१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान छ: सभापति देउवा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताउनु भयो । उहाँले महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली काँग्रेस भित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उहाँ जस्तै योग्य बन्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली काँग्रेसले उठाएका उम्मेदवारहरु चुनावमा पराजय हुने भएकाले पराजय हुनेकुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुको धेरै ठूलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा । भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको छ । त्यसले गर्दा महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने कुरामा मलाई विश्वास छ । महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ । यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु ।’

‘अहिले संसारभर नै महिलाहरुको अधिकारका लागि महिलाहरुको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ । त्यही हिसावमा नेपालमा पनि महिला राष्ट्रपति समेत नेपालमा हुनुभएको छ । विद्या भण्डारीजी दुई पटक हुनुभएको छ । भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ । महिलाहरुले त्यस किसिमको योग्य र सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ । महिलाहरुको कुरा उठेको छ । केही महिलाहरुलाई सिटको व्यवस्था गर्नुपर्छ, चुनावमा नत्र समस्या पर्छ भन्नेकुरा छ । त्यो गरेर जान सकिने कुरा हो तर हाम्रो त महिला हारिहाल्छ समस्या पर्छ के । अरु पार्टीका महिला जित्ने हाम्रोका हार्ने । त्यो कसरी हार्न नदिने र पार्टीलाई महिला कसरी जिताउने भन्ने किसिमको तयारी गर्नुपर्छ । महिला सशक्तिकरणको अभियान तपाईंहरु अघि बढाउनुस् ।’

सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन आग्रह गर्नुभयो ।