प्रा. डा. तुलसीराम वैद्य
पच्चासभन्दा बढी राज्यहरूमा विभाजित भएको नेपाल देशलाई एकीकरण गर्दै बृहत् नेपाल राष्ट्र निर्माण र स्थापना गर्ने महान् कार्यको थालनी गरेकोमा हामी सारा नेपाली सगौरव पृथ्वीनारायण शाहलाई यसको श्रेय दिँदैछौँ । पौष २७ गतेलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मनाउँदैछौँ । यो कार्य हाम्रो महत्वपूर्ण कर्तव्य र धर्म हो । यस्ता महान् व्यक्ति पृथ्वीनारायण शाहलाई यस्तो पवित्र कार्य–एकीकरण गर्दै बृहत् नेपाल राष्ट्र श्रृजना गर्ने कार्यको थालनी गर्ने विचार केबाट अभिप्रेरित भयो ? निर्माण गर्दै गरेको राष्ट्र विभाजन गराउने दुष्प्रयास अन्त र नवनिर्मित राष्ट्रलाई सबल तथा शक्तिशाली बनाउन प्रशासनिक, राजनैतिक, आर्थिक, सामाजिक आदि पक्षहरूलाई पृथ्वीनारायण शाहकै दिव्योपदेशको आधारमा एक छोटो लेख प्रस्तुत गरेको छु । विश्वास गर्दछु कि विद्वान् पाठकवृन्दहरूले यस लेखलाई आत्मसात् गर्नुहुनेछ ।
नेपाल राष्ट्रको इतिहास एक अति गौरवमय गाथा हो । यो देश प्राचीनकालदेखि निरन्तररूपमा एक सार्वभौमसत्ता सम्प; स्वतन्त्र राष्ट्रको रूपमा रहेको छ । यस गौरवशाली राज्यको अर्काे विशेषता हो प्राचीनकालमा पनि यस राज्यको आकारको क्षेत्रफल अहिलेको बराबर थियो । यसलाई पुष्टि गर्ने भएको तात्कालिक ऐतिहासिक स्रोतहरू–भारतको मगध साम्राज्यका सम्राट् समुद्र गुप्त (सन् ३३५–७५६) को इलाहवादस्थित स्तम्भ आदि लेखमा नेपालराज्य पूर्व कामरूप (आसाम, सिकिम, भुटान) र पश्चिम कर्तृपुर (कुमाऊँ) को बीचमा रहेको उल्लेख छ । यो हाम्रो राष्ट्रको गौरवमय तथ्य हो । त्यस्तै ६३६ ई. सं. मा भारतमा आएका प्रसिद्ध विद्वान् चीनिया यात्री हुएन साङ्कले पनि नेपाल राष्ट्रको घेरा ४००० लि. अर्थात् १३०० माइल रहेको वर्णन लेखेबाट पनि नेपालराज्यको क्षेत्रफल अहिलेको नै बराबर थियो ।
यसप्रकारको नेपालराज्य पूर्वमध्यकालदेखि राजनैतिकरूपमा विभाजित हुँदै अनेक स–साना राज्यहरू स्थापित हुँदै गए । गोरखामा पृथ्वीनारायण शाहले राज्यारोहण गर्दा वि. सं. १७९९ मा नेपाल देशमा सुदूर पश्चिमको महाकाली नदीदेखि पूर्व भेरी नदीसम्ममा बाइसीराज्यहरू, पश्चिम भेरी नदीदेखि पूर्व त्रिशूली नदीसम्ममा चौबीसीराज्यहरू, त्रिशूलीदेखि दूधकोशीसम्मका पहाडी क्षेत्र तीन नेवार मल्लहरूको राज्यहरू, दूधकोशी पूर्व मेचीसम्म पहाडी इलाकामा सेनराज्य, मकवानपुर, विजयपुर र चौदण्डी आदि थिए । किरात क्षेत्रमा सकृय, शक्तिशाली र महत्वाकाङ्क्षी व्यक्तिहरू पूर्वी सेन राज्यहरू– चौदण्डी र विजयपुरमा शक्तिशाली पदाधिकारीहरू भई रहे । ती बाइसीराज्यहरूमा समाल, कल्याय आदि राजवंशहरूको दबदबा थियो भने चौबीसीराज्यहरू शाह, सेन आदि शक्तिशाली थिए । ती विभिन्न राजपरिवारका कुनै पनि सदस्य (राजा) ले नेपाल एकीकरण गर्ने सोच देखाएनन् । तिनीहरूले आफ्नो राज्यलाई संयुक्त परिवारका सदस्यहरूको व्यक्तिगत सम्पत्तिजस्तै सम्झेर दाजुभाइहरूमा अंशबण्डा बाँडेझैं राज्यलाई विभाजन गरी बाँडेका थिए । त्यसबाट नेपाल राष्ट्र निर्माण भन्ने कुरा अर्थात् एकीकरण गर्ने भन्ने सोचाई कसैमा भएन ।
