२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ ।

जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुन:स्थापनाका लागि राज्यको ध्यान पुगेको  छैन ।

पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । विगत १० वर्षयताको तथ्याङ्क हेर्दा एक सय सातवटा पहिरोबाट १६ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता छन् ।

बाढीका कारण पाँचजनाको मृत्यु र १९ जना बेपत्ता भएका तथ्याङ्क छ । विसं २०७० देखि २०८१ असारसम्म सङ्खुवासभामा दर्जनौँ बस्ती विस्थापित भएका छन् । विसं २०८० असार २ गते हेवाखोलामा बाढी आउँदा हाइड्रोपावरमा कार्यतर १७ जना बेपत्ता भएका थिए । त्यस्तैगरी, विसं २०७७ असार २७ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा ११ जना बेपत्ता बनाएको थियो ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा तीनवटै सुरक्षा निकायमा खोज तथा उद्धारका लागि २९ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो ।

यस वर्षको मनसुन गत जेठ २८ गतेदेखि सुरु भएकाले मनसुनबाट हुने क्षतिलाई कम गर्न, तत्काल खोज तथा उद्धार गरी राहत वितरण एवं पुन:स्थापनालाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ७६ वडामध्ये ३६ वडाले बाढीपहिरोको क्षति बेहोर्नु परिरहेको छ ।

गत जेठ ३१ गते आएको अविरल वर्षासँगैको पहिरोले तीन घर बगाएको थियो भने दुई दर्जन बढी घर विस्थापित भएका छन् । खाँदबारी–११ आङ्लास्थित कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिराले बगाएको हो ।

पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ ।  यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्दछ । पानीले सडकमा करिब एक करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ ।

मनसुनजन्य प्रकोपबाट दुईजनाको मृत्यु र छजना बढी घाइते भएका छन् । बाढीपहिरोका कारण तीनवटा पक्की पुलमा क्षति पुर्‍याएको प्रजिअ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत पोलमा क्षति पुगेको छ ।

यही जेठ २१ गते वर्षासँगै आएको बाढीपहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडी समेत पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरण क्षति हुँदा लाखौँ बराबरको भौतिक क्षति भएको प्रजिअ खड्काको भनाइ छ ।

पहिरोले भोटखोला–४ मा निर्माणाधीन पाँच शय्याको अस्पताल र सोही वडाको सेम्बुङमा रिदर ज्याबु भोटे पुरिएको छ । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ । बर्सातको समयमा बाढीपहिराले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छभने बस्तीसमेत बगाउने गरेको छ । रासस