२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरमा व्यावसायिक स्याउ खेती



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो ।

एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिनुभयो । “यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ”, उहाँले भन्नुभयो, “बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ ।”

एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दानाहरु फुटेको उहाँले बताउनुभयो । यहाँ लगाइएको स्याउको फल पहेँलो रङ  र स्वाद फुजी स्याउको जस्तै हुने उहाँको भनाइ छ ।

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ ।

एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ ।

टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उहाँले बताउनुभयो ।

केराको बिरुवा प्रतिगोटा रु ३५ देखि रु ६० सम्म र बाँसको बिरुवा प्रतिगोटा रु एक सय ३० मा बिक्री गरिन्छ । टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ । रासस