहित्यको उन्नयनमा आदिकवि भानुभक्तको योगदान चीरकाल पर्यन्त स्मरणीय रहने बताउनुभयो । उहाँले भानुभक्तले नेपाली भाषा र संस्कृतिलाई जोड्ने काम गरेको धारणा राख्नुभयो ।

साहित्यकार प्रेम छोटाले भानभुक्तबाट नयाँ पुस्ताका स्रष्टाले प्रेरणा लिनुपर्ने बताउनुभयो । भानुभक्तका कतिपय रचनामा तत्कालीन समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गरिएको उहाँको भनाइ थियो । भानुभक्तका हरेक कृतिको ऐतिहासिक मूल्यका आधारमा विवेचना गर्नुपर्ने छोटाले बताउनुभयो । “भानुभक्तका रचनामा जीवन दर्शन, समयको मूल्यबोध, सामाजिक जागरण र बेथितिविरुद्धको आवाज मुखरित भएको छ । उहाँका साहित्यिक कृतिलाई प्रकाशमा ल्याउने र आदिकविको पगरी दिने काम युवाकवि मोतीराम भट्टले गरेका हुन्”, साहित्यकार छोटाले भन्नुभयो ।

धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष रोशनले काव्यगोष्ठी, भानुभक्तको योगदानबारे विमर्श र भानु चित्र लेखनको आयोजना गरिएको जानकारी दिनुभयो । भानु चित्र लेखनमा परिधि विश्वकर्मा प्रथम, प्रार्थना झा द्वितीय र सोमिया शर्मा तृतीय हुनुभएको थियो ।

पुस्तकालय  र प्रतिष्ठानले दशकौँअघिदेखि भानु जयन्तीलाई विशेष रूपमा मनाउँदै आएको विद्यामन्दिर पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । पुस्तकालयले भानुभक्तसहित, महाकवि लक्ष्मीप्रसाद देवकोटा, यगुकवि सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारको जन्मजयन्ती मनाउँदै आएको छ ।

विसं १८७१ असार २९ मा तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आदिकवि भानुभक्तले व्यासको अध्यात्म रामायणलाई नेपाली भाषामा भावानुवाद गर्नुभएको थियो । नेपालसहित दार्जिलिङ, सिक्किम, बर्मालगायत नेपालीभाषीको बसोबास रहेका ठाउँमा श्रद्धापूर्वक भानुभक्तको सम्झना गरिन्छ । नेपालमा भाषिक एकताको श्रेय उहाँलाई नै दिने गरिन्छ । भानुभक्तका ‘बधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’लगायत रचना प्रसिद्ध छन् ।

रामबहादुर थापा/रासस