त्यस्तो समयमा गोरखाराज्यमा पौष २७, वि. सं. १७७९ मा रानी कौशल्यावतीबाट पृथ्वीनारायण शाहको जन्म भयो । त्यो घटना नेपाल राष्ट्रको अति महत्वपूर्ण फलदायी हुन गयो । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको जन्म हुनु हामी सबै नेपालीको ठूलाे भाग्य हो । यस दिन पौष २७ गते राष्ट्रिय पर्व भनी गौरवसाथ मान्नु पर्दछ । त्यसबेला गोरखाराज्य भनेको चौबीसीराज्य समूहका शाहवंशी राजपरिवारको कान्छो राज्य, आर्थिक दृष्टिकोणले विपन्न सामाजिक दृष्टिकोणले सम्बद्ध परिवारले तिरस्कृत र राजनैतिक पक्षबाट पनि कमजोर थियो । त्यस्तो परिस्थितिका राजा पृथ्वीनारायण शाहले जुन कार्य अति लगनशील, सकृय, बहादुरी साथ अगाडि बढाए, त्यसबाट नेपाल राष्ट्रको निर्माण हुन गयो । माथि उल्लेख गरेझैं बाइसी, चौबीसी, नेवार मल्ल राज्यहरू र पूर्वी सेनराज्य यथावत् रहेको भए कहिले पनि नेपाल राष्ट्र निर्माण हुने थिएन । तात्कालिक भुरे राज्यहरूको पारिवारिक विवाद, राजनैतिक, सामाजिक, आर्थिक कारणले बृहत् नेपाल राष्ट्र निर्माण हुने थिएन । हामी “सगौरव नेपाली नागरिक हौँ” भन्न पाउने नै थिएनौँ । त्यस समयमा बृहत् भारत त क्रमिकरूपमा ब्रिटिश साम्राज्यको उपनिवेश हुन पुग्यो । भारतको समानान्तररूपमा तात्कालिक सानो नेपाल (भौगोलिक रूपमा) त्यो पनि पचासभन्दा बढी राज्यहरू रहेको क्षेत्र स्वतन्त्र रूपमा रहन सक्दथ्यो होला ? हामी नेपालीको ठूलाे भाग्य हो, त्यसबेला राजनैतिक, प्रशासनिक, मानवीयरूपमा दूरदर्शी पृथ्वीनारायण शाहले राजा भई नेपाल राष्ट्र निर्माण कार्य अति लगनशील भई राज्यारोहणपछि आमरणकालसम्म लागिरहे । उनका सन्तान र अन्य नेपाली शासकहरू पनि लागि रहँदा कुनै समय बृहत् नेपालको क्षेत्र पूर्वमा टिष्टा नदी र पश्चिममा सतलज नदीसम्म पुग्यो । सन् १०६० पछि वर्तमान नेपालको आकारमा नेपाल राष्ट्र रहन पुग्यो । यसप्रकार नेपाल राष्ट्र निर्माण कार्यमा संलग्न भई योगदान दिएका महान् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको बारेमा केही पक्षहरू प्रस्तुत गर्ने प्रयास गरेको छु ।
