१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ ।

हाल बर्लिनमा रहनुभएका राष्ट्रपति पौडेललाई जर्मनी सरकारले गरेको भव्य स्वागत र न्यानो आतिथ्यताले नेपालप्रति जर्मनीको सद्भाव प्रतिविम्बित भएको छ । त्यहाँका राष्ट्रपति डा फ्राङ्क–वाल्टर स्टाइनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही असार १ गते जर्मनी भ्रमणमा जानुभएको हो । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा स्टाइनमेयरबीच सोमबार भएको द्विपक्षीय वार्तामा जर्मनी सरकारले खुलेर सहयोग गर्ने वचन दिनुले पनि नेपालप्रतिको जर्मनीको सद्भाव दर्शाएको छ । भेटवार्तामा दुवै राष्ट्रपतिले विकास सहयोग, व्यापार, पर्यटन, लगानी र व्यावसायिक तालिममा केन्द्रित रहेर समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले आफ्नो देशको कृषि, पर्यटन, जलस्रोतलगायत विकासका प्राथमिकतालाई प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीलाई प्रोत्साहन गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले आफ्ना जर्मन समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको छ । । जर्मनीको एकीकरण तथा नेपालमा प्रजातन्त्र पुन:स्थापना एकै वर्ष भएको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकासमन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गर्नुभएको थियो ।

भ्रमणले नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्ध मात्र नभई सम्पूर्ण युरोपमा नै नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुगेको विश्वास गरिएको छ । राजनीतिक विश्लेषक डा चन्द्रदेव भट्टले नेपालबाट लामो समयपछि जर्मनीमा भएको राष्ट्रप्रमुख तहको भ्रमणलाई महत्वका साथ हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय युरोपसँग हाम्रो सम्बन्धमा अपेक्षाकृत प्रगाढ हुन सकेको छैन, व्यक्तिगत रुपमा सम्बन्ध बढ्दै गए पनि सरकारका तर्फबाट जुन ‘इन्गेजमेन्ट’ हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यस्तो अवस्थामा भएको उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नवीकरण गर्छ ।”

जर्मन विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको र युरोपको शक्तिशाली मुलुक भएकाले त्यससँग सम्बन्ध बढाइराख्नुपर्ने बताउँदै राजनीतिक विश्लेषक भट्टले त्यहाँ नेपालको उपस्थिति सुदृढ बनाउनुपर्ने सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले यसै भ्रमणका क्रममा यस अघि स्वीट्जरल्याण्डका राष्ट्रपति भिओला आमहर्डसँग जेठ ३० गते द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईले पनि लामो समयपछि नेपालबाट भएको उच्च तहको भ्रमणले दुई देशबीच विश्वासको वातावरण थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जर्मनी नेपालको घनिष्ठ मित्र हो । जर्मनीका समाजवादी नेता र पार्टीसँग नेपालको विशेष सम्बन्ध छ । जर्मनीका पूर्वचान्सलर तथा सोसियल डेमोक्र्याटिक पार्टीका नेता विली ब्राण्ड र बिपी कोइरालाबीच निकटता थियो ।”
राष्ट्रप्रमुख तहको भ्रमण आफैमा अर्थपूर्ण र महत्वपूर्ण भएको उल्लेख गर्दै पूर्वराजदूत भट्टराईले यस भ्रमणबाट भविष्यमा सहयोगका क्षेत्र विस्तार हुने बताउनुभयो । साथै नेपालले हस्तकलाका वस्तु र गलैचालगायत निर्यातका साथै पर्यटन प्रर्वद्धन गरी उल्लेख्य लाभ जर्मनीबाट लिन सक्ने बताउनुभयो । नेपालबाट जर्मनीमा राष्ट्रप्रमुखको तहमा सन् १९८६ पछि यो भ्रमण पहिलो पटक भएको हो । राष्ट्रपति परराष्ट्रमामिलाविज्ञ डा सुरेशचन्द्र चालिसेले नेपालबाट ३८ वर्षपछि भएको यो भ्रमणले द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वको तेस्रो ठूलो अर्थतन्त्र र युरोपको प्रभावशाली मुलुक जर्मनीको यो भ्रमणले नेपालमा लगानी र व्यापार वृद्धि गर्न टेवा पुग्ने उल्लेख गर्नुभयो । राष्ट्रपतिसँगै भ्रमणमा रहनुभएका डा चालिसेले टेलिफोनमा भन्नुभयो, “जर्मनी नेपालको मुख्य विकास साझेदार मुलुक भएको र द्विपक्षीय सम्बन्धमा हालसम्म कुनै उतारचढाव छैन । सन् २०१५ को भूकम्प र कोभिड–१९ का बेला पनि जर्मन सरकारले उल्लेख्य सहयोग गरेको थियो ।”

नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा विकसित भएको छ ।

दुई देशबीच विभिन्न तहमा हुने भ्रमणले पारस्परिक सम्बन्धलाई थप घनिष्ठ र सौहार्दपूर्ण बनाउन सहयोगी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जर्मनीको लगानी र प्रविधि नेपालमा भित्र्याउन राष्ट्रप्रमुखको तहमा भएको यो भ्रमणबाट सहयोग पुग्नेमा आफू विश्वस्त छौँ । जर्मनीले जलवायु परिवर्तनका असरबाट बच्न अनुकूलनको राम्रो अध्ययन र अभ्यास गरेको छ, यसबाट पनि नेपालले सिक्ने धेरै विषय छन् ।”