११ मंसिर २०८१, मंगलवार
,
Latest
कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न परराष्ट्रमन्त्रीको आग्रह जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक:वनमन्त्री शाही सामाजिक सुरक्षा कोषका सञ्चयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न आवश्यकः निजी क्षेत्र नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाइ’ सह-प्रायोजकमा ओमोडा एन्ड जेइको इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर परिवारलाई खबरै नगरी क्यानडाबाट नेपाल आएका थिए माझी दम्पती न्यायको बोर्डमा किन पोतियो कालो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीउ र बजारको अभावले घट्दैछ ओल खेती



अ+ अ-

काठमाडौँ । बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ ।

घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएपनि व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको हो । विभिन्न पौष्टिक तत्वहरुले भरिपूर्ण ओलको खेती गर्न अरू बाली लगाउन जस्तो मेहनत लाग्दैन । न त किरा लाग्ने डर, न मल अभावको चिन्ता । तर बीउ नपाउने समस्याबाट आजित बनेका किसान ओल खेती बिस्तार गर्नबाट वञ्चित भएका हुन् । किसान विद्यानन्द साह र डिल्लीप्रसाद मेहता अरु खेती भन्दा सहज ओल खेतीमा भएपनि बीउ बिजनको अभावका कारण बिस्तारै खेती कम हुँदै गएको बताउनु भयो ।

ओल खेती गर्दा औषधि र कुनै विषादीको पनि प्रयोग गर्न नपर्ने र मेहनत पनि कम लाग्ने बताउनु भयो । ओल भोज भतेरमा तरकारी, अचार बनाएर खाने गरिएको बताउनु भयो । ओलबाट विभिन्न पौष्टिक तत्व पाइने बताउनु भयो । ओल रोप्ने समय भनेको माघदेखि फागुन अन्तिमसम्म हो । माटोमुनि फल्ने कन्दमुलका रूपमा चिनिने ओल वर्षायाम अर्थात असार, साउन र भदौ महिनामा खानयोग्य हुन्छ । ओलले गाउँघरमा वर्षायाममा तरकारीको अभाव टार्ने काम मात्र गर्दैन, स्वाद, सुगन्ध र पौष्टिक गुणले गर्दा ओल एक लोकप्रिय साकाहारी खानेकुरा बनेको छ । तराई समुदायमा परम्परागत भान्सा र व्यञ्जनमा ओलको महत्वपूर्ण स्थान छ ।

परम्परागत तरिकाले सानो क्षेत्रफलमा ओलको खेती गरिरहेका किसानले बीउ नपाउने समस्याले गर्दा यसको खेती बिस्तार गर्न नपाएको गुनासो गरेका छन् । समयमै उत्पादन गर्नसक्दा स्थानीय बजारमा ओलले राम्रो भाउ पाउने थाहा हुँदाहुँदै पनि ओल खेती बिस्तार गर्न नसकेको दुखेसो किसानको छ । किसान रामेश्वर मेहताले ओल खेती लगाउँदा बीउ समयमा नपाउने गरेको बताउनु भयो । सर्लाही जिल्लातिरबाट ल्याएर किसानहरुलाई वितरण गर्ने गरिएको बताउनु भयो । ओल खेती बेमौसमी हुने भएकाले असार, साउन र भदौमा तरकारीको अभाव हुँदा किसानलाई लाभ हुने बताउनु भयो ।

ओलको व्यावसायिक खेतीका लागि पुँजीगत लगानी, प्राविधिक ज्ञान र सीप आवश्यक पर्छ । त्यसबाहेक राम्रो बजार पहुँच र व्यावसायिक योजना पनि महत्वपूर्ण हुन्छन् । तर व्यवस्थित तरिकाले ओल खेती गरेमा यसबाट राम्रो आम्दानी लिन सकिन्छ । यी सबै कुराको ज्ञान किसानलाई दिने गरेको हरिनगर गाउँपालिकाले ओलको बिउ वितरण गरी यसतर्फ आकर्षित गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । तथापि पर्याप्त बीउ नपाएका कारण किसानले चाहेअनुसारको परिमाणमा यसको बीउ बाँड्न नसकेको हरिनगरका कृषि शाखा प्रमुख रमेश न्यौपानेको भनाइ छ । उहाँले किसानहरुलाई ओल वितरण गरेर खेती गर्नेबारेमा तालिम समेत दिइएको बताउनु भयो ।

ओल बलौटे माटोमा ओल उत्पादन राम्रो हुन्छ भने कम्पोष्ट मलले ओलको गानो विकासमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । तथापि भारतमा उत्पादन भएका ओल सुलभ मूल्यमा नेपालका बजारहरूमा भित्रिँदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न कठिन छ । ओल खेती विज्ञ तथा किसान मनोजकुमार सिंहले बजारको समस्या मुख्य चुनौति रहेको बताउनु भयो ।

पहिले–पहिले तराईका विभिन्न स्थानमा ओलखेती गरेर मनग्य आम्दानी गर्ने किसानको संख्या धेरै थियो । तर बीउ भण्डारण गर्न कठिनाइले गर्दा बीउको पर्याप्तता नहुनु र बजार अभावकै कारण पछिल्लो समय ओल खेती गर्नेहरू घटेका छन् । ओल सेवनबारे तराईबासीमा अलि बढी ज्ञान छ । ओल खानका लागि तयार पार्दा सीप चाहिन्छ, जुन सबैमा नहुन पनि सक्छ । यी र यावत कुराहरूले गर्दा ओलको लक्षित बजार भने तराईमै सीमित भएको अनुमान कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहको छ । उहाँले ओल खेती बजारको कमीका कारण फस्टाउन नसकेको बताउनु भयो । उहाँले ओल तराईमा परम्परागत रुपमा खाइरहेकाले मात्रै खाने गरेको बताउनु भयो । मुख्यतया तराईमा अचारको रुपमा ओलको प्रयोग गरिने बताउनु भयो ।

ओल पोषणयुक्त तरकारी हो । पहिले व्यावसायिक तबरले नै कोशी प्रदेशका सुनसरी, मोरङसहित तराईका जिल्लामा गरिने भएपनि अहिले फाट्टफुट्ट रूपमा कतै–कतै मात्र ओलको खेती गरिन्छ । मिठो र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण अहिले पाँचथर, इलामजस्ता पहाडी जिल्लामा पनि ओल लगाउन थालिएको कृषि विकास निर्देशनालयको तथ्यांक छ । तथापि, सुनसरी र मोरङका केही किसानले मात्र व्यावसायिक रूपमा ओल खेती गरिरहेको निर्देशनालयले जनाएको छ । कृषि िवकास निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले ओल खेती व्यवसायिक रुपमा केही समय पहिला सुनसरी र मोरङ लगायतका जिल्लामा गरेको पाइए पनि अहिले केही फाट्टफुट्ट रुपमा मात्रै गर्ने गरेको बताउनु भयो । ओल मिठो र पोषणयुक्त तरकारी रहेको बताउनु भयो ।

कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार कोशी प्रदेशको तीन सय हेक्टर क्षेत्रफलमा ओल खेती गरिएको छ । तर व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा ओल खेती गरेको नपाइएको निर्देशनालयले जानकारी दिएको छ ।