पृथ्वीनारायण शाहलाई काठमाडौँ उपत्यका, दिव्योपदेशअनुसार नेपालमाथि विजय गर्ने विचार (जसबाट नेपाल राष्ट्र निर्माण कार्यको थालनी भयो) कसरी थालनी भयो भन्ने तथ्य विवरण यसप्रकार उल्लेख भएको छ– “मेरो विवाह मकवानपुरमा भयाएको थियो. डोला सुम्पेको थियन र डोला पनि लैयाउ. नेपाल (काठमाडौँ उपत्यका) पनि देषि आउ भनि मकवानपुर गञु र पुग्य पछि दिक्बन्धन सेनलाई यवटा कुराको करेउलि लियेर भने यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला दि; भन्या तरबार काढि तरवारसित पनि लैजाला भनि हाक पारि” ।
“नेपाले राजाले चिन्नन् र पक्रनन् भनि स्याषु वढि रापतिका तिरैतिर भानु जैसि, कुलानन्द जैसि अरू थरघर पनि साथमा थिया. चन्डागिरिमा आई पुग्यापछि नेपाल कुन् हो भनी सुध्याञा र त्यो भादगाउ हो. त्यो पाटन् हो. त्यो काठमाडौँ हो भनि देषा(या) र मेरा मनमा इ तिनै सहरको राजा हुन पाया ता हुदो हो भन्ने यस्तो मनमा परि रहेथ्यो. उस्तै वेलामा उ दुवै जैसिले भने. हजुरको मनकान्छया अविलाष् पुग्ला महाराजा भन्या ……. ”
माथि उद्धृत वाक्यहरूबाट पृथ्वीनारायण शाहमा गोरखाराज्य विस्तार गर्ने आकाङ्क्षा पलाएका तथ्यपूर्ण वर्णन प्रस्तुत भएको छ । अझ त्यस्ता आकाङ्क्षालाई वास्तविकतामा परिवर्तन गर्न अर्थात् तीन शहर विजय गर्ने योजनाको थालनीका लागि आफ्ना विश्वासी पदाधिकारीसँग पहिलो छलफलको वर्णन पनि ‘दिव्योपदेश’मा यसरी उल्लेख भएको छ–
“चेप्याको षावा लिग्लीग्को आड गरि राषेका मेरा तिन विर छन्. तिनलाई बोलाहटको रुक्का लेषन जैसि भन्दा तिनको नाउँ के के हो भनि सुध्याया र रणजित् बस्न्यात् मानसिं रोकाहा विरभद्र पाठक मैधिभा रातदिन गरि आइपुक भनि लेषी पठाञा र आइपुगे र तिनछेउ एकान्त गर्या (र) भने दिकबन्द सेनसित हाक दि आञा. नेपाल पनि देषि आञा. हान्नाको मनसुबा पनि राषी आञा. तिमीहरू क्या भन्छौ भनि मैले भन्दा हान्नु हवस् महाराजा भनेर सल्लाह दिया र मैले भने म जसै अर्काको छत्र भङ्क गर्न जांछु. मेरो छत्रभंग गर्न अर्काे आयो भन्या कसो होला भनि मैले भन्दा हजूरका हातिहनुवा ई बाइस् चौबिसि आयो भन्या चेप्यामा रगतको नदि बहाउला माहाराजा भन्या र यकान्तबाट उठि गोरखा गयउ” ।
पृथ्वीनारायणकै शब्दमा नेपाल राष्ट्र निर्माण कार्यका लागि भएको यो पहिलो छलफल हो । यसप्रकार सम्बद्ध अनेक पदाधिकारीहरू व्यक्तिहरू आदिसँग छलफल गर्दै राष्ट्र निर्माण कार्य सन् १७४३ देखि आफ्नो जीवनको अन्तकालसम्ममा अर्थात् सन् १७७५ मा गोरखाराज्यको क्षेत्र पश्चिममा चेपे, मर्स्याङ्दी नदीदेखि पूर्व टिष्टा नदीसम्म फैलियो । यो अति सराहनीय कार्य हो । यस्तो कार्य गर्दा धेरैले दुःख, कष्ट सहनुपर्यो । पृथ्वीनारायण शाह आफैं पनि झण्डै मारिएका थिए । उनका भाइ शूरप्रताप शाहले एउटा आँखा गुमाउनुपर्यो । काजी कालु पाँडेलगायत कैयौँको ज्यान गयो तथापि नेपाल राष्ट्र निर्माण कार्य अघि बढ्दै गयो । चन्द्रागिरि पहाडबाट काठमाडौँ उपत्यकाका तीन शहर हेरेर पृथ्वीनारायण शाहले थालनी गरेको कार्य सफल हुँदै गयो । यो कार्यले नेपाल राष्ट्र एकीकरण र निर्माणको प्रारम्भ भयो ।
