• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र



गोलबजार । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ ।

निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माणको काम अलपत्र परेको हो । वडा नं १ स्थित रु ११ करोड ५८ लाख आठ सय १२ भ्याटसहितको लागतमा विसं २०७८ असार २० गते भएको सम्झौतामा ३६ महिनाभित्र काम सम्पन्न गर्नेगरी रौता अनसुमन जेभी काठमाडौँले ठेक्का पाएको थियो ।

भवन निर्माण गर्न दुई महिना मात्र समय बाँकी रहे पनि ठेकेदार निर्माणको काम अगाडि नबढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताउनुभयो ।

सो भवन ‘अण्डर ग्राउन्ड’ सहित पाँचतले निर्माण हुने पूर्ण अपाङ्गतामैत्री, पर्याप्त शौचालय सुविधाको एकीकृतरुपमा सेवा दिने आधुनिक प्रशासकीय भवन हुने गाउँपालिकाले जनाएको छ । भवनमा सेवाग्राहीका लागि डिपिआरमा लिफ्टको उल्लेख रहे पनि सोका लागि रकम गाउँपालिकाले छुट्याएको छैन ।

भवन निर्माणको काम अलपत्र छाडेको ठेकेदार कम्पनीले पेश्की रकमसहित रु तीन करोड पाँच लाख २० हजार बुझेको गाउँपालिकाका इञ्जिनियर प्रविन भक्तले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि निर्माणको काम अगाडि बढाउन कुनै चासो नदेखाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रशासनिक भवनको ३५ प्रतिशत भौतिक प्रगति रहेको छ । गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले ठेकदारलाई काम अगाडि बढाउन बाँकी रकम भुक्तानी गर्ने बताउनुभयो ।

गाउँपालिकाको आफ्नै भवन नभए पनि साविक भगवानपुर गाविस भवनबाट गाउँपालिकाको काम सञ्चालन गरिँदै आएको छ । केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक रु २६ लाख घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ ।