१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

सास्तीमा छन् निसेलढोरवासी

सास्तीमा छन् निसेलढोरवासी
अ अ+ अ-

ढोरपाटन । काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।

बागलुङको निसेलढोर जति प्राकृतिक सुन्दरताले भरिएको छ, त्यति नै यहाँ बस्ने नागरिकको समस्या र सास्तीको दुर्दान्त कथा छ । सामान्यत: निसेलढोरवासीको समस्या कति छन् भन्ने यहाँ पुग्ने धेरैले सहजै अड्कल गर्न सक्दैनन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदूरपश्चिममा रहेको निसेलढोर नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्छ । विकासका हिसाबले निकै पिछडिएको यो ठाउँ पर्यटकीय सम्भावनाको हिसाबले भने अगाडि छ ।

अनेक समस्याका बाबजुद पनि निसेलढोरवासी वर्षौंदेखि यहाँ बस्दै आएका छन् । एक दशक अगाडिसम्म बर्खाको समयमा मात्रै ढोर बस्ने स्थानीय अहिले स्थायी रुपमा बस्दै आएका छन् । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा अधिकांश बासिन्दा निसी गाउँबाटै गएर बसेका छन्् । निसेलढोर लेकमा र निसी गाउँ बेँसीमा पर्छ । दशक अघिसम्म हिउँद बर्खा घुम्ती बसाइँ गर्ने स्थानीय मोटरबाटोले निसेलढोर जोडिएपछि अहिले करिब ६० घर परिवार स्थायी रुपमै यहीँ बस्छन् । बर्खाको समयमा निसी गाउँबाट पशुचौपाया लिएर ढोर उक्लिने हुँदा असारदेखि कात्तिकसम्म केही परिवार मात्रै यहाँ रहन्छन् । एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने हुँदा लेकबेँसी गर्ने गर्छन् ।

परम्परागत खेतीपाती र पशुपालन गर्दै आएका स्थानीय भौतिक पूर्वाधारको विकास र अवसरको पर्खाइमा छन् । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि उत्तरगङ्गा ढोरपाटन हुँदै निसेलढोर सडकले जोडिए पनि हालसम्म निसीखोलाबाट सिधै सडक सञ्जालले भने जोडिन सकेको छैन । निसीखोला र निसेलढोरको बीचमा ठूला–ठूला पहाड रहेको हुँदा सिधा सडक सञ्जालले जोड्न कठिन भएको स्थानीय बताउँछन् ।

विद्युत्को पहुँच अझै पुग्न नसकेको यस गाउँका बासिन्दा दाउरा, दियालो र टुकी बालेर रात कटाउनुपर्ने बाध्यतामा छन् । त्यति मात्रै होइन, स्वास्थ्य, शिक्षा, खानेपानीलगायत आधारभूत विकासको पहुँचसमेत पुग्न नसकेको स्थानीय सम्झना विश्वकर्माले बताउनुभयो । जङ्गलबाट घाँसदाउरा ल्याउन, वस्तुभाउ चराउन र खोलामा माछासमेत मार्न सिकार आरक्षले नदिँदा दैनिकी झनै कष्टकर बनिरहेको उहाँको भनाइ छ ।

वर्षौंदेखि निसेलढोरमै स्थायी रुपमा बस्दै आएको सुनाउने विश्वकर्माले गाउँ सडकले जोडिए पनि नियमित गाडी सञ्चालन नहुँदा सास्ती बेहोर्नु परेको बताउनुभयो । दशक अगाडि खुलेको सडकमा गाडी नचल्दा सामान ढुवानी र यात्रा गर्न निकै कठिन हुने गरेको छ । सडक खुले पनि स्थानीयले अहिलेसम्म ढोरपाटनको भुजी र नबीबाट दैनिक उपभोग्य सामान बोकेरै ल्याउनु परेको छ । हिउँद्मा कहिलेकाहीँ गाडी चले पनि बर्खामा पूर्ण रुपमा ठप्प हुने उहाँको भनाइ छ । विश्वकर्माले भन्नुभयो, “निसेलढोरमा घर जग्गा मात्रै भएर के गर्ने, घाँस दाउराको लागि जङ्गल जानुपर्छ तर जङ्गलमा गएर घाँस दाउरा गर्दा सिकार आरक्षले ल्याउन दिँदैन, निउरो, च्याउ, अरू जङ्गली तरकारीहरु पनि ल्याउन दिँदैन, यहाँ फल्न आलु, सिमी, स्याउ हो, त्यसले मात्रै वर्ष दिन पुग्दैन ।”

स्थानीय बलहादुर घर्ती मगरले देशमा शासन व्यवस्थाका हिसाबले ठूलो परिवर्तन भए पनि यहाँका स्थानीयले अहिलेसम्म विकासको अनुभूति गर्न नपाएको सुनाउनुभयो । अहिले गाउँमा सबैभन्दा बढी आवश्यक विद्युत्को भएको उहाँको भनाइ छ । यो ठाउँ पर्यटकका लागि निकै आकर्षक रहेको र बेला–बेला आन्तरिक पर्यटक पुग्ने तर बिजुलीको सुविधा नहुँदा बास नबसी फकर्ने गरेका छन् । घर्ती मगरले भन्नुभयो, “तल बेँसी ९निसी गाउँ०बाट मोबाइल चार्ज गरेर ल्यायो भने दुई दिनसम्म चल्छ, त्यसपछि बन्द हुन्छ, आफन्तसँग कुराकानी पनि गर्न पाइँदैन, रातिमा दियालो बाल्छौँ, त्यही पनि वनबाट ल्याउन दिँदैनन् ।”

