२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा ५० प्रतिशत रोपाइँ



अ+ अ-

गण्डकी । असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँमा व्यस्त रहेका छन् । यही असार १५ गते सम्ममा प्रदेशमा १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा त्यसयता बढेर ५० प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो ।

अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिने प्रमुख रेग्मीले बताउनुभयो । बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुने गरेको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यवस्त छन् ।

यो वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । प्रदेशको कुल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धान लगाइने गरिएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिनुभयो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको उहाँको भनाइ छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।  गण्डकीका किसानले सावित्री, रामधान, जेठोबूढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् ।