अनेक युद्धस्थलमा आफैं पनि सकृय भई राष्ट्र निर्माण वा नेपाल एकीकरण कार्य अगाडि बढ्दै गइरहेको समय उनका भाइहरू– कीर्तिमहोद्दाम शाह, दलमर्दन शाह र शूरप्रताप शाहले विजित क्षेत्र दाजु र भाइहरूमा बाँडेर लिनको लागि कुरा चलाए । उनीहरूको सोचाई बाइसी र चौबीसी, मल्लराज्यहरूमा छोरालाई राज्य विभाजन गरी अंशबण्डा दिएजस्तै गरी आफूहरू पनि त्यस्तै प्रकार गोरखाली विजित क्षेत्र विभाजन गरी उनीहरूले पनि एकएक क्षेत्रको राजा बन्ने आकाङक्षा राखेका थिए । सबै मिली कार्य गर्दै सफल भएपछि श्रीसम्पत्ति बाँडीचुँडी लिने सोचाई राखे । राष्ट्र निर्माण गर्ने कार्य भनेको सम्पत्ति आर्जन गरेको जस्तो होइन । यही सोचाई राखेर पृथ्वीनारायण शाहले एकीकृत गर्दै अगाडि बढाइरहेको राज्य विभाजन नगर्ने दृढसङ्गल्प गरी आफ्ना भाइहरूलाई सम्झाउने कार्यहरू गर्नुका साथै आखिरमा धम्कीहरू पनि दिए । भाइहरू त्रसित भई अन्त विभिन्न ठाउँमा बस्न गए । जस्तै– कीर्तिमहोद्दाम शाह कास्कीमा गए, दलमर्दन शाह तराईको कटहर वनमा गए र शूरप्रताप शाह पाल्पामा बस्न गए । पृथ्वीनारायण शाहले एकीकृत नेपाल राष्ट्र बचाउन भाइहरूलाई उपयुक्त नसिहत दिएको अति उपयुक्त हो जसले गर्दा आज हामी गौरवका साथ “हामी नेपाली हौँ” भन्न पाइरहेका छौँ ।
माथि उल्लिखित पक्षहरूबाहेक पृथ्वीनारायण शाहद्वारा एक अति कुशल, दूरदर्शी, सफल राजनीतिज्ञको रूपमा दिइएका उपदेशहरू कालजयी छन् जुन अहिलेको नेपाल राष्ट्रलाई पनि अति उपयुक्त छन् ।
पृथ्वीनारायण शाहले ‘काजी’ कसलाई बनाऊँ भन्ने बारेमा सोचेका थिए । उनको इच्छा विराज बषेतीलाई काजी बनाउने थियो तर उनले आफ्नो इच्छा प्रकट नगरी गोरखाका आमजनता र छिमेकी राज्यहरूसँग सल्लाह मागेको तथ्य दिव्योपदेशमा यसप्रकार उल्लेख गरिएको छः
“दुनिञा जस्देषी राजि रहन्छन्. उसैलाई कजाई दिनु भन्ने सास्त्रमा पनि कहेको छ. दुनियामा बुझिहेरुं भनि बुझिहेर्दा दुनिञाबाट पनि कालु पाडेको चाहा रहेछ र कालु पाडेलाई कजाई दिनुभया हामी दुनिञादारमा छाहारि रहदो हो भन्न्या सल्लाहा दिया र अब बाईसि चौबिसिले क्या भन्छन् भनि बुझ्नु हुदा बाईसि चौबिसिबाट पनि कालु पाडेकै चहा रहेछ र कालु पाडेलाई कजाञि भया घाहाघराईस् बलियो राषन्यैछ भन्ने सल्लाहा दिया. मेरा मनमा ता विराज बषेतिलाई कजाई दिन आटेको थियो” । यसबाट पनि पृथ्वीनारायण शाहमा प्रजातान्त्रिकपद्धतिमा अगाडि बढ्ने दृढसङ्कल्प रहेको पुष्टि हुन्छ । विराजको भन्दा ज्यादा बुद्धि कालु पाडेकÓ ठह¥यो र कजाई भएको प्रष्ट छ ।
