• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

विद्यार्थी भिसामा अस्ट्रेलियाको थप कडाइ



काठमाडौं । धेरै नेपाली विद्यार्थीको गन्तव्य बन्दै आएको अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ ।

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले आगमी जुलाई एक देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । यो व्यवस्था लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अस्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।

विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्यले यस्तो प्रावधान राखिएको बताइएको छ । गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।

त्यस्तै, ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुन: विद्यार्थी भिसामा नै अस्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् । यसलाई गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनकै शृङ्खलाको रूपमा व्याख्या गरिएको छ ।

आगन्तुक भिसा र अस्थायी स्नातक भिसा (दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५) मा रहेकाहरूले अबदेखि अनसोर (अस्ट्रेलिया भित्रैबाट) विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन् । यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुन: विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् ।

कोभिड महामारीपछि विदेशी विद्यार्थी धेरै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अस्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो ।

हाल अस्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन् ।