• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने !



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार वा मंगलबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले सत्तामा सहकार्य गर्ने सहमतिपछि एमालेले सकारको समर्थन फिर्ता लिइसकेको छ । एमालेका आठ मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् ।

कुनै पनि दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् ।

तर, प्रधानमन्त्रीले संसद्को सामना गर्ने भन्दै राजीनामा दिन अस्वीकार गर्नुभएको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीले असार २४ गते सोमबार वा त्यसको भोलिपल्ट मंगलबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्रीलाई सोमबारसम्मको अल्टिमेटम दिएको स्रोत बताउँछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्यालसहितका नेताहरू राजीनामा दिन भनेर बिहीबार बालुवाटार पुगेका थिए । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने समयसम्म साथ दिन आग्रह गरेपछि उनीहरु राजीनामा पत्र खल्तीमै राखेर फिर्ता भएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । दाहालसँग अहिलेसम्म माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) गरेर ७० सांसद छन् ।

जबकी उनको विकल्पमा नयाँ सरकार गठन गर्न सहमत भएका कांग्रेस (८८) र एमाले (७९) सँग १६७ अर्थात प्रष्ट बहुमत छ । प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ सांसदको समर्थन चाहिन्छ ।