• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा



काठमाडौं । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आव भव्यताका साथ मनाइँदै छ । राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव पहिलो पटक काठमाडौं बाहिर चितवनमा हुँदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चितवनको बछौलीमा डेढ बिघामा रोपाइँ गरेर औपचारिक धान दिवस मनाउन लागेको हो ।

२०६१ साल मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो।त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाउने गरिन्छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

धान दिवसको अवसरमा सरकारका उच्च पदस्थ व्यक्तिहरू र राजनीतिक दलका नेताहरू समेत धान रोप्ने कार्यक्रममा सरिक हुन्छन् ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ।शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ।निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास पनि छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ ।

यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।