पृथ्वीनारायण शाह अठारौँ शताब्दीका राजा भए पनि अहिलेको दृष्टिकोणबाट प्रजातान्त्रिक विचारका शासक थिए । त्यसैले कालु पाँडेलाई काजी (अहिलेको प्रधानमन्त्री) पद दिन स्वदेशमा आफ्ना जनता र छिमेकी राज्यहरूको राय लिएका थिए । यस्तो विचारलाई हामी प्रजातान्त्रिक विचार भन्छौँ । पृथ्वीनारायण शाहको त्यस्तो कार्य प्रशंसनीय हो ।
पृथ्वीनारायण शाहको परराष्ट्रनीति सम्बन्धी विचार–
“यो राजे दुई ढुंगाको तरूल जस्तो रहेछ” अति परिपक्व र तथ्यपूर्ण रहेको छ । नेपालराज्य दुई ठूला शक्तिशाली देशहरू– (उत्तरमा चीन र दक्षिणमा भारत–तात्कालिकमा अङ्ग्रेज साम्राज्य)को बीचमा रहेको एक सानो राज्य थियो । यस्तै अवस्थितिका १९ औँ शताब्दीको राज्य अफगानिस्तानका शासक अब्दुल रहेमानले पनि आफ्नो राज्यलाई “दुई फलामी भाँडाहरूको बीचमा रहेको माटाको भाँडा” भनेका थिए । फलामी भाँडाहरू भनेको रूस र ब्रिटिश साम्राज्य भारत । ती दुई देशहरूको बीचमा अफगानिस्तान थियो ।
पृथ्वीनारायण शाहले भारतका अङ्ग्रेज शासकहरूको बारेमा बोलेका शब्दहरू जस्तै– “दषिनका समुन्द्रका बादशाहसित घाहा त राष्नु तर त्यो महाचतुर छ. हिन्दूस्थाना दबाइ राषेछ. सरजिमीमा परिरहेछ. हिन्दूस्थाना जाग्यो भन्या कठिन् पर्ला भनि किल्ला षोजन आउन्याछ …………… । जाइ कटक नगर्नु झिकी कटक गर्नु र चुरे घाटीमा षुपै काटिन्याछ …………. ।”
पृथ्वीनारायणका यी सोचहरू अति तथ्य र परिपक्व छन् । परराष्ट्रनीतिसम्बन्धी पृथ्वीनारायण शाहका भनाई अति सारगर्भित, परिपक्व र दूरदर्शी छन् । अहिलेसम्म सो निर्देशन पथप्रदर्शकरूपमा रहेको ठान्दछु ।
आर्थिक पक्षमा पनि पृथ्वीनारायण शाहका उपदेशहरू अति सारगर्भित छन् । उनका केही महत्वपूर्ण निर्देशनहरू यस्ता प्रकारका छन्–
“राजाका भंडार भन्याका रैतानहरू हुन् । प्रजा मोटा भया दरबार बलियो रहन्छ । आफ्ना देसका कपरा बन्न ज्यान्यालाई नमना देषाई सधाउनु र बन्न लगाउनु र यस्व भया नगत देस जादैन”
श्री ५ पृथ्वीनारायण शाह एक अति दूरदर्शी, परिवक्क, जनमुखी र प्रजावत्सल राजा थिए । उनी सैनिक अभियानमा मात्र लगनशील नभई आफ्नो भारदार, प्रजा र राष्ट्रको उ;ति र भलाईमा दत्तचित्त थिए भन्ने कुराहरू उनको उपदेश, अभिलेखहरू र चिठीपत्रहरूबाट प्रमाणित भएको छ । माथि उल्लिखित प्रमाणहरूबाट उनी कौटल्यको अर्थशास्त्रबाट धेरै प्रभावित रहेको आभास हुन्छ । एक कुशल र दूरदर्शी शासक भएकाले नै उनले आफ्नो पूर्वशासकहरू गोरखाका राजा राम शाह (सन् १६०९–१६३९), नेपाल मण्डलका राजा जयस्थिति मल्ल (सन् १३८०–१३९५) र कान्तिपुरका राजा महेन्द्र मल्ल (सन् १५६०–१५७४) ले आफ्ना जनता र राष्ट्रको सुधारको लागि बनाएका नियम र थितिहरूको अध्ययन गरी आफूले पनि आफ्नो जनताको लागि थिति बाँध्ने आकाङ्क्षा राखेको स्पष्ट हुन्छ । यदि ती सुधार गर्न पाएको भए आफूले सैनिक अभियानबाट निर्माण गरेको
