७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’
अ+ अ-

नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो । नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो ।

१६औँ शताब्दीको इतिहास बोकेको सो मन्दिर धार्मिक हिसाबले देशभर तथा छिमेकी मुलुकमा समेत प्रख्यात भएकाले धार्मिक तीर्थयात्रीका लागि महत्वपूर्ण गन्तव्य बनेको सापकोटाले बताउनुभयो । “कोभिड–१९ सङ्क्रमणको त्रासका कारण लामो समयसम्म मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोकेका थियौँ”, मन्दिरका अध्यक्ष सापकोटाले भन्नुभयो, “पुस १ गतेदेखि धार्मिकस्थल खुला गर्ने निर्णयसँगै हामीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मन्दिर खुला गरेका हौँ ।”

मन्दिर खुला भएसँगै नवलपरासी, चितवनलगायत देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक आउन शुरु भएको उहाँले बताउनुभयो । “शनिबार तथा बिदाको दिनमा दैनिक तीन हजारभन्दा बढी मानिस आउन थालेका छन्”, सापकोटाले भन्नुभयो, “अन्य दिनमा समेत एक हजारभन्दा बढी मानिस पूजाआजाका लागि आउने गर्नुभएको छ ।” लामो समय बन्द भएको धार्मिक गतिविधि पुनः सञ्चालन हुँदा सोहीअनुसार भक्तजन मन्दिरमा आउन थालेका उहाँले बताउनुभयो । मन्दिरमा पूजाआजासँगै ‘मर्निङवाक’का लागि समेत स्थानीयवासी आउने गरेको सापकोटाले बताउनुभयो ।

करिब दुई किलोमिटरको पैदलयात्रापछि मन्दिरमा पुग्न सकिने भन्दै सापकोटाले भन्नुभयो, “मन्दिरमा पुग्नका लागि एक हजार ८८२ खुट्किला चढ्नुपर्छ ।” मन्दिरमा खुट्किला निर्माण भएसँगै मन्दिरमा दर्शनका लागि आउने भक्तालुलाई सहजता थपिएको उहाँको भनाइ छ । मौला कालिका मन्दिरलाई पवित्र तीर्थस्थल देवघाटधामसँग जोड्नका लागि समेत पदमार्ग निर्माण गरिएको छ । करिब तीन हजार ४०० मिटर लम्बाइको पदमार्गले देवघाट र मौला कालिका मन्दिरका धार्मिक पर्यटकलाई जोड्नका लागि सहयोग गर्ने पदमार्ग निर्माण समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनुभयो । “देवघाट आएका धार्मिक पर्यटकलाई मौला कालिका मन्दिरसम्म पुर्याउन हामीले पदमार्ग निर्माण गरेका हौँ”, पौडेलले भन्नुभयो, “पदमार्गका कारण देवघाट र मौला कालिका मन्दिरको दूरीसमेत छोटिएको छ ।”

पदमार्ग निर्माण नहुँदै देवघाट आएका तीर्थयात्रीलाई मौला कालिका मन्दिर पुग्नका लागि नारायणगढ भएर जानुपर्ने बाध्यता रहेको भन्दै पौडेलले भन्नुभयो, “अब त्यो झन्झट गर्नुपर्दैन । उहाँहरु देवघाटबाट सिधै करिब साँढे तीन किलोमिटरको पैदलयात्रापछि मौला कालिका मन्दिर पुग्न सक्नुहुनेछ ।” पदमार्ग निर्माणपछि देवघाटबाट मौला कालिका जान चाहने धार्मिक पर्यटकको समयको समेत बचत भएको र यसले दुवै ठाउँमा पर्यटक बढाउन केही भए पनि मद्दत पुगेको उहाँको भनाइ छ ।

मौला कालिका मन्दिर पुगेर दर्शन गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ टाढा–टाढाबाट तीर्थयात्री आउने गरेका छन् । बाँकेको कोहलपुरबाट मौला कालिका मन्दिर दर्शनका लागि आउनुभएका कृष्ण न्यौपानेले मन्दिर पुगेपछि आफ्नो मन हलुका भएको बताउनुभयो । “मन्दिरका बारेमा मैले आफन्तबाट धेरै सुनेको थिएँ, आज आफैँले अनुभूति गर्न पाएँ”, न्यौपानेले भन्नुभयो, “मन्दिरको सुन्दरता, यहाँको प्राकृतिक वातावरण तथा माताको सानिध्यतामा पुग्दा सबै दुःख पीडा बिर्सिने रहेछ ।”

सर्वसाधारणका लागि पुस १ गतेदेखि मन्दिर खुला गरिएको भए पनि आवश्यक स्वास्थ्य सतर्कताबिना मन्दिर प्रवेशमा निषेध गरिएको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले मन्दिर प्रवेश गरेर दर्शन गर्नका लागि अनिवार्यरूपमा मास्क लगाउनुपर्ने तथा भौतिक दूरी कायम गर्नुपर्ने बताउनुभयो । “बिदा तथा महत्वपूर्ण चाडपर्वको दिनमा मन्दिरमा भीडभाड धेरै नै हुने गरेको छ”, पौडेलले भन्नुभयो, “यस्तो अवस्थामा स्वास्थ्य सावधानी पूर्णरूपमा पालना गराउन सुरक्षाकर्मी परिचालन गरेर मानिसलाई मन्दिर प्रवेश गर्ने व्यवस्था गरेका छौँ ।”

सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन नेपाल प्रहरीले मात्रै सुरक्षा दिँदै आएको मन्दिरमा सार्वजनिक बिदा र चाडपर्वको दिनमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत परिचालन गरिएको पौडेलले बताउनुभयो । मन्दिर र पदमार्गस्थलमा फोहर हुन नदिन विभिन्न सङ्घसंस्थाको सहकार्यमा नियमित सरसफाइ गरिँदै आएको पौडेलको भनाइ छ ।