• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

मिचेल मार्शको छक्काले पुर्यायो नोक्शान, सोलार प्यानलनै फुटेपछि…



एजेन्सी । अष्ट्रेलियाका कप्तान मिचेल मार्सले टी–२० विश्वकप २०२४ मा छक्का प्रहार गरेर ठूलो क्षति पुर्याएका छन् ।

मार्सको छक्काले स्टेडियममा जडान गरिएको सोलार प्यानलमा क्षति पुर्याएको हो । बार्बाडोसको केन्सिङ्टन ओभलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच टी–२० विश्वकपको १७ औं खेल खेलिएको थियो । यो खेलमा मार्सको छक्काले ठूलो क्षति पुर्याएको थियो, जसको भिडियो पनि सार्वजनिक भएको छ ।

आईसीसीले मार्सको यो छक्काको भिडियो आधिकारिक सामाजिक सञ्जालमार्फत शेयर गरेको छ । भिडियोमा मार्सले ठूलो प्रहारका साथ छक्का हानेका छन् र बल स्टेडियमको स्ट्यान्डको छतमा जडान गरिएको सोलार प्यानलमा पुगेको देख्न सकिन्छ ।

सोलार प्यानल बलले लाग्नेबित्तिकै फुट्छ । यस भिडियोको क्याप्शनमा आईसीसीले लेख्यो, ‘मिचेल मार्शले केन्सिङ्टन ओभलमा छाप छोडे ।’

मार्सले पहिलो इनिङ्सको ९ औं ओभरको पाँचौं बलमा इङ्लिस स्पिनर आदिल राशिदलाई छक्का प्रहार गरेका थिए । मार्स राम्रो लयमा देखिएका छन् । इंग्ल्याण्ड विरुद्धको खेलमा उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३५ रनको पारी खेलेका थिए ।

अष्ट्रेलियाले इंग्ल्यान्डलाई ठूलो स्कोर बनाएर पराजित गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । यो विश्वकपमा २०० वा सोभन्दा बढीको पहिलो स्कोर थियो ।

कङ्गारु टोलीलाई ठूलो स्कोर बनाउन धेरै खेलाडीहरूले योगदान दिए, जसमा डेभिड वार्नरले १६ बलमा २ चौका र ४ छक्काको मद्दतमा ३९ रनको सबैभन्दा ठूलो इनिङ खेले ।

त्यसपछि लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो । टोलीका लागि कप्तान जोस बटलरले २८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४२ रनको सबैभन्दा ठूलो इनिङ खेले । तर, उनको इनिङ्सले टोलीलाई जित दिलाउन सकेन ।