५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना



अ+ अ-

म्याग्दी । मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो । सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको गुणस्तर सुधार गर्न भुवाको धुलो र फोहर झार्ने ९डिडस्टिङ० औजार जडान गरिएको बताउनुभयो ।

“किसानले सङ्कलन केन्द्रमा ल्याउने भुवालाई तत्कालै प्रशोधन गरेर काठमाडौँका उद्योगमा पठाउने व्यवस्था मिलाएका हौँ,” उहाँले भन्नुभयो, “काठमाडौँ लगेर भुवा प्रशोधन गर्दा तौल घट्ने र झन्झटिलो थियो । अबदेखि किसानले आफै भुवा प्रशोधन गरेर केन्द्रमा बेच्न सक्छन् ।”

भुवा प्रशोधन गर्ने उपकरणको उद्घाटन आइतबार नेपालका लागि बेलायती राजदूत रब फेनले गर्नुभएको हो । नेपाली च्याङ्ग्राको भुवाबाट उत्पादन हुने पश्मिनालाई फार्मदेखि फेसनसम्मको मूल्यशृङ्खलामा ब्राण्डिङ गर्न प्रशोधन केन्द्रको उपकरणले सहयोग पुग्ने राजदूत फेनले बताउनुभयो । नेपाली पश्मिनालाई बेलायतको बजारमा प्रवद्र्धनका लागि सघाउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

च्याङग्राको भूवा पश्मिनाका लागि ९क० श्रेणीको कच्चापदार्थ हो । भेडा र चौंरीको तुलनामा च्याङ्ग्राको भूवा गुणस्तरीय मानिन्छ । प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन हुने पश्मिनाको माग विश्व बजारमै बढ्दो छ । राम्रो गुणस्तरको पश्मिनाका लागि आकर्षक मूल्य तिर्न खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक किसानले भुवाबाट राम्रो आम्दानी गर्न सक्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो ।

नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ । वार्षिक एक सय ९५ टन पश्मिना बनाउन आवश्यक भूवाको धागो आयात गरिन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भूवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले जानकारी दिनुभयो । सङ्घले मुस्ताङबाट वार्षिक दुई मेट्रिक टन भूवा सङ्कलन गरेर लैजाने गरेको छ ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि च्याङ्ग्राको भुवा बेच्ने गरेका थिएनन् । भुवा निकाले पनि बिक्रिका लागि बजार नपाइने समस्या थियो । नेपाल फाइबर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

बैशाख–जेठ–असार महिना च्याङग्राको शरीरबाट भूवा निकाल्ने याम हो । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले व्यावसायिक च्याङग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तर्गत नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा गुणस्तर परीक्षण गरी मुस्ताङी च्याङग्राको भूवा उपयुक्त भएको पुष्टि गरेको थियो ।

नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष लामिछानेका अनुसार मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणबाट मुस्ताङी च्याङग्राको भूवाको गुणस्तर पश्मिनाको कच्चापदार्थको रुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन सार्वजनिक भइसकेको छ ।

परीक्षणपछि नेपालमा च्याङ्ग्राको भूवा पाइने सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह भएको, च्याङ्ग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको लोमान्थाङका किसान छिरिङ वाङदी गुरुङले बताउनुभयो । रासस




भर्खरै