राज्यलाई कानुनी, सांस्कृतिक, प्रशासनिक, आर्थिक आदि दृष्टिकोणबाट पनि संस्थापन कार्य सम्पन्न हुने थियो । दुर्भाग्यले यो हुन पाएन । भावी शासक र जनतालाई उपदेश दिए, भविष्यका लागि उपयुक्त बाटो देखाए, जसबाट उनी कस्ता शासक थिए भन्ने बुझ्न र अनुमान गर्न सजिलो हुन्छ । पूर्व राजाहरूले सालबसाल हरहिसाब लिनु अति उपयुक्त कुरा हो र यसबाट आर्थिक अनियमितता र शोषण रोकिन्छ । त्यसबेला टक शुद्ध सुन, चाँदीबाट बनाइन्थ्यो । तल्लो तहका टकहरूजस्तै दाम (४ दामको एक पैसा) र पैसाहरू मात्र तामाको बनाइन्थ्यो । शुद्ध धातुको सिक्का अवमूल्यन हुँदैन । उनले यही वास्तविकता मनन गरी “उप्रान्त टक्सार पनि चोखो चलाउनु” भनी उपदेश दिएका थिए ।
महेन्द्र मल्ल (सन् १५६०–१५७४) ले चाँदी मोहर चलाउँदा ११ मासाको शुद्ध चाँदीको टक चलाएका थिए । पछिका राजाहरूले आधा तोला (५ मासा) को मोहर चलाए । पछि काठमाडौँ उपत्यका विजय गर्ने शिलशिलामा श्री ५ पृथ्वीनारायण शाहले सन् १७५९ देखि आर्थिक नाकाबन्दी कडा रूपमा लागु गर्दा विशेष गरी कान्तिपुरराज्यका राजा जयप्रकाश मल्लले चाँदीको अभावमा मिसावट भएको कमसल मोहर चलाए, त्यसैले उनका मोहरहरू अति अवमूल्यन भए । पहिले सटहीको दर दुई मोहर बराबर भारतको एक रूपैयाँ थियो । पछि मिसावट सिक्का चल्दा अवमूल्यन भई ३६ मोहर बराबर एक रूपैयाँ भयो । यही अनुभवलाई आधार बनाई उनले सरकारी ‘टक्सार चोखो चलाउनु’ भनेका थिए ।
माथि उल्लिखित वाक्यहरूमा अहिले पनि कस्तो मौद्रिक तथा आर्थिक नीति लिएमा हाम्रो राष्ट्र विदेशमा निर्भर हुन नपर्ने हुन्छ, स्वदेशको उद्योगधन्दा बढ्दै जान्छ, सरकार बलियो हुन्छ भन्ने आदि महत्वपूर्ण तथ्यहरू प्रस्तुत भएका छन् । आमनागरिक धनी भयो भने सरकार पनि आर्थिक पक्षबाट दरो रहन्छ । सरकारको आयस्रोत भनेको नै आमजनताले तिर्ने कर हो । त्यसैकारण सरकारले त्यस्ता नीतिहरू लिनुको साथै व्यवस्था गर्नुपर्छ । जसले गर्दा आमनागरिक आर्थिकपक्षबाट सम्पन्न होस् । यस्तो नीति पृथ्वीनारायण शाहको समयमा मात्र उपयुक्त होइन कि वर्तमानकालसम्म अति उपयुक्त हो । सरकारको आर्थिक नीतिले राष्ट्र आर्थिक पक्षमा सम्प; हुनुपर्छ । राजा अर्थात् सरकारको भण्डार भनेको दुनियाँ अर्थात् आमनागरिक हो ।
“राजाका सार भन्याको सिपाहि र रैति हुन्. राजा चतुर भया सिपाहि र रैति हातहात गरि राष्नु र हुलकुल् हुन पाउदैन. ।”
माथि उल्लिखित बेहोराअनुसार राजा अर्थात् शासकले आमजनता र सेनालाई आत्मसात् गरी राख्यो भने निáिन्त भएर शासन गर्न पाइने कुरा पनि तथ्यपूर्ण वास्तविकता हो ।
“तब राजाले निञानिसाप हेर्नु. अन्याय मुलुकमा हुन नदिनु. निञानिसाप बिगान्र्या भन्याको घुस् दिन्या र घुस् षान्या ईन दुईको ता धनजिव गरिलियाको पनि पाप छैन. यी राज्यका महासतुर हुन्.”
