८ श्रावण २०८३, शुक्रबार
,
Latest
ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो



अ+ अ-

खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो ।

वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गर्नुभएको थियो ।

विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले कटान गर्दा खम्बा बाङ्गिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जाराले बताउनुभयो ।

धाप्लाङघाटका स्थानीय दीर्घ मगरका अनुसार खम्बाको माथिल्लो भाग फाट्दै गएको र नदीतिर ढल्किँदै गएको छ, तर सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बाङ्गिएको विषयमा जानकारी नभएको जवाफ दिनुभयो । सुरुमा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का खुलाइएको थियो । शिलान्यास गरेको सात वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो ।

रसुवा एसएनएस पप्पु जेभीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते धाप्लाङघाटमा दुई सय मिटर लम्बाइको पक्की पुल निर्माणको सम्झौता गरेको थियो । म्याद नाघेको पाँच वर्ष बित्दा ठेकेदारले खम्बाको काम पूरा गरेको छैन । खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि धाप्लाङघाटमा पक्की पुल निर्माण नहुँदा झोलुङ्गे पुलको प्रयोग हुँदै आएको छ ।

निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमासमेत प्रश्न उठेको छ । धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोडअनलोड गर्दा किसानले व्ययभार खेपिरहेका छन् । भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुलका साथै धाप्लाङघाटको गरी दुईवटा पुल रु ५० करोड १४ लाख ६० हजार लागतमा सम्पन्न गर्नेगरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो । एकै दिन शिलान्यास गरिएका रानीटार पुलको प्रगति पनि निराशाजनक रहेको स्थानीयबासीले बताएका छन् । रासस




भर्खरै