• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन: सोमपाल कामी



अमेरिका । खराब ब्याटिङ गरेपछि नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा शुरु गरेको छ ।

अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सबिरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित हुन पुग्यो । नेपाली समर्थक ग्रान्ड पेरी रंगशालामा पूर्ण भरिभराउ रहँदा टियु क्रिकेट मैदानकै अनुभूति भएको थियो । तर ती दर्शकले जितको खुशी भने लिन पाएनन् र सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद् बन्न सकेन । दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

‘यो हारबाट दबाबमा छैनौं । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं । सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं । आज हार व्यहोर्‍यौं । तर आगामी तीन खेलमा राम्रो गर्नेछौं,’तिब्र गतिका बलर सोमपालले भन्नुभयो ।

टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्याण्ड्सको निर्णय सही सावित भयो । किनकी नेपालले शुरुदेखि नै ब्याटिङमा निकै संघर्ष गर्नुपर्‍यो । एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नेपाल थिएन ।

तर कप्तान रोहितकुमार पौडेल र तल्लो क्रमका ब्याटरले ससाना इनिङ खेलेपछि नेपालले १०७ रनको सामान्य लक्ष्य दियो । जबाफी लक्ष्य पछ्याएको डचविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए । तर सफल हुन भने सकेनन् । डच टोली पनि सहजै लक्ष्य भेट्याउन सफल भएनन् । त्यो लक्ष्य पूरा गर्न नेदरल्याण्ड्सले १८.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्‍यो । डच ब्याटरले पनि शुरुदेखि दबाब सामना गरे । तर धैर्यपूर्वक खेल्दै सहजै विकेट दिएनन् । दोस्रो ओभरमै नेपालले ब्रेक थ्रु पाएको थियो ।

तिब्र गतिका बलर सोमपालले ओपनर माइकल लेभितलाई १ रनमै आउट गर्दै राम्रो शुरुवात दिलाए । तर अर्का ओपनर म्याक्स ओ डाउडले इनिङ समाल्दै ८ बल अगावै जित सुरक्षित गराए । उनी ५४ रनमा अविजित रहे । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । विक्रमजित सिंहले २२ रन, साइब्रान्ड एङ्गलब्राक्टले १४ रन र बास डी लिडले ११ रन जोडेपछि नेदरल्याण्ड्सको जित सहज बन्यो । बलिङतर्पm सोमपालसँगै दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान एक विकेट लिए । सोमपालले चार ओभरमा १८ रन मात्र दिए ।

अलराउण्ड प्रदर्शन गरेका करण केसीसँगै दीपेन्द्र र स्पिनर सागर ढकालले पनि किफायती बलिङ गरे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनमै समेटिन पुग्यो । २१ वर्षे युवा स्पिनर टिमोथी प्रिङ्गल शिर्ष क्रमका तीन ब्याटर आसिफ सेख, अनिल साह र कप्तान रोहितलाई आउट गरे । आसिफ ४ रन, अनिल ११ रन, रोहित ३५ रनमा पभेलियन फर्किए । नेपालका लागि सर्वाधिक रनकर्ता रोहित १६औं ओभरमा सातौं विकेटका रूपमा आउट भएका हुन् । महत्वपूर्ण विकेट लिएका टिमोथी न्युजिल्याण्ड यु–१९ टोलीबाट खेलिसकेका खेलाडी हुन् ।

उनी म्यान अफ दी म्याचसमेत भए । चार ओभरमा उनले तीन विकेट लिँदै २० रन मात्र दिए । त्यसअघि नेपालले पावर प्लेमा नै दुई विकेट गुमाउँदा २९ रन जोड्यो । युवा अलराउण्डर कुशल मल्ल र एसोसिएटकै उत्कृष्ट अलराण्डर दीपेन्द्र खराब सट खेलेर आउट भए । कुशल ९ रन र दीपेन्द्र १ रनमै पभेलियन फर्किए । अनुभवी सोमपाललाई ब्याटिङ क्रममा प्रमोसन गरिएको थियो । तर त्यो निर्णय पनि सही साबित हुन सकेन । उनले खाता नै खोल्न सकेनन । त्यसपछि रोहित पनि आउट भए र १८औं ओभर सकिँदा नेपाल ९७/७ को नाजुक अवस्थामा पुग्यो ।

तर,तल्लो क्रमका गुल्सन झाले ११ रन र करणले १७ रन खेल्दै नेपालको इनिङ सय रन पार गराए । करणले दुई छक्का र गुल्सनले एक छक्का प्रहार गरे । नेदरल्याण्ड्सको बलिङमा लोगन भान भिकले तीन विकेट तथा पउल भान र डी लिडले समान दुई विकेट लिँदै सस्तैमा नेपालको इनिङ रोके । —न्युज एजेन्सी नेपाल

फोटो- क्यान