१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैनः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उहाँले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताउनुभयो । उहाँले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गर्नुभयो । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गर्नुभयो । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, उहाँले भन्नुभयो ।

उहाँले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताउनुभयो । “काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ”, उहाँले भन्नुभयो । भ्रष्टाचारविरुद्ध कांग्रेस शशक्त भएर उभिनुपर्ने उहाँको भनाइ छ ।

नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भन्नुभयो । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ थियो । नेता पौडेलले कलङ्की(चावहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । “लोकतन्त्रलाई ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई काठमाडौँबासीले बलियो भएको हेर्न चाहन्छ, यसलाई तपाईँ हामी मिलेर पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नेताले आफ्नो क्षेत्र सुरक्षित गर्न काठमाडौँलाई प्रयोगशाला बनाएको बताउनुभयो । “नेताले आफूले चुनाव जित्नका लागि राम्रो सङ्गठन भएको काठमाडौँमा गठबन्धन गर्दा यहाँको सङ्गठन कमजोर भयो”, उहाँले भन्नुभयो ।

कांग्रेस काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधानले पार्टीको विधानलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र एउटै व्यक्तिले पटक(पटक अवसर पाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । “सहकारी अनियमितताको विषयलाई ओझेलमा पार्ने छानबिन समिति चयन गरिएको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का पूर्वसभापति न्हुच्छेनारायण मानन्धर, कांग्रेस काठमाडौँ महानगरपालिका(२८ का सभापति दीपङ्गप्रसाद प्रधानाङ्गलगायतले देश र जनताले कांग्रेसको एजेण्डा खोजेको बताउनुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का सभापति ख्यामराज तिवारीले सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका(२६ का पूर्वअध्यक्ष विश्वम्भरलाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।




भर्खरै