निसेलढोरवासीले सामान्य विकासको महसुस समेत गर्न पाएका छैनन् । यहाँ कक्षा ५ सम्मको पढाइ हुन्छ तर विद्यालयको अवस्था भने निकै नाजुक छ । गाउँको विद्यालयमा कक्षा पाँचभन्दा माथिको पढाइ नहुँदा धेरै बालबालिकाले त्यसभन्दा माथिल्लो तहको अध्ययन गर्न वञ्चित भएको स्थानीय कुँडेढोर प्राथमिक विद्यालयका शिक्षक रुद्रबहादुर विकले बताउनुभयो । प्राथमिक तहभन्दा माथिको अध्ययनका लागि धेरै टाढा जानु पर्ने हुँदा धेरै बालबालिकाले विद्यालय छोड्ने र सानै उमेरमा विवाह गर्ने गरेको उहाँको भनाइ छ । गाउँमा पाँच उत्तीर्णपछि त्यसभन्दा माथिल्लो तहको अध्ययनका लागि ढोरपाटन नगरपालिकाको बोबाङ, निसीखोलाको ज्ञानेन्द्र मावि र बुर्तिबाङ जानु पर्ने बाध्यता छ । ती विद्यालयमा पुग्न एक दिनभन्दा बढी समय लाग्छ ।

निसेलढोर आलु, स्याउ र सिमी उत्पादनका लागि प्रख्यात भए पनि बजारीकरणमा भने समस्या छ । यहाँको नजिकको मुख्य बजार बुर्तिबाङ हो । किसानले उत्पादन गरेको वस्तु बोकेर बजार पुर्‍याउन एक दिनभन्दा बढी लाग्छ । निसेलढोरवासीको मुख्य आम्दानीको स्रोत पशुपालन र कृषि नै हो । सडकको सहज पहुँच नहुँदा जीवन निर्वाहमा समस्या हुने स्थानीय प्रेमकुमारी घर्ती मगर बताउनुहुन्छ । यहाँका अधिकांश स्थानीयले आलु बेचेरै जीवन धान्दै आएको उहाँको भनाइ छ । एकै परिवारले एक सय मुरीसम्म आलु उत्पादन गरे पनि बजार पुर्‍याउन नसकिएको घर्तीले गुनासो गर्नुभयो ।

“गाउँका धेरै मान्छेले बारीमै काम गर्छन्, यहाँ त्यो बाहेक अरु केही रोजगार छैन, पहिले–पहिले धेरै मान्छेहरु निसीमा बस्थे, यहाँ थोरै मात्रै हुन्थे, सडक गाउँमा आयो भनेर धेरै यतै बस्न थाले तर अहिले सडक आएको खासै उपलब्धि भएन” घर्तीले भन्नुभयो– “यो त पर्यटकीय ठाउँ पनि हो, बेला–बेला स्वदेशी र विदेशी पर्यटक आउँछन्, तर बाटोको खराब अवस्था देखेर अर्को पटक आउँदैनन् ।”

निसेलढोरमा अझ बढी समस्या त स्वास्थ्यमा छ । नागरिकको स्वास्थ्य उपचारका लागि भन्दै निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर एक जना अनमी राखेको छ । एक जना अनमीले गाउँका बिरामीलाई सामान्य औषधि दिए पनि उपचारका लागि बुर्तीबाङ बजारमै झर्नु पर्ने अवस्था छ । निसेलढोरबाट बुर्तिबाङ बजार आउनका लागि हिँडेर करिब आठ घण्टा लाग्छ भने गाडीमा चार घण्टा लाग्छ ।

गाउँमा गतिलो अस्पताल नहुँदा कतिले अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनु परेको स्थानीय खिमकुमारी विकले बताउनुहुन्छ । गाउँको सामुदायिक स्वास्थ्य इकाइ व्यवस्थित नभएको उहाँको भनाइ छ । खिमकुमारीले भन्नुभयो– “पोहोरसम्म गाउँमा कुनै पनि उपचार गर्ने ठाउँ थिएन, अहिले गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई सुरु गरेको छ, सामान्य घाउ चोटपटक लाग्यो भने सामान्य औषधि र उपचार हुन्छ ।” अलि ठूलो बिरामी भए बुर्तिबाङ, पोखरा काठमाडौँ जानु पर्ने अवस्था छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले निसेलढोर भौगोलिक हिसाबले विकट हुँदा विकासमा पछाडि परेको बताउनुभयो । गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म विकास गर्ने प्रयास गरेको उहाँको भनाइ छ । ठूलो बजेट लाग्ने हुँदा अहिलेसम्म निसीखोलादेखि सिधा सडक सञ्जालले जोड्न नसकेको अध्यक्ष घर्ती मगरको भनाइ छ । यस ठाउँको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग पनि सहकार्य गर्ने उहाँले बताउनुभयो ।

पालिकाको बजेट सीमित हुने हुँदा चाहेर पनि निसेलढोरको विकास गर्न नसकिएको उहाँ स्वीकार गर्नुहुन्छ । “पहिलेदेखि नै यो ठाउँमा राज्यको नजर पर्न सकेन, पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको छ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो– “शिकार आरक्ष पनि यही क्षेत्रमा पर्ने हुँदा बेलाबेला बाह्य पर्यटकको आगमन हुन्छ, उनीहरुलाई थप आकर्षित गर्नका लागि धेरै काम गर्नु पर्ने हुन्छ, यसको विकासको लागि केन्द्र सरकारको प्राथमिकतामा पर्नुपर्छ, तीनै तहको सरकारबाट लगानी गर्न सकियो भने भविष्यमा यो क्षेत्र देशकै नमूना बन्नेछ ।”रासस