२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो र कटानले बेनी–जोमसोम सडक चार ठाउँमा अवरुद्ध



अ+ अ-

म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड कम्तीमा चार ठाउँमा पहिरो र कटान जाँदा आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला, अन्नपूर्ण गाउँपालिकाको पुरै र रघुगङ्गा गाउँपालिकाको छवटा वडामा यातायात सञ्चालन हुन सकेका छैनन् ।

बेनी–जोमसोम सडक आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो र कटानका कारण सडक अवरुद्ध बनेको छ । “अन्नपूर्णको रुप्से, गुइठेभिर, भिरकाटे र दोवाखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “कालीओडार, सिरुवारी र बैसरीमा पहिरो पन्छाउन सडक विभागको डोजर, लोडरलगायत उपकरण, प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छौँ ।”

बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने रघुगङ्गा–३ गायत्री मन्दिर नजिकै रघुगङ्गा नदीले कटान गरेर भासिएको सडक मर्मत गर्न केही समय लाग्ने सबइन्जिनियर कार्कीले बताउनुभयो । “भिर काटेको पहिरोबाहेक अन्य पहिरो बेनी–जोमसोम सडकमा हरेक मनसुनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरो हुन्”, उहाँले भन्नुभयो, “सडक अवरुद्ध हुँदा रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक, तिर्थयात्रीहरूलाई समस्या भएको छ ।”

सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सडकलगायत विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका किसानले उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ ।

पहिराले पोल ढलाएपछि अन्नपूर्ण गाउँपालिकाका अधिकांश वडामा विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

यसैबीच फापरखेत र बाङ्गेपहिरामा अवरुद्ध म्याग्दीको पश्चिमी क्षेत्रका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक खुलाउन डोजर परिचालन गरिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

बाढीपहिराले कल्भर्ट बगाउँदा सडक अवरुद्ध

बिहीबार रातिको भीषण वर्षाका कारण तनहुँका विभिन्न ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन् । विभिन्न खोलामा आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न ठाउँका सडकखण्ड अवरुद्ध भएका हुन् । बाढीपहिराले केही ठाउँमा कल्भर्ट बगाएको छ ।

व्यास नगरपालिका–११ पुरनडिहीस्थित राम्दी खोलामा बाढीले दुईवटा कल्भर्ट बगाउँदा सडक अवरुद्ध भएको छ । उक्त सडक हुँदै सोही वडाको फराकचौर, बेल्टारी, शेरासम्मको आवागमन ठप्प भएको छ ।

भानु नगरपालिका–५ टुहुरेपसलस्थित खत्रीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा डुम्रे–चन्द्रावती खण्ड अवरुद्ध भएको छ । खत्रीखोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि भानु–१२, १३, ६ र ७ मा सञ्चालित सवारीसाधन रोकिएका वडाध्यक्ष धिरज खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भानुको उत्तरी भेग १२ र १३ को ‘लाइफलाइन’का रूपमा रहेको यस ठाउँको कल्भर्ट बगाउँदा सर्वसाधारणलाई आवाजजावतमा कठिनाइ भएको छ ।”

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार, व्यास–१२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका–५ याम्पालगायत ठाउँमा गएको पहिरा भने पन्छाएर पृथ्वीराजमार्ग पूर्ण रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस