काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सभामुख जस्तो व्यक्ति किर्ते कामको साक्षी बसेको आरोप लगाएका छन् । उनले सभामुख अग्नि सापकोटाले संसद सचिवालयमा प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्तावका विषयमा झुठ बोलेको बताए ।
अनेरास्ववियूको बृहत कार्यकर्ता भेलालाई आज राजधानीमा सम्बोधन गर्दै उनले आफूले विहानै साढे १० बजे नै संसद विघटनको प्रस्ताव गरेको तर पनि केही सांसदहरु दिउँसो ३ बजे पुगेका बताए ।
तर पनि उनीहरु बिहान साढे १० बजे नै सो प्रस्ताव दर्ता गर्न पुगेका दाबी गरेर झुठ बोलेको बताए । प्रधानमन्त्रीले भने- मलाई त लाजै लागेको छ कि संसदीय इतिहासमै यो लज्जाको विषय हो, सभामुखले नै यस्तो झुठ बोलेका छन् ।
अविश्वासको प्रस्तावका लागि ठूलो जालझेल भएको र प्रधानमन्त्रीलाई हटाएपछि त्यसपछि धेरै ठूलो उपद्रो मच्चाउने र त्यसबाट लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने खेल भएको उनले बताए ।
उनले पार्टीलाई एकीकृत गर्न, सरकारलाई सहयोग गर्न होइन कि ३१५ बैठक त पार्टी फुटाउन बसेका पनि आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीले तिनै षड्यन्त्रकारीहरुले नै निर्वाचन नहुने भ्रम छर्ने गरेको बताए । उनले भने केही शक्ति भ्रम ल्याउन खेजिरहेका छन्, भ्रममा नपर्नु बैशाख १७ र २७ मा निर्बाचन हुन्छ ।