राजा अर्थात् शासकको एक महत्वपूर्ण कार्य आफ्ना नागरिकमा कुनै किसिमको अन्याय हुन नदिनु हो । यो कार्य शासकको कर्तव्यमात्र होइन धर्म पनि हो । प्रशासनको यो पक्ष पृथ्वीनारायण शाहकालिक तथ्यमात्र होइन वर्तमान समयको पनि वास्तविकता हो । एक शासकले आमनागरिकलाई न्याय दिन सक्दैन भने त्यस्ता शासकको महत्व के हो ? पृथ्वीनारायण घुस लिने र दिनेबारेको उपदेश वर्तमानकालसम्मको महत्वपूर्ण सत्य हो । पृथ्वीनारायण शाहको दिव्योपदेशको बारेमा मात्र पनि शोधखोज कार्य गर्दै लेख्ने कार्य गरेमा एक मोटो किताब तयार हुन्छ । अब यस लेखको अन्तमा पृथ्वीनारायण शाह बारेमा यल्. यस्. बरालले आफ्नो विद्यावारिधि पदको लागि लेखिएका ग्रन्थ उल्लेख गरेका एक वाक्य प्रस्तुत गर्दछु–
"Prithivinarayan Shah was an able tactician and strategist, a shrewd judge of both opportunity and danger, a cunning and often quite unscrupulous diplomatic, a natural though occasionally reckless loader, but above all a man of great ability."
म आफैंले लेखेको शोध कार्य विद्यावारिधि पदको लागि हाल प्रकाशित पुस्तकमा लेखेको दुइ चार वाक्य प्रस्तुत गर्दछुः
"Prithivinarayan Shah was a practical and strong ruler. He is to be credited for having laid the foundation of a big kingdom i.e. Nepal. He will ever remain as the great ruler in the history of Nepal."
यस लेखमा “चार वर्ण छत्तीस जातको फूलबारी” नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह बारेका केही पत्रहरू एक इतिहासका विद्यार्थीको हैशियतले निष्पक्षरूपमा प्रस्तुत गरेँ । शाह राजपरिवारको राज्यहरूमा कनिष्ठ, छिमेकीहरूबाट अपहेलित, आर्थिक दृष्टिकोणले विप; र राजनैतिक पक्षबाट पनि कमजोर राज्य–गोरखाका राजा पृथ्वीनारायण शाहको पवित्र उद्देश्यले जीवनभरको अति सकृय भूमिकाले सानो गोरखाराज्यलाई विस्तार गर्दै बृहत् गोरखाराज्य अर्थात् आधुनिक एकीकृत नेपाल राष्ट्र निर्माणको थालनी भयो । यो तथ्य सारा नेपाली जनताका लागि अति महत्वपूर्ण सारगर्भित योगदान भएको सिद्ध भयो । साथै उनका महत्वपूर्ण उपदेशहरू पनि हामी सबै नेपालीहरूले आत्मसात् गरौँ । प्रत्येक वर्ष पौष २७ गते नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको संस्मरणमा ‘पृथ्वीजयन्ती’ मनाऔँ । ‘जय नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाह’
-हरिप्रसाद सोडारीले सम्पादन गर्नुभएको पुस्तक अनेकन दृष्टिमा राष्ट्रनिर्माताबाट साभार











